~शिरिष लामिछाने~
झ्यालबाट यसो पर्दा उघारी हेर्दा
हिजोदेखीको हिउँ
पुरु-पुरु अझै परिरहेको देखेँ
ढपक्क हिउँले छोपिएको
आफ्नो कालो बाहनमै
मैले सेतो अन्नपूर्ण र माछापुच्छ्रे देखेँ।
एक साथीको निम्तो आयो
“क्रिसमसको भेटघाट छ, घर आइज है”
म गएँ र सहभागी भएँ
पारिवारिक जमघट
बालबच्चाको दौड्धूप
सब हर्ष र उल्लासबीच
एक्कासी,
दशैँमा डमरू बजाउँदै खेलेको सम्झेँ
क्रिसमस् क्यारोल एक लयमा गाउँदा
घण्ट र शंखनादमा गुन्जिएको
हजुरबाको चण्डी पाठलाई पो सम्झेँ!
घर फर्किँदा
भूत, वर्तमान र भविष्य
सबैलाई एउटै तराजुमा राखी नियाँले
र सोचेँ,
समयको अगाडि एक भुसुना जो हामी
एक चक्रमा घुमिरहेको
केही गर्ने आशमा, केही हुने आशमा
मनुवाको विवशतामा एक वङ्ग्य हाँसे
सायद समयको माग यही होला
बाहिरको हिउँमा माछपुच्छ्रे देख्नु
र, क्रिसमस क्यारोलमा चण्डी सुन्नु
एक हिसाबले उचितै होला
भन्दै आफूलाई सम्झाएँ
वा, यसपटक पनि आफूलाई
सफलताका साथ झुक्काएँ।
–
शिरिष लामिछाने
सन् २०१३, डिसेम्बर ८
आइतबार
अपरान्ह, ५:१४
(स्रोत : रचनाकारको ब्लगबाट सभार)