~गोविन्दप्रसाद आचार्य~
विचारलाई बमले खान्न किन जानेनौं
बम भन्दा विचारको तेज मानेनौं
बम हारेको इतिहास सम्झौताको पाऊमा
विचारविहिन बमको धम्की कवाडीको भाऊमा
(१)
हारेकाले पेट पाले बमको धाक लाएर
माफी मागी सक्याछन् सम्झौतामा झुकेर
मागी खाने भाँडो हो बमको धाक धम्की यो
त्यही पुरानो विरानो क्रान्ति नारा घन्कियो
(२)
नजाउ भन्दा मानेनौं बम पड्काउन जानेनौं
विचार विहिन बमले हार्यो क्रान्ति गरेनौं
लासको चुली टेकेर सम्झौतामा पुगियो
विचार विहिन बमको धम्कि पेट पालियो
(३)
धन सम्पत्ति खोसेर ठूला नेता बसेका
सर्वहारा सुकुम्बासी रूँदै बसेका
को तर्सियो संसारमा बमको वर्षा गरेर
विचारलाई बमले खान्न बुझ कायर
(४)
विचारले बम माग्नु पर्छ क्रान्ति गर्नलाई
आत्तिएर बम पड्काउने मान्छे मार्नलाइ
सस्ता कुरा तेल बने आन्दोलन सास्तिन्छ
विचार विहिन बम पड्काए क्रान्ति नासिन्छ
(५)
विचारका हात दरो सुरो मुटु चाहिन्छ
विचार विहिन पड्काए क्रान्ति टाढिन्छ
क्रान्ति नारा पेट पाल्ने साध्य साधन नबनाउ
कामना छ, कुहिएको माछा नगाउन
(६)
सत्य बोल डराएर दुलाभित्र नलुक
जनक्रान्ति हाँस्दै आउँछ कुकुर नभुक
आँखा सानो यो देशलाई सस्तो बमले खाँदैछ
टुुक्रा पारी विस्तारवादले देश लाँदैछ
(७)
यो चैतमा गुराँस फुल्यो नेपालको लेकमा
अर्को चैत गुराँस फुल्ने कस्को भेकमा
देश काटेको मन फाटेको हेर्न कसले सक्ला र
खेतबारीमा बम राखेर क्रान्ति आउला र
(८)
क्रान्ति तेलमा देश पोल्न युवा रगत बगेन
देश भाँड्न ऐश लाउन लड्दै लडेन
जतापनि बम नराख आफै टेकी मरौला
अर्कालाई खाल्टो खन्दा आफै परौला
(९)
उत्ताउलो बमले रगत खायो क्रान्तिका सपुत ढालेर
क्रान्तिका नायक मोटर चिल्ला जीवनशैली फेरेर
तरंगका कुतर्कले जनक्रान्ति आउँदैन
तिर्सनाको बम पड्काई मार्न पाइँदैन
(१०)
सामन्तको सत्ता ढुकने जनवादको हल्लाले
दलालको पाउ समाई सत्ता मलाई ले
जनवादको बम बोकी सत्ता सामन्तको
क्रान्ति नारा माग्ने झोला भत्ता दलालको
(११)
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २१ २०६६ – चैत्र २५ गते बुधबार)