~शिरिष पराजुली~
मुटु धड्किएको बाहिर सम्म सुनिन थाल्यो
मन बेचैन छ, मस्तिष्क एकोहोरो हुँदै छ
म टोलाएको देखेर
मलाई मेरो छायाँले मेरो परीचय दिदैँन
एक्कासी म आफ्नो परिचय खोज्छु,
तर मेरो परीचय कतै छायाँमा धमिलो हुन्छ ।
मेरो आँखाँ पनि धमिलो छ तर मन धमिलो छैन
नपत्याए हेर मेरो आँखा उज्यालो छैन
उज्यालोमा सत्य देखिन्न सत्य भित्र कुनामा हुन्छ
कुनामा सत्य छ सत्य कसम
यो त्रिवी होइन प्रेसर कुकर हो ।
नपत्याए हेर्नुस मेरो नाडीको गती 160/80 पुगेको छ
मुटु पहिले ढुकढुक मात्र गर्थ्यो तर अहिले दोब्बर ढुकढुकी छ
त्रिवी प्रेसर बढाउँछ ज्ञान घटाउँछ
हो प्रेसर कुकरमा त्रिविको छाप छ
त्यही षड्कोणको छाप
घरमा फोटोकपीको खात छ
मैले प्रेसरको औषधी खाएको लगभग एक महिना भयो ।
त्रिविले साथी छुटायो
छाती पोली पिटायो
त्रिविको घण्टाघरमा जहिल्यै तीन बज्छ
तर मेरो बाह्र बजेको छ
मन र मुटुमा
मन कस्ले देख्छ र ?
अनुहारमा साढे बाह्र बजेको प्रष्टै देख्न सक्नुहुन्छ
घर छोडी मोटा मोटा रकम तिरीयो
अझै तिर्न बाँकी छ अझै छोड्न बाँकी छ
किर्तिपुर मुर्खको जङ्गल हो पढेका मुर्ख
पढेर बुझ्दा त्रिवि ठूलो हो
परेर बुझ्दा त्रिवि त्यो कालो धुलो हो
र अन्त्यमा परेर बुझ्ने नै ठूलो हो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)