~इलामेली टीकाराम दुलाल~
छन्द : ईन्द्रबज्रा
आफै हटाऊ ननिका बिचार
आफै जगाऊ दिल भित्र प्यार
देखाइ बाटो अघि लाग लाग
धेरै सुतेछौँ अब जाग जाग ।१।
ज्ञानी बनेको छ नि कर्मलेनै
बाढेर बाचौँ प्रित मर्मलेनै
माया छ ठूलो रिस राग त्याग
धेरै सुतेछौँ अब जाग जाग ।२।
आध्यात्मवादी जन बन्नु पर्छ
योग् ध्यानलेनै रस प्रेम भर्छ
यो शक्ति लौ ईश्वरसंग माग
धेरै सुतेछौँ अब जाग जाग ।३।
पापी र धर्मी भनि चिन्न गारो
जो प्रेम बाड्ने सबको छ प्यारो
आत्मा सफा राख सिमा ननाग
धेरै सुतेछौँ अब जाग जाग ।४।
खादा नखादा मुख हुन्छ रातो
थाहा छ उस्को रगतै छ तातो
त्यस्तै नि मान्छे हुनु एक बाघ
धेरै सुतेछौँ अब जाग जाग ।५।
भो गल्ति के के बुझ के छ साँचो
साच्चै मिठो खैँ फल हुन्न काँचो
बैमानको त्यो धुन गन्दि दाग
धेरै सुतेछौँ अब जाग जाग ।६।
राखौँ सुनौलो शुभ लक्ष्य हाम्रो
गन्तब्य भेटे पछि हुन्छ राम्रो
उद्देश्य खातिर् सहि मार्ग लाग
धेरै सुतेछौँ अब जाग जाग ।७।
लागेछ तिर्खा तर छैन धारो
तातेर छिर्दा चिसिएछ पारो
पानी बनौँ, मानव हुन्न काग
धेरै सुतेछौँ अब जाग जाग ।८।
लाने छ खै के म मरेर जादा
पाको चितामा पनि जल्छ खादा
हो बन्न मान्छे ति घमण्ड त्याग
धेरै सुतेछौँ अब जाग जाग ।९।
निन्द्रा भनेको रिपु दैत्य जस्तो
कैले नपुग्ने भन रैछ कस्तो
आऊ ल मेटौँ निदका ति राग
धेरै सुतेछौँ अब जाग जाग ।१०।
२०७२।१०।२२ रोज ६
इलामेली टीकाराम दुलाल
नक्साल
छन्द : ईन्द्रबज्रा( त त ज गुरू गुरू )
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
It would be great help if you could provide option of search name of poem or poet wise.
मनोज ज्यू
अभिवादन,
तपाईंले यस साहित्य संग्रहालयमा सङ्ग्रहित सम्पूर्ण रचनाकारको सूचि यसै वेबसाईटको माथि “सङ्ग्रहित स्रष्टाहरु” अन्तर्गत भेट्टाउनुहुनेछ । तपाईंको सुझावको लागि क्रितज्ञ छौं र भविष्यमा पनि अरु सुझाव एवम् सल्लाहको आशा राख्दछौं ।
– आविष्कार
साहित्य संग्रहालय