~शिरिष लामिछाने~
“अमेरिका किन आयौ त राम?”
एक प्रश्नको अनेक उत्तर
राम खोज्दै छ अहिले
कहिले भन्छ,”पढ्न आएँ यार”
त भन्छ कहिले,
“नेपालमै पनि त नपढेको होइन
सायद कमाउनै आएँ होला यार।”
अमेरिका छिरेको ३ वर्षपछि
राम घोरिँदै छ
जवाफका लागि
किन आइएछ त अमेरिका?
बहाना धेरै छन्
तर उत्तर धेरै कम
“कोरोना एक्स्ट्रा” को चुस्की लाउँदै
राम भन्छ,
“साथी, म त यही खान आएँ जस्तो छ
नेपालमा एउटै कार्ल्सबर्ग कति खानु ?”
लोड-शेडिङ देखि
नेपाल बन्दसम्म
साम्प्रदायिक दंगादेखी
दलिय हड्तालसम्म
उ सूची बनाउँदै छ
र,सङसंगै
भर्खर किनेको नयाँ गाडी
र पाएको क्रेडिट कार्डको खुशी
एकसाथ मनाउँदै पनि छ।
“नेपाल कहिले जान्छौ त राम?”
राम रिस पोख्दै भन्छ,
“साथी, अब त किन जाने??
दिन-दहाडै मान्छे मार्छन्
यहीँ टन्न कमाएँ,
अब मोज गर्ने नि यार”
तीनटा कोरोना पछि
रामका,
टलपलाएका आँखा
केही बोल्न खोज्छन्
मैले सोध्न नपाउँदै
राम भक्कानो फुटाउँदै भन्छ,
“साथी,मैले आत्मपहिचान गुमाएँ
कृपया मद्घत गर।
कृपया मद्घत गर।।”
(स्रोत : रचनाकारको ब्लगबाट सभार)