~प्रभास बिप्लब~
साँझको समय छ । मन्दिरको भित्तामा एउटा हातले अडेस लागेको छु । भगवानहरु सधै निदाएको ठाउँ हो, मन्दिर । जहॉ मान्छेहरु निदाएको भगवानसँग भक्तिको हल्ला गर्छन् । मैले पनि आफूलाई हिन्दुत्वको भावले अडेस लागेको ठान्दछु । तिहारको मौसम छ । मान्छेहरुको अन्धोपन यो वर्ष अलि थपियो । झ्याललाइ पूरा पर्दाले ढाकेर घर झिलिमिली छन् । उनिहरु आफ्नो घर कहाँबाट हेर्छन थाहा छैन । कि बन्द कोठामा बैभवको घमण्डले धक्कु लगाइरहेका छन् बाँच्नु ऊपर ।
मलाई हासो आउछ मूर्खता उपर । उसको वा उनिहरुको मुर्खता उपर हैन आफ्नै सोच वा भनौं मानबीय चेतना उपर । साथीलाई दोस्रो पटक फोन गरे । यो समयमा भेट नहुने कुरा भयो । एकछिनको कुराइ, छेउमा मूर्तिमा लिन ईश्वर, मानवीयता माथि अन्धोपन भएको आस्था । सबै कुरा दिमागमा आएर अलमल्ल परे । म बिच बाटोमा टवाल्ल भएछु । आस्थाहरुले भन्छ – ईश्वरको वास झिलिमिली वा भनौं उज्यालो ठाउँमा हुन्छ । मानिसहरु त्यसै गरिरहेका छन् । ईश्वर के गर्छन् मलाई थाहा छैन । थाहा नहुनु पनि स्वाभाविक कुरा हो । यथार्थमा त ईश्वरको दैनिकीसँग नजिक हुन पाइएको छैन ।
गुरु (देवकोटा) तपाईले अन्तिममा किन श्री कृष्ण एक भन्नु भयो ? के तपाई जिन्दगीको प्रयोग गर्दागर्दै थाक्नु भयो ? कि मृत्यु हुने क्रममा भएको सास्तिले मृत्युलाइ श्री कृष्ण एक भन्नु भएको ? मृत्यु त मृत्यु नै हो यो तपाईलाई राम्ररी थाहा थियो । श्री कृष्ण एक त मैले आजसम्म भेटेको छैन । बाटोको छेउमा मार्बलले बनाइएको ईश्वरको घर छ । मान्छेले त्यहाँ दुध चढाएर गयो भनु कि पोखेर गयो भनौं । जे होस दूध धर्म बोकेर सडक तिर कुदिरहेको थियो ।
पानी होस् या दूध दक्षिणतिरै बग्छ । उत्तरमा एउटा पागल होइन होइन, श्री कृष्ण एक लडिरहेको छ । गुरु यो धर्म र नैतिकताको बिरोधाभास मानवीयता हैन र ? छेउमा बैंक छ । छेउमै माग्ने छ । छेउमै रकमका भण्डार छन् । यो सामाजिक चेतनामाथिको ब्यङ्ग्य होइन र ! कति बेअर्थपूर्ण छ, हाम्रो मुर्खता र ज्ञान । ‘बिग मार्केट’ को अगाडी एउटा मान्छे भोकै मर्छ यो नै त अमानवको असमाजको मानविय एब्स्ट्रयाक्ट् हो । मैले बग्दै गरेको धर्मको दूध नागेछु । सुरक्षा गार्डले निर्जिब घर र रकमलाइ संरक्षण गरिरहेको छ । छेउमा पागल भएर नाङ्गिएको हो की नांगिएर पागल भएको हो ।
जे होस् जाडोसँग जुहारी खेलेर होला हारेर लम्पसार छ । होटल दीपावली मनाउँदैछ इश्वरको निम्ति । मेरा आँखा मन, मष्तिक छक्क परेको छ इश्वरको कृतिम रमझम देखेर ।
(स्रोत : Himalayamail)