~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~
आँसु बहेको छ मेरो तिमी पानी नसम्झ
मनको व्यथालाई भो तिमी कहानी नसम्झ ।
मैले पनि जुनजस्तै हाँस्न खोजेकै लिएं
रुवायो नियतिले यसलाई बानी नसम्झ ।
जति धोए पनि सम्झना धुनै सकिएन
भुल्नै नसकिने मायालाई जवानी नसम्झ ।
ढल्दै जाने दिनलाई हेर रोक्नै सकिएन
जुनको उज्यालोलाई तिमी विहानी नसम्झ ।
वसन्तको प्रतीक्षामा शिशिर सकिएन
उमेर ढल्दैमा भो मायालाई खरानी नसम्झ ।
काठमाडौ, नेपाल ।
(स्रोत : कविता कुसुम)