~बिष्णु सुवेदी ‘दोलखे’~
भित्ताको किलामा
झुण्डिरहेछ निरन्तर
आँखै सामुन्ने फोटोबिनाको फ्रेम !
गम खाइरहेछु कसको थियो फोटो कुनै बखत ?
र सोचिरहेछु कसले निकाल्यो त्यो फोटोलाई ?
सुनेको हुन्छु कुनै बखत
फोटोबिनाको फ्रेम राख्नु हुन्न घरमा !
तर राख्ने कसको ?
म दुबिधामा हुन्छु
आँखाभरि आउँछन् तँछाड मछाड
नायक÷नायिकाहरू
नेता÷अभिनेताहरू फ्रेमभित्र पस्न !
राष्ट्र नायकका फोटाहरू
घरी फ्रेममा राखेर हेर्छु
घरी फ्रेमबाट निकालेर हेर्छु
फ्रेममा सजिनै मान्दैनन्
लाग्छ सहिदहरूलाई
चित्त दुखेको छ बेस्सरी बाँचेकाहरूप्रति !
ए नामर्द ! फ्रेम गिज्याइरहन्छ रातभर
एउटा असल मान्छेको फोटो पनि
छैन है तेरो देशमा ?
र राख्न खोज्छु एक–एक गरेर !
अपसोच,
मेरा आस्थाका कुनै फोटाहरू
फ्रेममा टाँसिनै मान्दैनन्
निन्याउरो तल–तल हेरिरहन्छन् फोटाबाटै
पुजिनै मान्दैनन् !
बरु खोजिरहेछन् जिउँदा
नेता÷अभिनेताहरू
बिनाफोटोको फ्रेममा
आफ्नो उज्यालो तस्बीर राख्न !
झुण्डिरहेछ फोटाबिनाको फ्रेम
र झुण्डिरहेछ
त्यही फ्रेम जस्तै देशको नक्सा
तर मलाई कुनै नयाँ फोटो राख्ने छैन रहर
रहोस् बरु बिनाफोटोकै फ्रेम
राखौंला पछि कुनै दिन
नयाँ अनुहारको फोटो
कसो नजन्मिएला एकदिन
बुद्धजस्तै मान्छे
सुकरातजस्तै मान्छे
गान्धीजस्तै मान्छे !
समयको भरोसामा
म एउटा अनुहार खोजिरहेछु
र त्यो समय पर्खिरहेछु !
राम्पा, दोलखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)