~मनि राई ‘गोठाले’~
उ बेला म भर्खर गुम्बामा छिरेको थिए । त्यसको करीब दुई महिनापछि धार्मिक दंगा भयो । त्यो दंगामा प्राय: सबै धर्मका मान्छेहरु मानवहिंसाका शिकार भए । गुम्बामा आगो लगाईयो । म अन्नभण्डारमा लुकेर बसेको थिए । त्यै बेला ढोका खुल्यो र दुईजना युवक भित्र छिर्याे । उनीहरुद्वरा म समातीए । उनीहरुले मेरो कुमारीत्व लुट्नै लुट्यो । तर, मलाई थाहा थिएन कि ति दुई युवकहरु कुन धर्मावलम्बीका थिए । त्यसपछि त्यो बस्ती मानवहिंसाको दारुण नमुनाामा फेरीयो । म गुम्बा छोडेर कतै भागे । कहाँ जानु ? के गर्नु ? कसरी जीवन यापन गर्नु ? मलाई केही उपाय सुझेको थिएन । म निरुदेश्य , लक्ष्यहीन यताउता भौतारीरहेको थिए ।
आनी डिकीलाले आफ्नो विगत एकपटक मनमा खेलाई र पुलुक्क गुम्बाको प्रमुख लामालाई हेरी । अनि बिस्तारै नयन बन्द गरी र लामो सास् फेरी ।
प्रमुख लामाले भन्यो,- आनी ! तिम्रो पहिलो चरणको शिक्षा सकिएको छ . अब तिमी संसारीक ज्ञानको लागि केही दिनलाई संसार विचरणयोग्य भएकी छौं ।
भोलीपल्ट बिहानै आनी डिकीलाले गुम्बाबाट आफूलाई बाहिर निकाली । उनी चुपचाप एउटा घरको पटाँङ्गिनीमा उभीई रही । तर, मौन उभीर्इ रही । कसैले भित्रबाट केही लिएर आयो । उनले झोली थापी । र सरासर अर्कोतर्फ मोडिई ।
यसरी नै केही महिनाहरु बित्यो । त्यसबीचमा उनी बेलाबखत त्यस ठाँउमा देखापर्थी र फेरी हराउँथी ।
मौंनता भनेर मात्र हुदैन । मौंनतामा अझ हजारौ प्रश्नहरु , शंकाका उपजहरु र अनेकौं असमञ्यसताका चाँङहरु लागेको हुन्छ । यो बाहीर देखिनु , नदेखीनु , यसलाई बाहीर ल्याउँनु , नल्याउँनु बेग्लै कुरा हो । आखिरी आनी डिकीलाको मौंनताभित्र के छ त ? उनी चुपचाप घण्टौंघण्टा कसैको द्वारको अगाडी उभिनुको रहस्य के हो ? अभिप्राय के हो ? के यो वेहोशी हो ? पागलपन हो र ?
त्यो बजारको एउटा पुरानो चिया पसलमा बसेर एउटा लेखक कविले यो कुरा सोचिरहन्थ्यो, आनी डिकीलालाई हेर्दै सधै जसो । तर, उसले अझसम्म यस कुराको कारण र अर्थ भने सोधेको थिएन आनी डिकीलासंग । निक्कै वर्ष बितीसकेको थियो । एकदिन फेरी आनी डिकीला त्यै बजारमा देखापरी । तर आज उनको साथमा एउटा अधवैशे लोग्नेमान्छे पनि थियो । लेखक कवि दौडन्दै गयो र ठुल्ठुलो सास फेर्दै आनी डिकीलातीर फर्केर सोध्यो,- यो लोग्नेमान्छे को नी ?
मुसुक्क हाँसेर आनी डिकीलाले भनी,- भिक्षा हो ।
भिक्षा हो ?
आनी डिकीलाले फेरी नम्र र हँसिलो उही स्वभावमा भनी,- हो, भिक्षा हो । उहाँले भिक्षामा मलाई स्वयंलाई नै दिनु भयो । अब हामीलाइ बाटोलाग्ने अनुमति दिनुहोस् ।
लेखक कविले भन्यो,- यदि म गलत छुईन भने यो लोग्नेमान्छे त्यै लोग्नेमान्छे हो, जसले करीब बीसवर्ष अघाडि भएकाे धार्मिक दंगामा तिम्रो कुमारीत्व लुटेको थियो । हो, हो , पक्कै हो । बलत्कारी र पिडितको फोटो मैले नै निकालेको थिए नी समचारमा । तपाई यसो सम्झने प्रयास गनुहोस् त ।
आनी डिकीलामा उही पहिलेकै नम्र र हँसिलो स्वभाव कायम नै थियो र उनले त्यै पारामा लेखक कवि तर्फ फर्केर भनी,- महाशय ! साँझ ढल्नै लागेको छ । संसारीक विचरण अभियान सकिएको छैन । तर म यसको नजिक पुगिसककेको छु । अझ अब म संग त साथी पनि छ । महाशयबाट अनुमति छ भने के अब हामी बाटो लागौं ?
लेखक कविले हुन्छ भन्ने स्वीकारोक्ति संकेतमा बिस्तारै आफ्नो टाउको हल्लायो । त्यसपछि आनी डिकीला र त्यो अधवैशे लोग्नेमान्छे एकतीर लाग्यो । जब उनीहरुलाई अंन्धकारले आफ्नो कोखीलामा समावेश गर्याे त्यो बेलासम्म पनि मानव आर्तनादको मर्मान्त आवाज कतैबाट आएन । कहिकतै सुनिएन ।
मनि राई,गोठाले
०२ श्रावण २०७२
काठमाण्डौ
(स्रोत : Dainikpost)