लघुकथा : पूजा

~हरिप्रसाद भण्डारी~

ऊ गाउँमा जन्मे हुर्केको भए पनि सहरमा पसेपछि छिटै उन्नति गर्‍यो— धेरै धन कमायो र सहरमा ठूलो घर बनायो।

सबै कुराले सम्पन्न भएपछि बा–आमाको सम्झना भयो। सहरमै ल्याएर पाल्ने विचार गरेको थियो, तर बा–आमाले सहरमा भन्दा गाउँमै बस्न जाति माने। ‘पछि बलबर्कत घटेपछि आउँला, अहिले हात पाखुराले काम गरुन्जेल यतै बस्छौँ’ भनेर खबर पठाए।

बा–आमाको साक्षात् सेवा गर्न नपाएपछि पूजाकोठामा रहेका अन्य देवताका मूर्ति तथा तस्विरसँगै बा–आमाको तस्विर राखेर पूजा गर्न थाल्यो। उसको भक्तिभाव देखेर उसका आफन्त, छिमेकी र स्वास्नी छोराछोरीहरूले पनि उसको प्रशंसा गर्न थाले। ऊ कतै गएको बेला उसकी श्रीमतीले पनि उसले जस्तै भक्तिभावले पूजाआजा गर्थिन्। यो क्रम निरन्तर चलिरह्यो।

‘छोरा !, बुबालाई पनि सन्चो छैन। मेरो पनि ढाड दुख्‍न थालेको छ। अब यहाँ बसेर दुःख गर्न सकिएला जस्तो छैन। ओखतीमूलो पनि त्यतै राम्रो हुन्छ, त्यसैले त्यैँ सहरतिरै आउनुपर्छ कि जस्तो छ।’ एकदिन आमाले खबर पठाइन्। ऊ खुसी भयो। फोटाका भगवानको सट्टा साक्षात् भगवानको पूजा गर्न पाइने आशाले रमायो।

बा–आमा आएपछि घरै उज्यालो भयो। छोराछोरीहरू पनि रमाए।

‘बुबालाई चिल्लो खान पनि नहुने, नुन पनि कम हाल्नु पर्ने, कस्तो गाह्रो भइरहेको छ।’ हप्ता दिन नबित्दै श्रीमतीले गुनासो गरी।

‘ड्याड, हजुरका बा–आमा आएपछि ट्वाइलेट पनि कस्तो दुर्गन्धित भएको छ। राति खोकेर राम्ररी पढ्न पनि दिनुहुन्न।’ छोराले असन्तुष्टि व्यक्त गर्‍यो।

‘छोरीले यस्तो कपडा लगाउन हुन्न रे। हेर्नोस् न ड्याड। कस्तो पुरानो सोचाई !’ छोरीले दुःखेसो पोखी।

उनीहरूका कुरा सुनेपछि उसको मुटु चसक्क चस्कियो। तर केही बोलेन।

‘म भोलि उतैबाट माइत जान्छु। भाइले जरुरी काम छ भनेर बोलाएको छ।’ एकदिन श्रीमतीले भनिन्।

‘तिमी गएपछि भान्साको काम कसले गर्छ त।’ उसले चिन्ता व्यक्त गर्‍यो।

‘सधैँ त मैले गरिरहेकै छु नि, कहिलेकाहीँ तपाईहरूले गर्नुहुँदैन ?’ उनको आसय सासू तिर थियो।

‘आमाले ग्याँसचुल्हो जलाउन पनि जान्नुहुन्न। छोरीको परीक्षा आइरहेको छ। मेरो पनि कार्यालयमा कामको चापाचाप छ।’ उसले लामो सास फेर्‍यो।

‘के मैले मात्रै यस घरको ठेक्का लिएकी छु र !’ उसले जिन्दगीमा पहिलोचोटि यस्तो वाक्य बोली।

ऊ किंकर्तव्यविमुढ भयो। केही सोच्न सकेन।

केही दिनपछि—

‘बाबु ! हामी आएको पनि धेरै दिन भइसक्यो। अब बर्खा पनि लाग्न थाल्यो। खेतीपाती लगाउने बेला पनि भयो। गाउँ फर्कने विचार गर्र्यौँ हामीले त।’ आमाले भनिन्। बुबा सँगै थिए, भने– ‘हो बाबु, अब हामी जान्छौँ। औखतीमूलो पनि भइहाल्यो। बाँकी ओखती उतै गएर खान्छौँ।’

उसले सुन्यो मात्र केही बोलेन।

बुबा–आमा हिडेपछि घर सुनसान भयो। साँझ खाना खान पनि मन लागेन।

अर्को दिनदेखि बा–आमाको सट्टा उही पुरानो तस्विरको पूजा सुरु भयो।

bhandarihp@yahoo.com
August 7th, 2010

(स्रोत : Mysansar.com)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.