कविता : तिमीहरुलाई मैले माफ गरिदिएँ

~जे.बी. शेर्पा ~J B Sherpa

संसार रमाइलो लाग्ने रहरै रहरको,
एक तमाशको चाहनामा,
घामको पहिलो किरण झै !
लामा लामा पाइलामा,
संसार चुम्ने प्रयास के गरेथे,
संसार भेट्ने प्रयास के गरेथें !
कर्कलाको टिल पिल टिल पिल पानीसँग के खेलेथे !
मोहनी सारा जगलाई के लगाएथें !
मलाई थाहा थिएन मैले दुनिया हँसाएँ कि दुनियाले मलाई हँसायो !
म मेरै सुन्दर संसारमा बेपरवाह थिएँ !
कहाँ पुग्ने आशा थिएन ? के नै छूने रहरहरू थिएन ..!
तर जसै, छकाल नहुँदै घामका सुनौला किरणहरू हराए झै,
एका एक मेरा उमंग र रहरहरू हराए मेटिए !
बादल माथि घर बनाई च्याङ्बासँगै मायाँ साट्ने सपनाहरूसँगै,
निलो आकाशको गहिराई नाप्ने अठोट सबै !
दिल्ली र बम्बई को रेड लाईटमा,
कतार र साउदी को महलहरूमा,
काहाली लाग्दो गरी जकडिएछ, दुनियाले रंगीन ठान्ने त्यों दुनियाँमा,
एक थरिले रमाइलो देख्ने त्यों संसारमा,
म रोइरहेछु, मेरो आत्मा रोइरहेछ मेरा रहरहरू उकुस मुकुस भै पल पल चिच्याइरहेछ !

उफ़…. ! यो संसारमा !
मर्नुभन्दा बाँच्नु गार्हो, यसरी बुझ्दै छू जीवन दर्शन !
यौटाको आँसू अर्कोको हाँसो, एकको दुःख, अर्कोको सुख यसरी बुझ्दै छू मानवता !
म आफ्नोलाई आफ्नो भन्न त्रसित छू, अरुलाई आफ्नो कल्पिन त्रसित छू !
ए मेरा आफन्त, दाज्यू भाइ ? मान्छेको पनि मोल हुन्छ र ? ..!
तिमीले मेरो मोल पचासै हजार राखेछौ !
मलाई थाछ मेरो आँसू को सागरले तिम्रो मानवता अलीकति पनि भिजाउदैन,
तिम्रो लागि त्यों त केवल मेरो कमजोरी र हार मात्र हुनेछ !
तर पनि कहिल्यै, कतै,
रक्सी र सेकुवाको स्वादमा,
तिमीले यो चेलिको गंध पनि अलिअली त पक्कै पायौ होला ?
गुम्बा र मन्दिरको ढ्याङ्ग्रो र शंखमा तिमीले,
त्यही चेलिको चीत्कार अलिअली त पक्कै सुन्यौ होला ?
यदि स्वीकार्छौ भने, म भन्छु !
तिमीलाई मैले पुरै माफ़ गरी दिएँ !
तिम्रो धर्मको प्राप्ति त्यही हो !
तिम्रो पाप को प्रायश्चित त्यही हो !
त्यतिनै हो !

जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.