~विक्रम अधिकारी~
नवनिर्मित यो मन्दिरको ढोकमा दिनदिनै भीड बढ्दै गइरहेको थियो। २४ सै घण्टा श्रद्धालुहरुको उपस्थितिका कारण मन्दिरको मुख्य द्वार बन्द हुनै पाउँदैन थियो। पूजा-अर्चनापछि फर्किनेहरुको अनुहारमा यति सन्तुष्टि, योभन्दा अगाडि दुनियाको कुनै पनि मन्दिर, मस्जिद, चर्च, गुम्बाबाट निस्केकाहरुको अनुहारमा देखिएको थिएन। खास कुरा त के भने यो मन्दिरमा सबै धर्म र समुदायका मानिसहरुको आवतजावत थियो। सबै पेशाका मानिसहरुको आवत जावत थियो। के पत्रकार, के डक्टर, के समाजसेवी, के नेता सबका सब।
कसैलाई यो मन्दिरमा कसको मूर्ति छ भनेर सोध्यो भने सबैले एउटै उत्तर दिन्थे, ‘सर्वशक्तिमानको,’ र श्रद्धा–भक्तिपूर्वक आँखा चिम्लन्थे।
सरकार एक दिन आफै त्यो मन्दिरभित्र पसे। आखिर मभन्दा बढी शक्तिहाली यो को सर्वशक्तिमान अवतरित भएर एक धर्म साम्राज्यमाथि अतिक्रमण गरिरहेको छ ? भित्र पसे। दर्शन पाउने बित्तिकै उसको पनि गर्दन झुक्यो। उसले पनि भूँइमा टाउको टेकेर बडबडाउन थाल्यो, ‘हे सर्वशक्तिमान, म गरिबमाथि कृपा गर।’ वास्तवमा त्यहाँ स्वर्ण सिंहासनमा सुनको एउटा असर्फी राखिएको थियो। अनि त्यसमाथि विराजमान थिए, दार्ही भएका एक आकृति, जसको अनुहार छिमेकी देशको राजदूतसँग ठ्याक्कै मिल्थ्यो !
******************
(मूल रचनाकार विक्रम सोनीबाट , विक्रम अधिकारीद्वारा रिमिक्स गरिएको)
(स्रोत : Mysansar.com)