~डा. रविन्द्र समीर~
बाबुआमा नै बच्चालाई लिएर डाक्टरको क्लिनिकमा आएका थिए । बच्चा आमाको काखमा बसेको थियो । डाक्टरले सोधे— ‘के भयो बच्चालाई ?’
बच्चाको आमाले भनी— ‘हिजो एकैपटकमा आधा किलो कालो अङ्गुर खायो । आज झाडापखाला लाग्यो ।’
डा. शर्माले जाँचेपछि औषधि लेखिदिए ।
‘डाक्टर साहेब ! खाना रुच्ने औषधि र भिटामिन पनि लेखिदिनुस् है । यसलाई हर्लिक्स, च्यवनप्रास, अनार, स्याउ, च्याउ खुवाउन हुन्छ कि हुँदैन ?’ उसका बाबुले सोध्यो ।
‘यसले के–के बार्नुपर्छ ?’ आमाले सोधी ।
डा. शर्माले भने— ‘अहिले माछामासु अनि धेरै चिल्लो नखुवाउनुहोला । झोलिलो एवम् पच्न सजिलो खाना दिए हुन्छ ।’
आमाले आश्चर्य मान्दै भनी— ‘यसले मासुबिना त भागै बस्दैन ।’
डा. शर्माले सोधे— ‘तपाईंहरु के काम गर्नुहुन्छ ?’
बाबुले भन्यो— ‘म घर बनाउने लेबर हुँ । यसलाई घरमै केटाकेटी हेर्दा फुर्सद छैन ।’
त्यसपछि अर्को बच्चाको जाँच्ने पालो आयो । डाक्टरले सोधे— ‘के भयो बाबुलाई ?’
‘दुई महिना भयो रुन थालेको, शरीर सुकेर मुरली भयो, पेट दमाहा जस्तो छ । मेडिकलबाट औषधि किनेर खुवाएको थिएँ, कामै गरेन ।’
डा. शर्माले जाँचेर औषधि लेखे । बाबुले भन्यो— ‘डाक्टर साहेब ! एकदुई वटा मात्र औषधि हाफ डोज लेखिदिनुहोस् है !’
आमाले सोधी— ‘यसलाई के खुवाउने, के नखुवाउने ?’
डा. शर्माले भने— ‘बाबुलाई कुपोषण भएको छ । सागसब्जी, फलफूल, माछामासु, दूध, अन्डा लगायत राम्रो खाना खुवाउनुहोला ।’
बाबुले भन्यो— ‘यस्तो महँगीमा फलफूल, माछामासु, दूध, अन्डा कसरी किन्न सकिन्छ र ?’
डा. शर्माले सोधे— ‘तपाईंहरु के काम गर्नुहुन्छ ?’
बाबुले भन्यो— ‘मेरो ठूलो व्यवसाय छ । उनी बैंकको म्यानेजर हुन् ।’
(स्रोत : रचनाकारको लघुकथा संग्रह “एकलब्य दृष्टि” बाट सभार )