~इलामेली टीकाराम दुलाल~
शार्दुलबिक्रिडित छन्द
के लेखौँ अब खै सुरम्य कविता को काब्य बुझ्दो छर ?
ब्यर्थै यो किन खै उठाउनु पिडा मान्दैन यो दिल तर !
एक्लै हुन्छु बिताउदा सफरमा यो जिन्दगीको पला
थर्काएर तितो मिठो र लयमा ब्यर्थै दुखाए गला ।१।
आखाँमा भरिदै छचल्किन पुगे मोती अनेकौँ बरा !
मेरो प्यार अचम्मको हुन गयो यो सागुरो भो धरा
मैले लाख गरेर कोशिस हरे हारेर निर्दो बनेँ
साच्चै दूर र दूर जानु छ भने लैजानु साथै भनेँ ।२।
के मान्थ्यो रिपु दैव, दैत्य बनि लौ खोसेर मेरो लियो
बाचुञ्जेल सधै म आँसु रहमा डुब्ने बनाई दियो
त्यो हेर्दै प्रतिबिम्ब बिम्ब सितनै भक्कानिदै हुन्छु म
देख्ला शत्रु रमाउला कि भनि लौँ एक्लै लुकी रुन्छु म ।३।
के ? बोकेर बिराजमान छु सधै मुस्कान बोक्रे दिदै
चोटै चोट लिदै म थिल्थिल हुदै बाच्दैछु के कल्पिदै
के हो मख्सद के छ लक्ष्य भनि खै अञ्जान आफै हुदै
पाल्दै हिड्छु म जिन्दगी किन यसै खै लुप्त भक्कानिदै ।४।
२०७२/१०/०१ रोज ६
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )