~दीपक ठकुरी~
प्रकाश अघिदेखि कक्षाकोठामा यताउति गरिहेको थियो । त्यतिबेला नै कक्षा शिक्षकको आगमन भयो । हतारिएर प्रकाश आफ्नो सिटमा गएर बस्यो अनि सुटुक्क आफ्नो झोलाभित्र खोतल्यो । के खोजेको थियो कुन्नि ? भेटेन क्यारे, उसले टाउको कनायो । अनि सुँक्कसुँक्क रुन थाल्यो ।
प्रकाश अचानक रोएको देखेर कक्षा शिक्षकले अचम्म मान्दै प्रकाशलाई मायालु स्वरमा सोध्नुभयो, “प्रकाश ! किन रोएको ? के भयो तिमीलाई ?”
उसले ओठ खोलेन । नजिकै गएर कक्षा शिक्षकले उसलाई फकाएर रुनुको कारण सोध्नुभयो, कक्षा शिक्षकको अनुमतिमा अरू साथीहरूले पनि । तैपनि, उसले मुख खोल्दै खोलेन । बरू रुवाइलाई अलि कम गरेर आफ्नो शिर झुकाइरह्यो वर्णमालाको ‘न’ वर्ण झैँ ।
दिनभरि ऊ रुनुको कारण कसैले पत्ता लगाउन सकेनन् ।
स्कुल छुट्टी भएपछि अनुहारमा कालो बादल बोकेर ऊ घर गयो ।
घरमा उसले बेलुकाको खाजा खाएन । आमाबुबासँग पनि खासै बोलेन । उसका आमाबुबालाई खासै अनौठो लागेन उसको यो व्यवहार किनकि ऊ अन्तर्मुखी स्वभावको बालक थियो, अरू बेला पनि खासै बोल्दैनथ्यो ।
त्यो दिन टाउको दुखेको भान पारेर गृहकार्य पनि नगरी ऊ बेलुका छिट्टै सुत्यो ।
भोलिपल्टेदेखि कक्षामा उसको अनुहार देखिएन । कक्षा चारका सबै विद्यार्थीको मनमा उत्सुकताको हुरी बतास चल्यो, अझ बढी त विनिताको मनमा । विनिता र प्रकाश खुब मिल्थे । दुबैको मामाघर एउटै गाउँमा थियो । प्रकाश कक्षाकै सबैभन्दा अनुशासित विद्यार्थी थियो । उसलाई सबैले मन पराउँथे । तर, बोलाउँदा पनि झट्ट नबोल्ने उसको बानी चाहिँ कमैलाई मन पथ्र्यो ।
तिन दिनपछि प्रकाश बेखुसी मन बोकेर विद्यालय गयो । साथीहरूबाट प्रश्नको हुण्डरी उसको अघि आइहाल्यो । तर, उसले विनितालाई मात्र उत्तर दियो, “केही भएको थिएन, त्यसै रोएको ।”
उसको उत्तर सुनेर विनिताको चित्त बुझेन । विनिताले खाजा खाने समयमा प्रकाशलाई एकान्तमा लगेर सोधी । उत्तर नदिई प्रकाशले विनिताको अनुहारमा एकटकले हेर्न थाल्यो । विनिताले उत्तर दिन आग्रह गरिरही । बल्लबल्ल प्रकाशले उत्तर दियो, “मैले तिमीलाई जन्मदिनको उपहार दिन खाजा नखाई राखेको पचास रुपैयाँ खोइ कहाँ खस्यो ? कति खोजेँ, भेटिनँ ! मैले तिमीलाई जन्मदिनको उपहार दिन्छु पनि भनेको थिएँ । तिमीलाई उपहार दिन नपाउने भएकाले मन दुख्यो, लाज पनि लाग्यो अनि रोएको ।”
“पैसा हरायो भनेको भए त तिम्रो पैसा हामी मिलेर खोज्थ्यौँ नि ।” विनिताले प्रकाशको कमजोरी देखाइदिई ।
“मलाई त्यतिखेर त्यस्तो आइडिया आउँदै आएन त !” प्रकाशले आफ्नो गल्ती स्विका¥यो ।
“म खुसी नै छु प्रकाश ! तिमीले मलाई उपहार नदिए पनि कमसेकम मसँग त बोल्यौ । जन्मदिनको उपहार मलाई अर्को साल देऊ न त, हुन्न ?”
“हुन्छ !” प्रकाशले मुन्टो दायाँबायाँ हल्लाएर विनिताको कुरामा सहमति जनायो । तैपनि उसको अनुहारमा खासै चमक चाहिँ थिएन । भोकाएको बेलामा दुध चुस्न नपाएको शिशुको जस्तो मुखाकृति थियो प्रकाशको त्यतिखेर ।
विनिता प्रकाशबाट छुट्टिएर कक्षाकोठामा गई । केहीबेर सोची । खल्ती छामी । अनि नियोनलाई बोलाएर नियोनको हातमा पचास रुपैयाँ राखिदिएर गुप्त योजना सुनाई । नियोन विनिताको योजनामा खुसीसाथ सामेल भयो । त्यस बेला प्रकाश कक्षाकोठाभित्र आइसकेको थियो ।
नियोनले खाजा खाइरहेको प्रकाशलाई पचास रुपैयाँ दिँदै भन्यो, “सरी प्रकाश ! तिम्रो पचास रुपैयाँ मैले भेट्टाएको थिएँ । मैले तिमीलाई यो पचास रुपैयाँ तिमी घर जाने बेलातिर दिन लागेको थिएँ, तिमी बोलेनौ । अनि भोलि दिनुपर्ला भनेर तिम्रो पैसा राखिरहेको थिएँ । तिमी त स्कुलै आएनौ । सरी ल !”
हराएको पैसा फिर्ता पाएकोमा प्रकाशले नियोनलाई धन्यवाद दियो, खुसीले मुस्कुरायो पनि । त्यसपछि आपूmतिर आउँदै गरेकी विनितालाई हे¥यो । विनिता नजिकै आएपछि पचास रुपैयाँ विनिताको हातमा राखिदिँदै प्रकाशले गीत गायो, “ह्याप्पी वर्थ डे टु यु विनिता !”
प्रकाशको वरपर बसेर खाजा खाइरहेका साथीहरूले त्यतिखेर नै ताली घन्काइदिए । त्यसपछि त बाहिर खेलिरहेका साथीहरूले कक्षाकोठाभित्र चिहाउन थालिहाले घाँटी तन्काई तन्काई ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )