कविता : मेरो देश रोएको बेला………

~तीर्थ संगम राई~Tirtha Sangam Rai

मेरो देश रोएको बेला………
छचल्किन्छन्…। पोखीन्छन्……।
तप्प- तप्प चुहिनै रहेको छ
अविरल आँशुका थोपाहरु…।
तिमी भने
मेरो जीवनको संघारमा
मेरो स्वागतको निम्ति हातमा
एक अाजुली मुस्कान सहित
प्रेम पत्र लिएर उभिरहेकी छौ ॥

तिमीलाई म के भनुँ
मायाँलु प्रेयसी अर्धागिनी
भो पर लैजाउ तिम्रा प्रस्तावहरु
किन भने यहाँ
ह्दयहरु छिया-छिया भएको बेला
आफ्नैले छातिमा छुरा घोपेको बेला ॥

सलल…। कल कल… छङ्गछङ्ग गर्दै
बगीरहेका छन् दिखुवा र साप्सुसँगै
जीवनका अनेकौं भङ्गालोहरु
तिमी भने
मेरो जीवनको किनारमा
माझी बनेर डुङ्गा सहित
नाउँ खियाउँदै वारीपारी गर्छौ
मलाई आऊ खोला तार्छु भन्र्छौ ।
तिमीलाई के भनि सम्बोधन गरुँ
सहयोगी सहयात्री या ह्दयवती
भो चाहिन्दैन तिम्रा सहानुभूतिहरु
किन भने यहाँ
जीवनहरु ध्वुजा-ध्वुजा भई फाटेको बेला
आफ्नै गन्तव्यहरु छताछुल्ल भएको बेला ॥

सुनसान॥चुक झैं अध्यारो रात
बैरीहरुले परेड खेलिरहेको छ ।
मेरो देश र धर्तिको छातिहरु
तिमी भने
मेरो झुपडिको बिछ्यौमा
बैंशको उन्मात जवानी लिएर
काम वासनाले मदहोस बनेर
सुस्त सुस्त आईरहेकी छौ ।
तिमीलाई म के उपमा दिउँ
कामिनी दामिनी या कामदेवी
भो पर लैजाउ तिम्रा अंग प्रत्यङ्गहरु
किन भने
यहाँ माटोले रगत मागिरहेको बेला
यो देशको सिमाना मिचिरहेको बेला
चित्कार…। बिलौना… रोदन
चारै तिर अशान्ति र हाहाकार
मेरो देशका गाउँ बस्ती र शहरहरु
तिमी भने
मेरो पुरुषार्थको कल्पनामा
गाउँका बस्ती र झुपडि तिर
शहरका गल्लि र चौक भरी
बिन्ति पत्र लिएर भौतारीएकी छौ
खै म तिमीलाई के भनि बोलाऊ
पागल घायल या प्रेम पुजारी
यो मलाई रत्ति भर स्वीकार छैन ।
किन भने
यहाँ आफ्नै जीवनहरु दुखेको बेला ।
मेरो देश र देशबासी रोएको बेला ॥

~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.