~रामगोपाल आशुतोष~
उज्यालोको आशा देखाएर
अँध्यारोतिर धकेलिदिएको
म असारपुत्र
छायाँको जीवन हुन्न भनेर भर्खर बुझ्दै छु ।
असफल प्रेमीले झैं बुझ्दै छु
छायाँ जीवनको अभिशप्त नियति
पिताले झैं बुझ्दै छु
भीमकाय जीवन, गरिबी र अभाव
शिशिरको ठिही- अभिशप्त तृष्णा
प्रेम र सपना- श्रापित चाहना
बुझ्दै छु भर्खर आफन्तको भीडमा
आफ्नोपन हराउनुको विडम्बना ।
असार रोपेर मंसिर फलाउने महत्त्वाकांक्षी
मित्रता छरेर बन्धुबान्धवत्व फुलाउने अभिलाषा
शून्यभित्र अथाहको सोच
बुझ्दै छु भर्खर अ/नैतिक भट्टीमा छ्याङ पिएर
दुर्घटना भोग्दै गरेको एक विषालु जिन्दगी ।
बुझ्दै छु भर्खर यहाँ केही रहन्न
बुझ्दै छु यहाँ कोही रहन्न
न मन, न मस्तिष्क
न विचार, न त विश्वास नै ।
न माया सदा रहन्छ, न घृणा नै
न रहन्छ दिन सदा, न रात नै
सकेन कसैले सिर्जना गर्न
न त गर्न सके अन्त्य त्यसको
भर्खर बुझ्दै छु यहाँ केही छैन
बुद्ध छैनन्, कृष्ण छैनन्
छैनन् त्रिदेव, अल्लाह, जिजस
वेद छैन, कुरान छैन
छैन बाइबल, त्रिपिटक, गीता वा पुराण ।
छैन माक्र्ससित भोकको सिद्धान्त
छैन माओको युद्धको भूगोल
छैन गान्धीमा अहिंसाको प्रेरणा ।
पृथ्वी, ब्रह्माण्ड रहन्न, केही रहन्न
धर्म, कर्म, प्रेम, विश्वास, मानवीयता
रूख, बिरुवा, हावा, पानी, घाम ।
बुझ्दै छु, भर्खर बुझ्दै छु
बाँकी रहन्छ केवल शून्य
शून्य, शून्य अथाह शून्यता !!
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )