कथा : फुस्सा !

~टि.एन. रिजाल ~T N Rijal

शनिबार छुट्टीको दिन । त्यस्तै बिहानको ९ बज्दै हुदो हो । निन्द्रा पुगीसक्दा पनि तन अल्छीको वशमा भएकाले मन बिस्तारा छाडन मान्दैन । त्यस्तैमा मोबाइल फोनमा घन्टी बज्यो । फोनको स्क्रीन हेरे,पुरानो मित्रको परेछ । रिसिभ गर्दै भने,“हेल्लो के छ हजुर?“ छलफल सुरु भो । “ठिक्कै छ नी, तपाई त कता हराउनु भो? तपाइलाई थाहा नै होला नेपालदेखि हाम्रा नेता आउनु भएको छ,आज दिउसो कार्यक्रम छ । भब्य बनाउनु पर्छ, बिस्तृत बिबरणसहित तपाईलाइ मेसेज गर्दछु, जसरी पनि आउनु नी“ सरर उत्साहपूर्ण रुपमा उनले आफ्नो बिषय राखीहाले । “ किन पाल्नु भएको रहेछ नेताज्यु?“ म पनि औसत खालको प्रश्न तेर्साए । “कार्यकर्ता भेटघाट, प्रशिक्षण, संगठन बिस्तार यिनै त हुन्छ“ उनी स्पष्ट देखिन्थे । आफ्नो मोटामोटी स्वभाव नेताज्यूहरुको ग्रह, उपग्रह हुने नभएपनि छुट्टीको दिन, केहि कुरा सुन्न र सिक्न पाउने लोभमा “हुन्छ“ भनि दिए । आफ्नो छुट्टीको दिनको उपयोग अनि मित्र पनि खुशी । धेरैजसो आफनै हातमा भएको चरा फुत्काउने म आज त एउटा ढुंगाले दुई वटा चरा मारेझै खुशी भए । एकैछिनमा कार्यक्रमको स्थान र समय सहितको मेसेज पनि आयो ।

नियमित आबश्यकताका कामहरु दात ब्रस गर्ने, शरीर हल्का सावर गर्ने, छोटो पातलो दाह्री सेभ गर्ने अनि केटलमा उमालेर एक कप चियाको आनन्द लिने काम फटाफट सकीहाले । गाडी ग्यारेज तिर भएकाले छिटै हानिन पर्ने थियो गन्तब्य तिर । बेरै नगरी घर छोडे, भनिएको ठाउमा समयमानै पुगे पनि । लण्डन शहरको एउटा नेपाली रेष्टुरेन्ट हो भन्ने मलाई पहिल्यै लागेको थियो । १०,१५ जनाको उपस्थिति, बीचमा नेताज्यु, कसैसंग चियाको कप, कसैसंग कफीको कप, शान्त बाताबरण । नेताज्यु चिन्ने मुस्किलको काम नै थिएन । त्यसैमा पनि मिडियाहरुबाट देखिरहेको अनुहार भएकोले मैले ठम्याईहाले अनि शिष्टाचार पुर्याउदै नमस्कार गरे । उनले परिचित झै मुस्सुक हासी नमस्कार फर्काए । ककझिलो स्वोर, चिल्लो अनुहार, देख्दैमा प्रभावशाली व्यक्तित्वबाट निस्केको “आरामै ?“ भन्ने प्रश्नले मात्र शुरुमा त म लल्याकलुलुक भए । एकै छिन सम्हालिएर “ठीकै“ छु भने ।

केही छिनको छलफलपछि औपचारिक कार्यक्रम शुरु भयो । नेताज्यु खादामा सज्जिए । नेताज्युसंग सेल्फी र सेल्फीको तस्बीर उहीबेला फेसबुकमा अपलोड कार्यकमको गतिबिधी सामान्य झै लाग्थ्यो । आफ्नो भाषणको समय काटी सबै समय नेताज्युलाई नै दिने साथीहरुको निर्णय मलाई मनासिब लाग्यो । छिटै नेताज्युको पालो आयो । उनले देशमा बिकसित विषम परिस्थितिबाट आफ्नो भाषण सुरु गरे । नया नेपाल निर्माणमा देखा परेका गल्छेडाहरुलाई मिहिन तरीकाले बर्णन गरे । अहिले सम्मको आफ्नो सचेत जीवन राजनीतिमा नै अर्पण गरिसकेकाले होला आफ्ना आकर्षक र जोशिला अभिव्यक्तिहरु स्पष्ट राखे उनले । गतिशील समयसंगै मार्क्सबादलाइ सृजनात्मक रुपमा लागु गर्न नसक्नु, गलत नेतृत्वलाइ लगाम लगाउन नसक्नु, नेताहरुको आफनै जीवनशैली सभ्रान्त परिवारको झै देखिनु, उनीहरुको कथनी र करणीमा ठुलो खाडल देखिदै जानु, हामी आफैले इतिहासका घटनाक्रमहरुबाट पाठ सिक्न नसक्नु इत्यादी कारणहरुले माक्र्सबादले अस्थायी धक्का खानु परेको हो भन्ने उनको ठहर थियो । माक्र्सबादी दर्शनमा भने कुनै खोट नभएको उनको अडान थियो ।

उनको तर्कसहितको चट्टानी अडान प्रशसनीय नै थियो । बिषयबस्तुको गहिराइमा पनि पुग्न सक्ने र उचाइमा पनि उक्लिन सक्ने उनको बिशेषता नै रहेछ । साथीहरु त् लाटा देखिन्थे । निक्कै थप कुराहरु सिक्न पाउने लोभले नेताज्यूलाइ डिनरका लागि बेलुका घरमा लग्ने मन मनै निर्णय गरे । कार्यक्रमको अन्तिम चरण चल्दाचल्दै नेताज्युलाई प्रस्ताब पनि राखी हाले । यूकेका माउते नेतालाइ हेरे झै गरी उनले प्रस्ताब पनि स्वीकार गरी हाले । केही सिक्न पाउने कुरा त् छदैछ, त्यस माथि पनि नेताज्युलाई डिनरका लागी घरमा लग्ने कुरा हाम्रो शान र प्रतिष्ठासंग जोडिएर हेर्ने हाम्रो गलत पुरातनबादी मानसिकता अझै कायमनै देखिन्छ । कार्यक्रम सकिएलगतै नेता ज्यूसंग अरु दुइ जना साथीहरु र म लण्डनको चाल्र्टनमा रहेको घरतिर हानियौ ।

गफिदै, ठट्टा गर्दै कतिखेर दुई तले बस अनि कति खेर भूमिगत ट्युब (रेल) चढ्दै सेन्ट्रल लन्डन तिरको दृश्याबलोकन गर्दै साझमा घर पुग्यौं । गफिदै अनि हिड्दै गरेकोले होला सेन्ट्रल लन्डन देखी चाल्र्टनसम्मको दुरी पनि आज निक्कै छोटो लाग्यो । खाना तयार गर्न पहिले नै भनि सकेकोले, श्रीमतीले खाना ठीकठाक नै पारीसकेकी थिईन । अबेर नै नगरी हामी डिनरतिर लाग्यौं । मनतातो पानीको लोहोटा, ह्विस्कीको बोतल र गिलास टेबलको बीचमा पहिल्यै नै थियो भने पछी छेउ छेउमा राखिएको सलाद र अचार देख्दा पुरानो टेबलको पनि दिन आएको स्पष्ट अनुमान गर्न सकिन्थ्यो । टेबलका हामी सबै तामसी परिएछ । शुरुमा एक एक पेग ह्विस्कीमा दुई दुई वटा आइसका टुक्राहरू राखी हल्लाउदै गरेका गिलासहरुको चुस्कीबाट नै सानो आतिथ्य शुरु भयो ।

’देश त बर्बाद भो, के गरेर सुध्रिएला कमरेड?’ एक जना मित्रले बातावरण सजिलो बनाइदिए । देशका तमाम समस्याहरु हल गर्न र मुलुकलाई सम्भावित ठुलो दुर्घटनाबाट बचाउन देश र बिदेशमा छरीएका राष्ट्रप्रेमी नेपालीहरु एक हुनुपर्ने उनको जिकिर थियो । उनी गफ गर्दै गए, हामी सपेराको धुनको सर्पझै हुदै गयक । म बीच बीचमा कतिपय कुराहरु बुझ्दैनथिए र पनि बुझेझै गरी टाउको हल्लाईदिन्थे । तर जे होस, उनले अलग कित्ताकाहरुलाई उछितो काटी रहेका कुरा बुझ्न गार्हो चाही थिएान है । क्रमश मात चढ्दै जादा रात और्लिदै थियो । हामी नियन्त्रित नै देखिन्थ्यौं । छलफलकै क्रममा हामीहरुले नेताज्युलाई एनआरएनको माग पनि स्मरण गरायौं । एक पटकको नेपाली सधैको नेपाली वा नेपाली नागरिकताको निरन्तरतामा हाम्रो गौरबशाली पार्टीले लबिङ्ग गर्नु पर्ने माग राख्यौं । यस मागले गहनिकरणको माग गरेको तथ्यलाई उजागर गरयौं । उनले “हुन्छ नी म सहयोग गर्छु “ भने । यस बिषयमा सदनको ध्यान आकर्षण गर्ने पनि बताए । हामी खुशी भयौं ।

उनको बिना हिच्किचाहटको सहयोगको बाचाले अर्को समस्या पस्किन हौसला मिल्यो । “रास्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था अहिले चरम संकटमा परेको र यसले गर्दा नेपालीहरुले खेप्नु परेको निराशा र दुखबाट आफु भाबुक हुने गरेको” मैले बताए । आशे अनुहारले उनलाई पुलुक्क हेरे पनि । भर्खरै केही ठुलो काम गर्न नसके पनि जनताले सिधै अनुभव गर्ने गरी नया सोचका साथ नया कार्यक्रमहरु तत्काल लागु गर्न देशभरी नै अभियान चलाउने योजना रहेको उनले बताए । उनी त्यसमा पुरै हेलिने पनि बताएका थिए । गााठे, यस्ता पो जनताका नेता । अब त् आफुले फुक्का महसूस गरे । अरु साथीहरुले पनि आआफ्ना नीजि समस्याहरुको भारी बिसाउनु भो । यसरी यो सानो भेटमा गिलास उचालेर देशको स्वास्थ्य, सुखशान्तिका लागी चियर्स पनि गरियो । साथीहरु सबैले आआफ्ना समस्याहरु राखी सकेकाले र नेताज्यूले पनि भन्न पर्ने कुरा भनि सक्नुभएकोले उक्त टेबलबाट अब भने उठ्ने निर्णय गरयौं । नेताज्यू बाट सहयोगको बाचा पाएकाले खुशीले अन्तस्करणमा कुत्कुताउनु स्वभाविक नै थियो ।

भोली पल्ट बिहानैदेखी श्रीमतीको भान्साको तयारी गर्दा आएको आवाजले निन्द्रा कच्पचिदै थियो । समय हेरे, आठ बजिसकेको रहेछ । सावर गरीवरी ब्रेकफास्टमा जुट्यौं । ’अभिभादन’ आदान प्रदान भयो । एकै छिनमा चिया पनि तयार भयो । सबैजना चुपचाप थियौं । चुपचाप अबस्थामा नै चियाको गिलास उठाएर सुरक्याउन थाल्यौं । अचानक नेताज्यूका हातहरु टाउकोमा गए । उनले राम्ररी टाउको समाए । अनि भन्न थाले “हिजो अलिक बढी भएछ, के के कुरा भो कुन्नि मलाई त केहि पनि सम्झना छैन“। मेरो मन त् भरङ्ग भयो । उनको मुख अझै गन्हाइरहेको थियो । हामी लज्जावतीका झार भयौं । हिजो बेलुकाका उत्तेजना र खुशीका पखेटाहरु कुजीए । निक्कै बेरसम्म चिया सुर्काएको आवाज बाहेक अरु केही आएन । न त ती नेताको अनुहारमा कुनै लज्जाबोधको संकेत नै देखियो ।

त्यसको केही हप्तापछि थाहा भयो त्यी नेता नेपाल फर्कीएर बेलायतको आफ्नो भ्रमण निकै फलदायी भएको भनी पार्टीलाइ रिपोर्ट दिन पनि भ्याइसकेका रहेछन ।

(स्रोत : Himalayamail)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.