~वैकुण्ठ ढकाल~
गोजीबाट एक सय रुपैंयाको नोट चालकको हातमा थमाउँदै भने– कार्ड छ है ?
खोई देखाउनुहोस, अझै पढ्न पुगेन ?
मैले पनि जवाफ दिएँ– मलाई त पुगेको थियो, तर यो कार्डलाई पुगेन ।
ए, भयो भयो, तपाँईको कार्डमा होलोग्राम रहेछ हामी हेर्दैनौं । ९० रुपैंया फिर्ता दिनेबीचमा चालकले भन्दै थिए अहिले साईबरमा ८० रुपैंया खर्च गरेपछि भटाभट कार्ड बनिहाल्छ । हामी त हैरान छौं ।
रत्नपार्कबाट नीलो माईक्रोबस चढेर डेरा फर्कंदै थिएँ साउन महिनाको एक दिन । माईक्रो चालक बडा आदर्शबादी । बसभरि ठूलो दर्शन बुझाए । एजुकेशन फियर हेरेर फर्कदैं गरेका बिद्यार्थीहरु चालकलाई साथ दिंदैथिए । अनि चालक हौसिदै थिए ।
सबैभन्दा ठूलो मान्छे भनेको चालक हो । हेर्नुस अहिले मैले तपाँईहरु १३ जनालाई सुरक्षित गन्तब्यमा पु¥याईरहेको छ । दैनिक सयौंलाई यसरी नै गन्तब्यमा पु¥याउँछु । २० बर्षदेखि म यही काम गरिरहेको छु । मेरै माईक्रोबस चढेर कतिले परीक्षा दिएका छन । पास भएका छन, ठूलो ठूलो पदमा जागिर खाएका छन । सबै ठाउँमा मेरै माईक्रो चढेका मानिसहरु भेट्छु ।
अस्पताल गयो, डाक्टर भेटिन्छन । सुपरमार्केटतिर पनि मेरै माईक्रो चढेका मान्छे भेटिन्छन । बैंक, उद्योग कलकारकाना जहाँ जहाँ जान्छु त्यही त्यही भेटिन्छन । तर खै कोही वास्ता गर्दैनन । मैरै माईक्रो चढेर डाक्टर, ईन्जिनियर, प्रोफेसर, ब्यबसायी, उद्योगी भएका कसैले पनि मेरो वास्ता गर्दैनन । अरु त केहि गरेनन, कम्तिमा भेट्दा नमस्कार त गर्नुपर्छ नि ! योगदानको कदर गर्ने संस्कार कहिल्यै विकास होला है खै ? मेरो माईक्रो चढेर बिग्रिएकाहरुलाई त मेरो केहि भन्नु छैन । डाक्टर, ईन्जिनियर, प्रोफेसर, शिक्षक, ब्यबसायी, उद्योगी भएकाहरुले त मलाई पुज्नु पर्छ नि ।
माईक्रोमा भएका बिद्यार्थीहरु हो मा हो मिलाई रहेका थिए । चालकको आत्मपुराण सुनेर कान पाकिसकेको थियो । झन प्रत्येका चोकमा जाम भईरँदा पुराण लम्बिरहेको थियो ।
यी हेर्नुस त यी ट्राफिकहरु जाम खुलाउन ध्यान छैन, घरकी श्रीमतीलाई, बाहिरकी प्रेमीकालाई सम्झिएर बसीरहेका छन । चालकले आफू अन्र्तयामी भएको दर्सायो ।
त्यही बीचमा एक युवा चिच्यायो, गाडी चलाउँदा मान्छे मारेको कुरा चाहिं छैन, आफ्नै गुनगानको पुराण कति सुनाको ।
चालक हल्का हाँसेर जवाफ दियो– तपाँईको कसम मैले गाडीले किचेर ५ जना मान्छे मार्ने भन्दा बाहेक एउटा कुखुरासम्म पनि किचेको छैन । २० बर्षको अबधिमा पाँच जना मान्छे मार्नु ठूलो कुरा हो र ? पाँच जना मान्छे मार्दा पनि जेल नपरेर निरन्तर गाडि चलाउन सक्ने मेरो क्षमताको कदर गर्नु पर्दैन । मान्छे मारेर पनि कानुनको नजरमा निर्दोस साबित हुन सक्नु चानचुने कुरा हो ?
ल तपाईँ पनि मलाई एक पटक नमस्कार गर्नु ।
(स्रोत : Nepalpati)