~महेश बराल~
च्याखुरे ज्यान,
जसरी च्याखुरिएको छ उसको कर्म ।
रुखो बोली,
जसरी रुखिएको छ उसको हातको पैसा ।
गाडीको एकोहोरो प्याँ प्याँ धुन,
कोलाहलको एकसुरे भुनभुन ।
कहाली नै लाग्दो मान्छेको समुद्रबिच,
थाकेको स्वरमा एकोहोरो, अविच्छिन्न अनि अविरल,
कराईरहेछ खलासी,
कोटेश्वर, वानेश्वर, शहिदगेट, रत्नपार्क ।
धुलोको झुसिलो डकार डकार्दै गर्छ घरिघरि,
धुवाँको पिरो थुक घुट्काउँछ ।
कचेराले चिम्रिएका आँखा, अनी आँखामा तैरिरहेका झिना सपनाहरु,
कचकच मिच्दै गर्छ मोसो पोतिएका औँलाहरुले
र पन्छाई रहन्छ ºल्यासब्याकहरुलाई ।
ख्वाक्क खोक्छ अनी स्याँक्क पुस्छ एक पित्को सिँगान,
बिरक्त लाग्दो पट्यारिलो यात्रामा पनि उस्तै फुर्ति साथ,
एकोहोरो कराईरहेछ खलासी,
कोटेश्वर, वानेश्वर, शहिदगेट, रत्नपार्क ।
महेश बराल
कोल्बु¨– ५, मार्से ईलाम
हाल : बालकोट, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )