~गणेश घिमिरे ‘मार्मिक’~
वर्षदिनको तीजमा माइती आएकी चेली
कहिले देखु कहिले भेटुको आतुरी
बल्ल आज पुरा भएको छ ।
आमा-छोरीको भलाकुसारी
आएँ आमा आएँ
फकाएर भएपनि आएँ
घुर्क्याएर भए पनि आएँ
माइती गाउँको आँगन
आमाको मायालु हातले बनाएको दर खाएर
आमासँगै तीजको ब्रत बस्न आएँ
साथीसंगीहरुसँग उन्मुक्त भएर रमाउन आएँ
के भन्नुभो आमा …?
मेरो सुखदुख सोध्नुभाको ?
ठिकै छ आमा ठिकै छ
ज्वाइँले माया गरेकै छन्
सासु-ससुराले हेरबिचार गरेकै छन्
असलै छन् आमा, नन्द-देवरहरु पनि असलै छन्
हजुर ….!
ए….., धन सम्पत्रि सोध्नुभाको ?
धनले त कसलाई पो पुगेको छ र ?
मन सुखी भए पुग्यो
खान लाउन पुगेकै छ
स-साना फर्माइस पनि पुगेकै छ
यस्तै त हो नि आमा
सुखै छ मलाई आजसम्म सुखै छ
हजुर …
नानीहरु पनि सप्रिएकै छन्
पढ्न पाएकै छन्
रमाउन पाएकै छन्
म त कत्ति भाग्मानी रैछु हो कि आमा ?
तपाइँहरुकै आशिर्वादले त हो नि
तीजमा आउन पाएकै छु
माइतमा रमाउन पाएकै छु
यस्तै त हो नि आमा
सुख संझे सुखै हुन्छ
दुःख संझे दुःखै हुन्छ
आमा !
मलाई त माइतीले माया नमारे पुग्छ ।
०००००
August 29th, 2009
(स्रोत : Mysansar.com)