~कृष्ण बिश्वकर्मा~
भन्नोस् न,
पण्डित बा !
हामी, किन चुम्बकका दुई ध्रुव झैँ भयौं ?
मथिङ्गलको ध्रुवीकरण कहिले सम्म हो ?
विकर्षणको विकर्षण कहिले सम्म हो ?
हजुरले,
बिर्ता पाए झैँ
गुरुकुलको,
सुविधा पाउनु भो
संस्कृतमा दिक्षित हुनु भो
म त ,
बिर्ता नपाएको मान्छे
गुरुकुल नदेखेको मान्छे
संस्कृतका श्लोकहरु
काला अक्षर भैंसी बराबर
तर, हजुरले-
कहिल्यै चिर्नु भएन छरपस्ट भ्रमहरु
मनुस्मृतिका, गौतमस्मृतिका
विष्णुस्मृतिका, हारीतस्मृतिका……
भन्नोस् न ,
पण्डित बा !
हजुरले ,
मेरो दरसन्तानले नसुन्ने गरि
गायत्री मन्त्र जप्नुको राज के हो ?
मैले थोरै सुनेँ, कतै,
ॐ भूर्भुव: स्व: तत्सवितुर्वरेण्यम्……
थोरै जाने, सिकेँ-सिकाएँ
कतै अनिष्ट हुने त होइन ?
कतै जिब्रो काटिने
कतै कानमा लाहा कोचिने त होइन ?
कि महर्षि शम्बुक झैँ
रामजीका आँखामा कसिङ्गर हुने हो ?
भन्नोस् न,
पण्डित बा !
म त ,
स्वर्गको लालसामा रमाउँने मान्छे
म त ,
नर्कको भयले डराउँने मान्छे
चन्द्रदेवलाई नमन गर्छु
सूर्यदेवलाई पानी चढाउँछु
तर
गोलभूगोलको
दूरदेशबाट
एलियन जस्ता म्लेच्छहरु आए
मेरै दरसन्तानलाई भड्काए
कहिले चन्द्रलोकमा ‘लाइका’ पठाउँछ्न्
कहिले हजुरकै आस्था माथि टेक्छ्न्
भन्नोस् न,
पण्डित बा !
यी म्लेच्छहरु
स्वर्ग जान्छ्न् कि नर्क जान्छ्न् ?
अति घृणा गर्नु त
धर्मोधर्म
अति मायाँ गर्नु पो रहेछ
त्यसैले त
पण्डित बा
चोखिने बहानामा
सुनपानी छर्नु हुँदो रहेछ
भन्नोस् न ,
पण्डित बा !
‘हिरन’ मा,
मेरो पसिनाको स्वाद कस्तो छ ?
‘हिरन’ मा,
मेरो पसिनाको
गन्ध आउँछ कि सुगन्ध ?
*********
– कृष्ण बिश्वकर्मा
भरतपुर , चितवन
हाल : यु ए ई , आबु धाबी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )