कथा : सुसाइड नोट

~महेन्द्र पौडेल~Mahendra Paudel-1

हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी !

सायद, यही नै थियो उनको सुसाइड नोट । पोर्चुगीस भाषाबाट गुगलको सहायताले उल्था गरेँ र भाव बुझिने गरी अर्थ लगाएँ । बूढाबूढीका यौवन र जिन्दगीका अविस्मरणीय क्षण उनीहरूकै मुखबाट सुन्न म लालायित हुन्छु । यदि, ध्यानपूर्वक सुनिदिने कोही भइदिए उनीहरू पनि मनलाई नबिसाइ सुनाइदिन्छन् र फर्किन्छन् आफ्ना जवानीका दिनहरूमा । सायद, कल्पनैपुरमा भए पनि एकक्षण महसुस गर्दा हुन् यौवनिक उमेरको ।

ती पोर्चुगीस बूढीआमैले म बस्ने घरको पल्लोपट्टि ढोकाबाट सधैँझैँ ढकढकाउँथिन् । र, सोध्थिन्, “तिम्रो उठ्ने बेला भएन ?”

म भने रातभरि काम गरेर होला, लखतरान सुतिरहन्थेँ, उनको बिहानको करिब ८ बजेको समय सधैँजस्तो हुन्थ्यो मलाई बोलाउने । यो क्रम करिब दुई वर्षसम्म चलिरह्यो, पोर्चुगल सेतुबाल जिल्लाको अल्मदा भन्ने ठाउँमा, जहाँ म काम गर्थें र बस्थेँ ।

उमेरले ८० कटेकी बूढी हो ऊ । नाम भेरा सामिपियो । तीन सन्तानकी आमा । एक छोरी र एक छोरा । दुई छोरी अमेरिकामा पढ्दै गर्दा उतै विवाह गरी बसेका । छोरो ड्रग्सको कारोबारका कारण जेलमा छ । ऊ छोराको नामै लिन चाहन्ने ।

छोरीहरू दुवै व्यस्त छन् अमेरिकामा । त्यसैले यो सानो अपार्टमेन्टमा उनको एउटा मात्र साथी छ बिरालो । जसलाई, मैले करिब दुई वर्षदेखि देख्दै आइरहेको छु ।

प्रत्येक बिहान म उनको साथी हुँ, कफीका लागि । उनलाई थाहा छ म कफीको पारखी । मेरो जिस्कने बानी नै उनको मन पर्ने बानी रे † यदि उनी बूढी नभएकी भए वा मेरै उमेरकी भए मसँगै विवाह गर्थिन् रे ! कुनै दिन ठट्टा गर्दा यस्तै भनेको याद छ ।

मलाई उनको अपार्टमेन्ट आफ्नै घरजस्तो लागिरहन्थ्यो किनभने उनले पुराना–पुराना चीज सजाएर राखेकी थिइन् मैलेजस्तै । मेरो गाउँको घरमा बुबाका किताब, फोटा र युनिभर्सिटीका प्रमाणपत्रहरू लगायत बुबाले सँगालेका रोचक तस्बिरहरू मैले सम्हालेझैँ । घरमा दुई–तीनओटा फोटाका एल्बम रहेछन् । आफ्ना पुराना फोटाका एल्बम भनेर मेरो छेउमा राखिदिइन् । मैले हेर्दै गएँ । बालापन, स्कुलका क्षण, पाना पल्टाउँदै गएँ । चुम्बन गरेको एउटा युवकलाई देखाएर भनी, “ऊ मेरो पहिलो ब्वाइफ्रेन्ड ।”

म एउटा फोटोमा त्यसै अडिएँ । उनी भन्दै गइन्, “लन्डनको किङ्स कलेजमा हामी सहपाठी । म त्यतिबेला १९ वर्षकी थिएँ होला, ऊ पनि त्यस्तै उमेरको । जब छुट्टी हुन्थ्यो, कहिले उसको रुममा त कहिले मेरो रुममा हामी समय बिताउँथ्यौँ । त्यो पलको सम्झना गर्‍यो भने म विचलित हुन्छु ।” उनी यसरी भावुक बनिन्, यादैयादले उनका आँखा रसाएजस्तो भयो । फेरि भनिन्, “हामी तीन वर्ष सँगै भयौँ । छुट्टीमा रहर पुग्दो गरी हाम्रो शारीरिक सम्बन्ध हुन्थ्यो । मुड चल्नेबित्तिकै सुरु हुन्थ्यो हाम्रो सम्बन्ध । ” अलिकति उनी लजाइन्, यो उमेरमा त्यो उमेरको सम्झना गरेर ।

सेतो लत्रेको सारीमा एउटा पुरुषलाई चुम्बन गरेको फोटो देखाइन् र भनिन्, “ऊ मेरो पहिलो हजबेन्ड । ऊसँग करिब चार साल सँगै भयौँ र डिभोर्स भयो । ऊ जर्मनीको हो ।”

त्यसपछि पार्टीका केही तस्बिर देखाइन् । र, अन्त्यमा त्यस्तै उमेरको अर्को पुरुष देखाई भनिन्, “यी योचाहिँ पोर्चुगीस हो । रेल्वे टेक्निसियन । लरेन्जरसको पार्कमा भेटेको । स्विमिङ पुलमा दुवै जनाको चुम्बनको तस्बिर देखाई थाहा छ ! ऊ राम्रो पौडीबाज पनि हो ।” बूढीआमा यसै जोसिइन् ।

पुल, पार्क, गाडी, रेस्टुराँ, बगैँचा, आइफल टावर यत्रतत्र छरिएका तस्बिरमा किसका सिन उनले देखाउँदै वर्णन गर्दै गइन्, मानौँ, अहिले उनी उमेरले ३० वा ४० कि हुँदी हुन् ! एल्बमको अन्तिममा श्रीमान्को फोटो रहेछ । उनले त्यो फोटो देखाउँदै गर्दा दुई थोपा आँसु तप्प चुहिए, फोटोमाथि । करिब चार वर्ष भयो रे बूढा बितेका ।

त्यसपछि यो एपार्टमेन्टमा उनी एक्लै हो । बूढाले एउटा कुकुर पालेका थिए रे ! उमेरले दुई वर्षको फरक भए पनि स्वास्थ्यको हेक्का राख्थे रे ! बिहान कुकुरलाई र आफू मर्निङ वाकबाट आएपछि बूढीले एकाएक ब्रेडमा बटर हालेर टेबलमा राखिदिन्थिन् रे ! बूढाले ‘स्विटी’ भनेर बोलाउँथे रे ! ‘आऊ सँगै खाऔँ’ भन्थे रे ! उनले टेबल देखाइन् र ‘अहिले यो टेबल देख्नेबित्तिकै उसकै याद आउँछ’ भनिन् ।

चाउरिएका गालामा खण्डखण्ड हुँदै आँसु चुहिए । अनुहारभरिका खाल्डाखुल्डी मानौँ खेतमा पानी लगाउने कुलोजस्तो छ, जुन आँसुले भरिएर मुखसम्म आइपुग्थ्यो । मैले नजिकै रहेको टेबलबाट टिस्यु पेपर उनको हातमा थमाएँ । काठको मूढो उचाले जसरी गह्रँुगो गरेर टिस्यु पेपर उठाएर आँसु पुछिन् । “छोरो भन्नु नै त्यस्तै भो, एउटी छोरीले कति भ्याउने ? उसका पनि छोराछोरी छन्, अफिसियल काम छ र सँगै उसको लोग्ने । फोन त गरिरहन्छे तर वर्षको एकपल्ट भेट्न आउँछे ।” छोरीको व्यथा सुनाइन् । उनलाई अमेरिका जान मन पर्दैन रे ! हुर्केको नै यही ठाउँ, बूढाको याद पनि यहीँ छ, त्यसैले । बर्बराइन् ।

अचेल नेपालमा छोराछोरी व्यस्त भए भने बाबुआमा घाँडो मान्छन् र कतिले वृद्धाश्रम लगेर छोडिदिन्छन् । मलाई नेपालको याद आयो । वृद्धाश्रममा त कमसेकम आफ्ना उमेरका सहपाठी भेट्छन् बूढाबूढीले र मन बहलाउँछन् । तर, युरोप र अमेरिकामा प्राय:जसो कोठामै एक्लै बस्ने हो, कुकुर वा बिरालोलाई काखमा च्यापेर ।

“बूढा बितेपछि कुकुरलाई बाहिर घुमाउन लानुपर्ने कारणले मैले कुकुर घरमा राख्न सकिनँ । एनिमल सर्भिसलाई कुकुर दिएँ र उसैले नै यो बिरालो ल्याइदियो,” उनले बिरालोलाई हल्का मुर्सादै बताइन् । “यो पनि यहाँ भएको दुई वर्ष भइसक्यो । यही नै मेरो साथी हो ।” बूढीले यसरी भनेकी थिइन् ।

उनी अति नै माया गर्छिन् बिरालोलाई । लाग्दो हो यो बिरालो उसको सम्पत्ति हो । प्रत्येक पल बिरालो काखमा बसेर भाग्यमानी सम्झँदो हो । मैले एकदिन सोधेँ, “किन यति धेरै यो बिरालोको माया ? मान्छेहरूको माया स्वार्थी हुन्छ रे ! यो उमेरसम्म आइपुग्दा धेरै मानिस देखेँ, भोगेँ, मान्छे र जनावरसँगको मायामा फरक छ । जनावरलाई आश्रय दियो भने कमसेकम टाउकोमा टेक्दैन ।” मलाई उनको भनाइ सार्थक लागिरह्यो, त्यसपछि बल्ल मैले पनि जनावर पाल्ने सोच बनाएँ ।

एकदिन एनिमल सर्भिसको गाडी आयो । एउटा टोकरीजस्तो पोकामा केही सामानहरू लिएर गएजस्तो लागेको थियो । मैले बूढी आमाको ढोका ढकढकाएँ, ढोका खुलेन । सधँै मेरो रुममा आएर कफीको अफर गर्ने बूढी अचानक दुई दिनदेखि गायब छिन् । किन होला ? मलाई कौतूहल जागेको थियो ।

यति लामो समयसम्म बस्दा पनि मलाई उनको मोबाइल नम्बर थाहा थिएन । यी बूढीआमा किन पो आवश्यक पर्लिन् र आखिर घरमा त भेट भइहाल्छ क्यारे, मैले त्यति महत्त्व सोचिनँ । तर, केही दिन नदेख्दा अचानक बूढीप्रति माया स्नेहजस्तो भयो मलाई । उनलाई देख्न नपाएको दुई दिन भएको हुँदो हो । मेरो मन खिन्न र भारी भयो । सायद ‘ट्ेरजेडी’ परेजस्तो, जसको सामना युवावस्थामा गरेको थिएँ मैले कुनै पलमा ।

मेरो घरको तलपट्टिको मासु बेच्ने टर्किससँग सोधेँ एक दिन । उसले भन्यो, “ल तिमीलाई थाहा छैन बूढीको बिरालो खै के कारणले हो मर्‍यो, त्यसै दिन बूढी विह्वल भएर चिच्याएकी थिइन्, त्यसको राती एम्बुलेन्स आएर बूढीलाई लगेको देखेको थिएँ मैले ।” म छाँगाबाट खसेजस्तै भएँ । मैले चिनेको एक जना प्रहरी अधिकृत थियो, प्राय:जसो म बस्ने घरबाट पाँच मिनेटको दूरीमा रहेको एउटा
बियर क्याफेमा बेलुकी–बेलुकी ऊ आउँथ्यो र फुटबल हेर्दै एक–दुई क्यान बियर पीएर जान्थ्यो ।

संयोगले त्यस दिन पनि उसलाई त्यही रेस्टुराँमा भेटेँ र मैले बूढीका बारेमा सोधेँ । उसले सबै वृत्तान्त बतायो । र, भोलिपल्ट उसले बूढीले सुसाइड नोटमा लेखेको कुरा बतायो मलाई । त्यस नोटलाई मैले गुगलको सहायताले उल्था गरेँ । तर, उनले लेखेका ती दुई लाइन भने कसलाई लेखिन् ? आफ्नो पहिलाको ब्याइफ्रेन्ड, श्रीमान् या बिरालो ? यो अनुत्तरित प्रश्नले भने मेरो दिमाग खाइरह्यो ?

प्रकाशित: मंसिर १७, २०७२

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.