~मनोज काफ्ले ‘मनसुन’~
मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला
न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला
नाम लिई बोलाउने मनको चाह मन नै रह्यो
कर्म रैछ सिसा जस्तो फुटेको त सुन्थ्यौ होला
खरानीमा देह मिल्यो भाँचीगए सपना पनि
जीवित भए मेरो ब्याथा तिम्रो मनले गुन्थ्यौ होला
न त मसाल छुन पाएँ न त पानी मुखमा हाल्न
दागबत्ती दिन पाइन पवित्र त हुन्थ्यौ होला
(प्यारो साथी मिनाजी को तर्फबाट श्रीमानजी को सम्झना मा समर्पित)
(स्रोत : कविता कुसुम)