चिसो, अत्यन्तै चिसो । नरकीय पीडाको याद दिलाइदिने चिसो सडकमा स्टेला (Stella) अन्य दुई जनासँग हिड्दै छ । यस्तो सडकमाथि उनीहरू कसरी सँगसँग हिड्न सकेहोलान् । पीडाले थिलथिलिएका रोजा (Rosa) का दुई वक्षस्थलमाझ पछ्यौरीमा बेरिएकी म्याग्डा (Magda) ठण्डीले कुक्रुक्क परेकी छ । घरिघरि म्याग्डालाई स्टेलाले बोक्थी यद्यपि ऊ म्याग्डाप्रति निकै इष्र्यालु थिई । स्टेला छातिमै टाँसिएका अपुष्ट स्तन भएकी चौध वर्षो किशोरी हो । ऊ आफैं पनि म्याग्डाजस्तै पछ्यौरीमा गुट्मुटिएर त्यसभित्रको न्यानोमा निदाउन चाहन्थी । म्याग्डाका औंलाले रोजाका स्तनका मुन्टा खेलाउन पुगे तर रोजा भने यसको कुनै परवाह नगरी हावामा झुलिरहेको बच्चाको कोक्रोसरी हिँडिरहिन् । रोजाका स्तनमा दूध सुकिसकेको थियो । घरिघरि म्याग्डाले हावामात्र चुस्थी र घोक्रै चिरिने गरी रुन्थी । स्टेलालाई पनि भोकले खुब सताएको थियो । उसका घुँडा सिन्काजस्तै थिए अनि कुहिना चल्लाका हड्डीजस्तै मसिना ।
तर रोजाको भोक भने बिल्कुलै हराएको थियो र उनलाई अनौठो प्रकारको हलुङ्गो भैरहेको थियो । उनीसँगै सडकमा यत्रतत्र हिडिरहेको मानिसलाईभन्दा भिन्नैप्रकारको हलुको । रोजाको हलुकपनलाई मुर्छा परेर भुइँमा लडेको वा छारेरोगले अचेत बनाएको रोगीसँग तुलना गर्न सकिन्थ्यो । अझ भनौँ भुइँमा टेक्दै नटेकी चतुरतापूर्वक यताउता हेर्दै हवैहावामा मात्र यात्रा गरिहेका देवदूतजस्तै हलुका थिइन् रोजा । यस्तो लाग्थ्यो, उनी पैतालाका टुप्पाले मात्र टेकेर सल्बलाउँदै छिन् । उनले पछ्यौरीको प्वालबाट म्याग्डाको अनुहारमा नियालिन् । सुरक्षित गुँडभित्रकी एउटी लोखर्के । सुरक्षित ? अहँ होइन, पछ्यौरीको घेरोभित्रको त्यो सानो खोपीमा जोकोही पनि सजिलै पसेर त्यसभित्रको न्यानोलाई बिथोल्न सक्थ्यो । म्याग्डाको अनुहार गोलो थियो । खल्तिमा राख्नमिल्ने चिटिक्क परेको ऐना जस्तै तर रोजाको अनुहार भने साह्रै फुस्रो थियो । ऐनाको चिप्लो सतहसँग तुलना गर्न त पटक्कै नसुहाउने । त्यसो त म्याग्डाको अनुहार पनि त रङ्ग फेरिएर कालै देखिएको थियो, हैजाको रोगी जस्तै । आँखा वायुमण्डलजस्ता नीला थिए भने भुवादार कपालका रेशमी त्यान्द्राहरू रोजाको कोटमा टाँसिएका तारारूपी टाँकजस्तै पहेँला थिए । अब तपाइँ अनुमान लगाउनुस् त म्याग्डा कसकी छोरी होली !
रोजाले छोरीको बचाउका लागि म्याग्डालाई कुनै एक गाउँलेको हातमा सुम्पिएको कल्पना गरिन् । त्यसो त उनले अहिले हिँडिरहेको बाटोबाट विमुख भएर सडकपेटीका कुनै स्वास्नीमान्छेको हातमा म्याग्डालाई थमाइदिन पनि सक्थिन्, तर के गर्नु सिपाहीहरूले गोली ठोकिहाल्छन् । अपरिचित आइमाईले अचानक आफूतिर हुर्र्याएको पछ्यौरीको बण्डल भुँइमा थेचारिनुपहिले समाईहाल्ली भन्ने कुनै निश्चित पनि थिएन । बरु ऊ झस्किएर भाग्नेछे अनि त्यो बण्डल भुँइमा बज्रिनेछ र म्याग्डा टाउको फुटेर मर्नेछे । नरिवलजस्तो टाउकोको भयानक विजोग । सानी मायालु बच्ची जो यसबखत चिच्याउन छाडेर गिँजाले रोजका दूधरहित स्तनका मुन्टाहरूलाई च्यापेकी छ । कमजोर गिँजाहरूको बलियो पकड । उसको तल्लो बङ्गाराको गिँजाबाट भर्खरै पलाएको सेतो दाँत सानी परीको चिहानमाथि ठड्याएको सिङ्गमरमरको चिहाने पत्थरजस्तै चम्किरहेको थियो । अनिच्छापूर्वक म्याग्डाले रोजाका स्तानहरू पालैपालो छाडी । पहिले बायाँ त्यसपछि दायाँ । दुवै स्तनहरू रित्तिइसकेका थिए, दूधको एक थोपो पनि थिएन । सुकेका दुग्धग्रन्थी जसलाई मृत ज्वालामुखी, फुटेका आँखा, चिसो प्वाल र अरु के-के हो के-केसँग तुलना गर्न सकिन्थ्यो । म्याग्डाले अब पछ्यौरीको एउटा छेउ समाई र त्यसैलाई स्तन सम्झेर गिँजाको बलियो पकडद्वारा नियन्त्रणमा ल्याई । पछ्यौरीका रेसाहरू थुकले निथु्रक्क भइन्जेल उसले चुसिरही । त्यो पछ्यौरी उसको लागि अब एउटा स्वादयुक्त चीज बन्यो, मानौं सुती कपडाका रेसाबाट मीठो दूध रसाएको छ ।
त्यो एउटा जादुगरी पछ्यौरी थियो जसले बाँच्नका लागि संघर्ष गरिरहेकी एउटी बालिकालाई तीन दिन तीन रातसम्म मर्न दिएन । म्याग्डा यसवखत जिउँदै भए पनि ऊ मुर्दासरी चुपचाप थिई । तेजपात र बदामको जस्तै फरकखाले तिखो गन्ध म्याग्डाकोमुखबाट ह्वास्स बाहिर आउँथ्यो । घरि-घरि आँखाका परेलीहरू खुल्थे र बन्द भइरहन्थे जुन उसलाई पत्तै हुदैनथ्यो । रोजाले छोरीका नीला आँखामा नियालिन् । घरिघरि स्टेलाले पनि त्यसै गरी । उनीहरूका गरुङ्गा पाइला बरफजस्तै चिसो सडकमा पालैपालो उचालिन्थे र घरिघरि उनीहरूको ध्यान म्याग्डातिरै गइरहन्थ्यो । “आर्यन (Aryan) ।” फलामे तारको तिखो झङ्कारजस्तै स्वर निकालेर स्टेला एक्कासी चिच्याई । एउटा जवान नरभक्षीले जस्तै उसले म्याग्डातर्फकसरी घोरिएर हेर्दैछे भन्ने कुरा रोजाले चाल पाइहालिन् । स्टेलाले आर्यन भनेर चिच्याएको क्षण रोजालाई साँच्चिकै “हामी दुवै मिलेर अब म्याग्डालाई लुछ्न सुरु गरौं भने झैं लाग्यो ।
म्याग्डा हिड्को लागि काखबाट तल झरी । तर ऊ भुँइमै बसिरही किनकी एक त ऊ पन्ध्र महिनाकी मात्र थिई र अर्कोतर्फउसका सिकुटे खुट्टाहरू आफ्नै फुलेको भुँडीलाई उठाउन सक्ने गरी दरिला थिएनन् । म्याग्डाको भुँडी हावाले भरिएको हावाले भरिएको मोटो, पूर्ण र गोलो थियो । रोजाले आफूसँग भएको पूरै खानेकुरा म्याग्डालाई दिइन । स्टेला अतिलोलुप बन्दै थिई । एउटी हुर्केउली किशोरी तर हलक्कै बढ्ने खालकी भने होइन । उसको महिनावारी पनि भएको थिएन अनि रोजाको पनि । रोजालाई भोकले सताउन थालिसकेको थियो तैपनि हातका औंलालाई मुखसम्म पुर्याएर कसरी यसको स्वाद लिने भन्ने कुरा उनले छोरीबाटै सिकेकी थिइन् । तिनीहरू दयामायाबिहीन संसारमा थिए । रोजाभित्र भएको दयाको खानी नै रित्तिइसकेको थियो । उनले आफ्ना विस्मित नेत्रले स्टेलाका करङ्गतिर हेरिन् । स्टेलाले आफ्नी छोरीका मसिना तिघ्राहरूमा दाँत गाडेर मार्ने त होइन भन्ने शंकाले रोजालाई भयभित तुल्यायो ।
म्याग्डा मृत्युसँग जिकिँदै थिई यद्यपी ऊ पहिल्यै चैट् भइसक्ने थिई । यो कुरा रोजालाई राम्रै हेक्का थियो । रोजाले छोरीको प्राणरक्षाका लागि जादुगरी पछ्यौरीको भित्रैसम्म पुर्याइन् र लुगलुगी काँपिरहेका आफ्ना दुई वटा स्तनहरूमा म्याग्डालाई पछ्यौरीसँगै बेस्सरी च्यापिन् । फिस्टी म्याग्डा पछ्यौरीभित्र यसरी हर्राई मानौं उसकी आमाले उसलाई होइन पछ्यौरीमात्र च्यापिरहेकी छन् । पछ्यौरी खोस्ने हिम्मत गर्नसक्ने त त्यहाँ कोही पनि थिएन । म्याग्डा बोल्नै नसक्ने लाटी भइसकेकी थिइ अर्थात् उसको आवाज बन्द भइसकेको थियो । रोजाले उसलाई पछ्यौरीले बेरेर ब्यारेकभित्र लुकाईन् र पनि उनलाई थाहा थियो एक दिन कसै न कसैले चुक्ली लगाइदिनेछ, अझ हुन सक्छ स्टेला आफैंले म्याग्डालाई काँचै खानको लागि लुकाएको ठाउँबाट बाहिर तान्नेछे । म्याग्डा हिड्न थाल्दा रोजालाई छोरीको अवश्यम्भावी मृत्युको आभास भइहाल्थ्यो । यर्सथ उनले रातभर म्याग्डालाई आफ्ना दुई तिघ्राहरूको भारले थिचेर सुत्थिन् । कतै मस्त निन्द्रामा परिने होकी भनेरसमेत् उनी खुब डराउँथिन् । र्सतर्क पनि भइरहन्थिन् ताकि दुई घुँडाका बीचमा पिल्सिएर छोरी मर्ने सम्भावना पनि न्यून होस् । रोजाको तौल दिनानुदिन घट्दै थियो अर्थात उनी रस्टेला दुवै हावाजस्तै हलुको बन्दै थिए ।
म्याग्डा अझै चुपचाप थिई । उसका एकोहोरो टोलाइरहेका नेत्र बाघका जस्ता डरलाग्दा र नीला थिए । उसको हेर्राई एकसुरको थियो । घरिघरि ऊ एक्लै हास्थी – हो, हाँसेजस्तै लाग्थ्यो । हैन, कसरी हाँस्न सक्छे ऊ यस्तो बेलामा ? ऊसँग कोही पनि हाँसेका थिएनन् । मात्र धुवाँको कालो मुस्लो उडाएर त्यसको दुषित हावाको झोंक्काले पछ्यौरीका छेउलाई प्रहार गरेको देखेपछि म्याग्डा पछ्यौरीसँग त्यसै हाँसिदिन्थी । दुषित हावाले स्टेला र रोजाका आँखाबाट आँशु निकालिदियो । म्याग्डाका आँखा सफा र सुसुक्खा देखिन्थे र हेर्राई अझै बाघको जस्तै डरलाग्दो थियो । उसले पछ्यौरीको यति रखवरी गरी कि रोजाबाहेक यसलाई छुने हिम्मत कसैले गरेन । स्टेलालाई त अनुमति नै थिएन । पछ्यौरी म्याग्डाको आफ्नै प्यारी नानी थिइन्, आफ्नै मायालु चौपाया अर्थात् उसकी सानीकान्छी बहिनी । म्याग्डाले पछ्यौरीको एक छेउलाई हातले बटार्दै माथि उर्ठाई र चुस्न लागी । यस्तो बेला ऊ एकदमै चुपचाप र अटल हुन चाहन्थी ।
त्यसपछि अचानक स्टेलाले म्याग्डालाई बेरेको पछ्यौरी तानी र मर्न लागेकी त्यो बच्चीलाई चिसोमा कठ्याङ्ग्रिएरै मर्न बाध्य तुल्याइदिई ।
“मलाई पनि त जाडो भयो नि,” स्टेलाले प्रष्ट पार्दै भनी ।
अब स्टेला चिसो खप्नै नसक्ने भइसकेकी थिई । ऊ ठण्डीले लुगलुगी काँप्न थाली । चिसोले उसको मुटु नै छेड्ला जस्तो भयो । स्टेला कठोर बन्दै गएको रोजाले चाल पाइन् ।
पेन्सिलजस्तै लिखुरे खुट्टाहरूमा ढल्मलाउँदै म्याग्डा पछ्यौरीको खोजीमा यताउता हिँड्न लागी । ऊ लर्बराउँदै ब्यारेकको सामुन्ने पुगी जहाँ बत्तिको प्रकाश फैलिइरहेको थियो । रोजा तुरुन्त म्याग्डाको पछि पछि दगुर्न थालिन् । म्याग्डा अघि नै ब्यारेकबाहिरको चौबाटोमा पुगिसकेकी थिई । त्यो चोक प्रचण्ड उज्यालोले चकमन्न देखिएको थियो । यो कैदीहरूको हाजिरी गर्ने थलो थियो । हरेक बिहान नबिर्राई रोजाले म्याग्डालाई पछ्यौरीले बेरेर पर्खालको छेउमा लुकाएर स्टेला र अन्य सयौं कैदीहरूसँगै हाजिरीका लागि लाइनमा उभिन्थिन् । कहिलेकाहीँ त घण्टौँसम्म ठडिनुपथ्र्यो । यता अलपत्र छोडिएकी म्याग्डा भने पछ्यौरीमुनि पछ्यौरीकै एउटा फेरो मुखमा कोचेर सुत्थी । म्याग्डा यसरी चुचाप सुतेकै कारण उसलाई लिन काल छिट्टै आएन । रोजाले देखिन् आज म्याग्डा आफैं काल खोज्दै अगाडि बढ्दैछे । त्यहीबेला एउटा अपसकुनको सङ्केत दिने डरलाग्दो खुसी रोजाका दुई हत्केलामा सल्बलाए । रोजालाई ज्वरोले ािख्लोप पारेका थियो मानौं उनका औंलाहरू दन्किरहेको अग्निमाथि छन् । आफ्ना कमजोर र मसिना खुट्टामा डग्मगाउँदै घामको किरणभित्र म्याग्डा तिखो स्वरमा चिच्याउन थाली । रोजाका स्तनबाट दूध आउन छाड्दाको बेला म्याग्डाले सडकमा अन्तिमपटक जोडले चिच्याएदेखि नै उसको बोली बुझ्न नसकिने भएको थियो । अर्थात म्याग्डा लगभग लाटी भइसकेकी थिई । त्यतिबेला रोजाले अनुमान लगाएकी थिइन् कि म्याग्डाको स्वरयन्त्र अर्थात् फेक्सोको भित्तामा कुनै गडबडी भएको हुनसक्छ । म्याग्डाको स्वरमात्र सुकेको होइन, सम्भवत : उसले कानसमेत् सुन्न छाडेकी थिई । मुर्दा जस्तै चुपचाप म्याग्डाको चेतना विस्तारै घट्दै गइरहेको थियो र समाप्त हुनमात्र बाँकी थियो । यद्यपि आफू बेरिएको पछ्यौरीबाहिर धुवाँ मिसिएको हावा मडारिएर एउटा अनौठो आकारमा भुमरी परेको देख्दा बच्ची म्याग्डाको हाँसो फुत्किन्थ्यो । हावाको वेगले एकपटक उसको मुख उघारिदिएको थियो । टाउको र जीउमा जुम्राले उसलाई यति नमजासँग टोकिरहेका थिए कि ऊ ढाडेमुसो जत्तिकै जङ्गली हुन्थी र आत्तिँदै सडेको मासु र फोहोर खोज्दै ब्यारेकनिर पुग्थी । तर अहिले म्याग्डाको मुखबाट र्यालको लर्को चुहिरहेको थियो र उसलाई केही खान मन थिएन ।
“मा !”
यो नै म्याग्डाको घोक्रै फुट्ने गरेर निस्किएको पहिलो वक थियो, रोजाका स्तनबाट दूध आउन छोडेपछिको ।
त्यस ठाउँको डरलाग्दो सुर्यकिरणमा म्याग्डा कमजोरीले थरथरी काँप्तै थिई र ऊ आफ्ना टीठलाग्दा बाङ्गा पिडौंलाको भरमा यताउता हिँड्दैथिई । रोजाले यो सब देखिन् । पछ्यौरी गुमाउनुपरेको पीडामा बिलौना गर्दै म्याग्डा मृत्युको मुखमै पुग्न लागेका पनि उनलो चाल पाइन् । एक्कासी कसैले दिएको आदेशको लहरले रोजाका झाले स्तन झट्कारिए । ‘तान्, समात्, यहाँ ले !’ तर म्याग्डा अर्थात् पछ्यौरीमध्ये कुनचाहिँलाई पहिल जोगाउने भन्ने कुराको निर्णय रोजाले तुरुन्तै गर्न सकिनन् । यदि उनी पहिले म्याग्डालाई बचाउन बत्तिइन् भने जाडोले कप्कपाएको म्याग्डाको कर्कश स्वर पछ्यौरीको अभावका कारण जारी नै रहन्थ्यो । र, यदि उनी पछ्यौरी लिन स्टेलातिर दगुरिन् र पछ्यौरी फेला पारिहालिन् भने पनि यो कुनै खुशीको विषय नहुन पनि सक्थ्यो । उनले म्याग्डालाई पछ्यौरीमा बोकेर ल्याउन सफल भैहालिछन् भने पनि ऊ फेरि पछ्यौरी मुखभित्रै कोचेर मुर्दातुल्य भएर लडिदिन्थी ।
रोजा पछ्यौरी लिनका लागि अँध्यारो भागतिर बढिन् जहाँ स्टेलाले आफ्ना मसिना अस्थिपञ्जरयुक्त शरीरलाई त्यही पछ्यौरीले बेरेर निदाएकी थिई । स्टेलाको आङ्बाट पछ्यौरी थुत्नासाथ उनी छोरीलाई समाउन हाजिर गर्ने गरेको ठाउँतिरै बत्तिइन-हो, उनी बत्तिइन उनको शरीर हावाजस्तै हलुका भइसकेको थियो । सुर्यको प्रचण्ड तेजले अर्को जीवात्मा अर्थात् गृष्मकालका पुतलीहरूलाई समेत् अत्याएको थियो । दिनको पारिलो घाम लागेको त्यो ठाउँ एकदम सुनसान लाग्थ्यो । इस्पातले बनाइएको छेकबारको पल्लापट्टि दुबो र गाढा रङ्गका भायलेट फुलका थुङ्गाथुङ्गी देखिन्थे । अझउता टाइग लिलि चम्किरहेका थिए । ब्यारेकभित्र बर्षातमा फुल्ने फूलका कुरा चल्थे ।
तरल मिसिएको दिसाको लिँड तथा गन्हाउने खैरो र रातो तरल पदार्थ माथिल्लो तलाको सुत्ने पटरीबाट लुकेर बग्थ्यो । टर्रो गन्ध मिसिएको धुवाँमा चिल्लो तैरिएको देखिन्थ्यो । जसले रोजाका छालालाई कालै बनाएको थियो ।
छेकबारभित्रको उज्यालोतिर मानिस गुन्गुनाएको सुन्नसाथ रोजा हाजिर हुने गरेको रङ्गभूमिको छेउमा एकैछिन् अडिइन् । छेकबारभित्रको उज्यालोतिरबाटआएजस्तो लाग्ने यो गुनगुनलाई स्टेलाले भने एउटा कल्पनामात्र हो भन्ने जिद्धी गर्दै आएकी थिई अहिले रोजाले त्यहाँबाट साँचीकै मानिसहरू चिच्याएको सुनिन् । ती भोकाएका दुःखी आवाज थिए । त्यो छेकबारबाट रोजा जति पर जान्थिन् त्यति नै जोडसँग ती आवाज उनको कानसँग ठोकिन आइपुग्थे । बिलौना गरिरहेका मानवध्वनिहरू यति स्पष्ट गुञ्जिरहेका थिए कि तिनीहरूलाई कुनै प्रेतात्मा सम्झेर भ्रममा पर्नु त एकप्रकारको मूर्खतामात्र हुन्थ्यो । ती आवाजहरूले रोजालाई पछ्यौरी माथि-माथिसम्म उठाएर हावामा फहराइदिन अनुरोध गर्दै चिच्याइरहेका थिए । नभन्दै रोजाले पनि त्यहीँ उभिएर हावामा पछ्यौरी हल्लाइदिइन् ।
फलामका डण्डी जस्ता पाखुराले भुइँमा टेक्दै म्याग्डा निकै पल्तिर पुगेर झुलिरहेकी थिई जसको ट्यम्के भुँडी टनन हावाले भरिएको थियो । ऊ जमिनमाथि हावामा थिई अर्थात् उसलाई कसैले आफ्नो काँधमाथि बोकेको थियो । बोकिरहेको काँध रोजा र आजसम्म म्याग्डालाई बचाएर राखेको पछ्यौरीतिर नआई अन्तै मोडियो । म्याग्डाको झिनो आकृति मधुरो धुवाँले छेलिएको गहिर्राईभित्र पस्यो । फेरि केहीबेरमै काँधमाथि एउटा हेलमेट टल्किएको देखियो । हेलमेट लगाएको एउटा काले सिपाहीले एक कैदीलाई करेन्ट दौडाइएको नाङ्गा तारमा हुर्र्याइदियो । डरलाग्दोसँग चिच्याएकास्वर सुनिए । “…. आमा ! लौ न नि मरे,” सबै एकैसाथ चिच्याए । म्याग्डालाई त्यसबखत रोजादेखि निकै पर पुर्याइएको थियो, बिशाल रङ्गभूमि कटाएर एक दर्जन ब्यारेकको अर्कोपट्टि म्याग्डा केवल एउटा पुतलीजत्री मात्र देखिई ।
टाढा कतै म्याग्डालाई हावामा पौडिएझैं देखियो मानौं एउटी पुतली हावामा सयर गर्दै सिल्भर भाइन छुन खोजेकी छ । म्याग्डाको गोलो अनुहार। झ्यापुल्ले कपाल, पेन्सिल जस्ता खुट्टा, बेलुन आकारको पेट र झिक्राजस्ता बाङ्गाटिङ्गा पाुरा अचानक करेन्ट दौडाइएको नाङ्गो तारको छेकबारमा छतरिए । आफ्नो उडानबाट एक्कासी करेन्टमा अवतरण गरिएपछि म्याग्डाको तीखो पागल हुँकार हावामा फैलियो जसले रोजालाई घटनास्थलतिर दौडन तम्तयार पारिदियो । तर रोजाले छोरीको मायालाई आफूभित्रै दबाएर त्यहीँ उभिरहिन् । उनलाई थाहा थियो यदिउनी छोरीलाई बचाउन दगुरिन् भने उनलाई गोली ठोकिनेछ । करेन्ट लागेर मरिसकेकी छोरीको अस्थिपञ्जरलाई उठाउन खोजेमा समेत् गोली ठोकिन सक्थ्यो । त्यहीँ बसेर उनले म्याग्डाका फुटेका करङ्गसम्म सुनिनेगरी फ्याउरे चित्कार छाडेमा पनि गोलीको सिध्याइने निश्चित् थियो । यर्सथ रोजाले म्याग्डाको पछ्यौरी समाइन् र यसलाई मुखभित्रै कोचारिन् । पछ्यौरीले उनले फुत्किन लागेको फ्याउरोको जस्तो उच्चाटलाई भित्रैसम्म धकेलिन् । त्यसो गर्दा उनलाई पछ्यौरीको लप्कोमा छोरीको दालचिनी र बदाममिश्रति र्यालको स्वाद अनुभूत भयो । उनले आफूअन्तरको आहट नथामिउन्जेल अर्थात् म्याग्डाको पछ्यौरीबाट दालचिनी र बदामको स्वाद नआउन्जेल चुसिरहिन्, पिइरहिन् ।
(स्रोत : Nepalikalasahitya)