~गणेश भट्टराई~
जस्ले तँलाई संसार देखाएकी थिइन
र तेरा लुला खुट्टाहरुलाई
हिंड्न सिकाएकी थिइन
तँ हिडिस पनि – शन्ती खोज्दै
जस्ले घनघोर जङलका बिच
बाटो पहिल्याउन सिकाएकी थिइन
तैँले पहिल्याइस पनि – शन्तीको बाटो
आज तिनै आमा
आठ महिने शिशु झैँ बामे सर्दैछिन
किनकी उनी हिंड्न सकेकी छैनन
भत्काइएका गल्लिहरुमा
र तेरो साहारा खोज्दै छिन्
तैँले अमृत चुसेको छातीबाट रगत चुसिँदै छ
तँ हुर्केको काख आज युद्धभुमी भएको छ
तर तँ उभिरहेको छस
निरिह, लाचार, अझ निर्लज्ज।
शायद प्रत्येक छाक पाक्दा
घर आइपुग्छस भनेर
अगेँनामा तेरो नाभी गाडेकी थिइन
तेरो मक्किएको घरको भात्किएको चुलो
तँलाई थाहा छ- त्यो चुलोमा
कति छाक पाकिसके भनेर?
भोक्-भोकै कुरी रहेकी छिन् उनी
छोरा आउँछ र खाउँला भन्ने आसमा
तँ गए देखीको प्रत्येक छाक
हो, तँ गए देखीको प्रत्येक छाक।
हुन त यहाँ आमाहरु हर-रोज जन्माउँछन तँलाई
तर तेरो दुर्बलता,
बचाउन सक्दैनस आँफैलाई ति सिसुहरु भित्र
अहँ होइन, समाजको मुर्खता
तेरो चिँ-चीँ सुन्न नसकी
सिसु भित्रको सिसु- तँलाई
डढाइदिन्छ तेरै घर भित्र
बटुवाले फालेको चुरोटको
ननिभाइएको ठुटाको साहाराले
तेसैले बटुवाहरु पल्किएका छन
तेरो घरको बाटो
चुरोटका ठुटाहरु फाल्न र रमिते बन्न।
तँ शायद जान्दो होस् आमाको पिडा
तँ देख्दो होस् घरको दुर्दशा
तर पनि बुद्ध, तँ उभिरहेको छस
एदी समयको क्रुर कोमलता
तेरो पत्थर दिल पगाल्न सफल भयो
र तँलाई
मन्द मुस्कान शहीत उभिन थकाई लाग्यो भने
पक्कै आइज
कोख रित्तिएका हजारौं आमा
अनी सिउंदो पुछिएकी लाखौं बहिनीहरुलाई
सान्त्वना दिन
तेरो घर तँलाई कुरेर बसिरहेको छ
र मलाई विश्वाश छ
यो घर भग्नाबसेस् हुनु पूर्व तँ आउनेछस
युद्धका पाखण्डहरुलाई सुली चढाउने छस्
अन्यायको घाँटि रेट्ने छस्
अनी बाल्नेछस यो घरमा शन्तीको दियालो
शायद अनन्तका लागि।।
मे 30, 2009
(स्रोत : रचनाकारको ब्लगबाट सभार)