~भरतराज गौतम~
ऊभन्दा अगाडि दुईवटा छोरीहरु जन्मिसकेका थिए । तैपनि उसको आमालाई अझै छोराको चाहना रहेछ । मैले उसको आमालाई छोराको लागि जिद्धी नगर त भनेकै हो तर धेरै जिद्धी नगर भन्न सकिन । ऊ नजन्मुन्जेलसम्म पनि हामीलाई थाहा थिएन कि ऊ छोरा थियो कि छोरी । तर उसैलाई अप्ठेरो होला भनेर उसकै मायाको खातिर मैले त्यस्तो कुनै टेस्ट पनि गराइन् । आमाको पेटमा भएको बेलामा पनि उसले आफ्नी आमालाई आफ्ना दिदीहरुले भन्दा अली बढी नै दुःख दियो । मैले हाम्रै चाहना बमोजिम धर्तीमा आउन तयार भएको त्यस नवआगन्तुकलाई आफ्नी आमालाई धेरै दुःख नदेऊ पनि भन्न सकिन ।
ऊ जन्म्यो । म खुसी भएँ । मभन्दा धेरै बढी खुसी भै र मक्ख पनि परि उसकी आमा । किनकि उसको चाहनाबमोजिम छोरो नै जन्मेको थियो । मैले उसकी आमालाई धेरै मक्ख नपर भन्न सकिन । जन्मने बित्तिकै ऊ निकै हल्लाखल्ला गरेर जोडतोडले रोयो । उसलाई अधिकतम स्वतन्त्रता र सुख दिन म प्रतिवद्ध थिएँ । त्यसैले मैले उसलाई विस्तारै रोउ पनि भन्न सकिन । मैले उसलाई काखमा लिएर सुम्सुम्याएँ । ऊ हुर्कंदै गयो । ठूलो हुँदै गयो । यस क्रममा कहिले ऊ रुन्थ्यो, कहिले उसले सतायो भनेर दिदीहरु रुन्थे । धेरैजसो अवस्थामा चाहीँ ऊ आफ्ना नाजायज मागहरुको लागि समेत रुन्थ्यो भने उसका दिदीहरु चाहीँ आफ्ना जायज कुराहरुमा पनि मसँग गुनासो गर्न सक्दैनथे । तर उसले जतिसुकै सताए पनि उसका दिदीहरुले उसलाई सधैं मनैदेखि माया गर्थे ।
आफ्नी आमाको छोरातर्फको ज्यादा झुकाव र मनोभावना बुझेर नै त होला उसको मामिलामा उसका दिदीहरु निकै सचेत थिए । यसरी बढ्दो उमेरसँगै उसका रहर र आवश्यकताहरु पनि ठूलाठूला हुँदै गए । मैले पनि प्रायः उसलाई तेरो माग तेरो उमेर र मेरो औकातभन्दा ठूलो छ भन्न सकिन । ऊ एकदिन एसएलसी पास भयो र मलाई आफ्नो मार्कसिट देखायो । म यति खुसी थिएँ कि मलाई डिस्टींक्सन डिभिजन उल्लेख गरिएका मार्कसीटका ती सुन्दर अक्षरहरु सुनैसुनले कुँदिएका जस्तो लाग्यो । तर एसएलसीपछि ऊ काठमाडौं बसेर पढ्छु भन्न थाल्यो । यहाँ पोखराका कलेजहरुमा पनि खासै कुनै असुविधा त थिएन तर मैले अहिलेको पटक पनि उसलाई हुँदैन भन्न सकिन ।
काठमाडौं जाने दिनमा उसकी आमा छोरासँगको विछोड सम्झेर आँसुका ढीका खसालेर रोई तर मनमा नमजा लागे पनि त्यसरी आँसु नै खसाल्न चाँही मैले आवश्यक ठानिन । ऊ प्लस टु पास भयो । यतिबेलासम्म उसलाई काठमाडौंको हावाले पनि अलिअलि छोइसकेको जस्तो लाग्थ्यो । तर अहिलेको जमानाको छोरो, असल खराब आफंै छुट्याउन सकिहाल्छ नि भनेर उसको खर्च र अन्य चाहनाको नियन्त्रणमा मैले पनि धेरै दबाब दिन सकिनँ । अब त ऊ ब्याचलर पढ्न अमेरिका जान्छु भन्न थाल्यो । उसका दिदीहरु दुबैले यहीँ पढेर पनि राम्रै प्रगति गरेका थिए र राम्रो जागिर पनि खाएका थिए । अब त दुवैजना घरबारे पनि भैसकेका थिए । त्यस अवस्थामा पनि मैले उसलाई तँं भएको यौटा छोरो पनि किन हामीलाई छोडेर विदेश भासिन्छस् भन्न सकिनँ ।
ऊ अमेरिका गयो । त्यसपछि भने ऊ बेखवर जस्तै छ । उता ऊ बेखबर जस्तै छ यता उसकी आमा छोराको सम्झनामा जिउँदो लाशजस्तै छ । पहिला पहिला मन लागे कहिलेकाँही फोन गरिदिन्थ्यो तर अहिले त त्यो पनि बन्द भएको छ । हामीले फोन ग¥र्यौं भने पनि झिंझो मान्छ । अब त उसलाई झिंझो लाग्ला भनेर नै हामी पनि त्यति फोन गर्दैनौं । उसैलाई पढाउँदा र अमेरिका पठाउँछु भन्दा लागेको ऋण अझै तिरिसकेको छैन । पुख्र्यौली सम्पत्ति पनि खासै केही थिएन । अनि धेरै सन्तानको पालनपोषण गर्दा त्यस्तो कमाउन पनि त सकिएन । घरमा कहिलेकाँही अप्ठेरो पर्दा बिहे भएर गइसकेका छोरीहरु आएर सघाउँथे । छोराको व्यवहार सम्झेर आँसु बगाइरहेकी आफ्नी आमाका आँसु पुछिदिन्थे ।
आफूहरु हुँदाहुँदै छोराको चाहना राख्ने आफ्नी आमाप्रति कुनै वैरभाव राख्दैनथे । बरु भाइलाई सम्झेर आमासँगै रुन्थे । सानै छँदा शिवजीको छोरा कस्तो मेहनती छ, कस्तो सुवासिलो छ अनि कति सोमत मिलाएर कुरा गर्छ भनेर भन्थे सबै । हामीले सम्हाल्न खोज्दाखोज्दै कति चाँडै ऊ बेसोमतिलो भैसकेको रहेछ । फेरि पनि मेरो ऊसँग कुनै गुनासो छैन । नाथे मेरो छोरो न हो, मैले मनकामना भाकेर जन्माएको । मैले नभाकेको भए सायद ऊ जन्मने थिएन । ऊ नजन्मेको भए मैले ऊसँगको वियोगमा यसरी तड्पिनुपर्ने थिएन । उसले मेरो मन कुँडाउने थिएन । दोष मेरै हो ।
हुन त नेपाल पनि अब कहाँ नेपाल जस्तो छ र ? यहाँको पनि शहरमात्रै होइन, अब त गाउँ समेत अमेरिका जस्तै भइसक्यो । विकासमा होइन, व्यक्तिवादीतामा । नत्र मैले उसको लागि के गरिन र ? दोष अमेरिकाको पनि हैन । अरुका छोराछोरी पनि त अमेरिका गएका छन् तर तिनीहरु मेरा छोरा जस्ता गैरजिम्मेवार कहाँ छन् र ? सानैदेखि ऊ हाम्रा सुख र दुःखहरुप्रति विल्कुलै वेवास्तापूर्वक हुर्किरहेको थियो । तैपनि मैले कहिल्यै उसका अगाडि आफ्नो इच्छा लाद्न त परै जाओस् उसका अगाडि आफ्नो पीर र आँसु पनि देखाउन सकिनँ । उसको चित्त दुख्ला भनेर नै मैले जीवनभर कहिल्यै उसलाई हुन्न भन्न सकिन । सधैंभरि मैले मात्र उसको चित्तको परवाह गरें तर मेरो चित्तको प्रवाह उसले कहिल्यै गरेन ।
एक दिन मैले सर्च गरेर उसको फेसबुक एकाउण्ट चेक गरें । उसले त उतैकी खैरेनीसँग बिहे गरेर एउटा नाति पनि जन्माइसकेको रहेछ । कमसेकम मलाई एकपटक खबर त गर्नुपथ्र्यो । मेरो सारै चित्त दुख्यो । मैले उसलाई फोन गरेर के चाला हो तेरो भनेर कराएँ । रक्सीले मातेको बेला भएर हो वा नियतवश, उसले मलाई हाकाहाकी भन्यो, ‘कति किचकिच गरेको ? मलाई मेरो लाइफ बाँच्न देऊ, अब त अति भयो । मलाई हप्काउने अधिकार कसले दियो तिमीलाई । ल भैगो, सम्झ कि आजदेखि तिमी मेरो बाउ नै होइनौ’ मलाई झनन्न करेन्ट लागेजस्तो भयो । अचानक प्रेसर लो भएर म उभिन पनि सकिन र भित्तामा अडेस लगाएँ । तर उसले विनाकारण त्यसो भन्दा पनि मैले उसलाई ‘त्यसो भए तँ पनि आजदेखि मेरो छोरा होइनस्’ भन्न सकिनँ ।
बल्ल मेरो होस खुलेको छ । अहिले अमेरिकामा जो छ त्यो मेरो छोरो होइन । म भन्दिन कि अमेरिकाले मेरो छोरो खाइदियो । मेरो छोराले आफंैले आफंैलाई खायो । मेरो छोरो त त्यस्तो थिएन । नाति पनि त त्यस्तै होला । मैले नेपालमा हुर्काएको छोरो त यस्तो छ, उसले अमेरिकामा हुर्काएको नाति झन् कस्तो होला ? तैपनि कहिलेकाँही लाग्छ कि एकपटक यहाँ आईदिए एकपटक उनीहरुको मुख हेर्नहुन्थ्यो । म त यहाँ अब पहाडजस्तै भइसकेको छु ।
आफ्नै खोंचहरुबाट पैदा भएर आफ्नै भित्ताहरुलाई भत्काउँदै हिँड्ने नदीलाई पनि पहाडले के गर्नसक्छ र ? बरु सधैं टुलुटुलु हेरिरहन्छ निरीह भएर एकनाशले आफ्नो शरीरसँगै आफ्ना भावना र रहरहरुलाई पनि बगाएर पराई देशमा पु¥याएको । तिनै नाँगा र उजाड डाँडाहरुबाट पैरो खसाल्दै भत्किरहेको पहाडजस्तै भत्किँदैछु म चुपचाप ।
अब त बस यही एउटा कुराको मात्र पछुतो छ कि दुईवटा छोरी हुँदाहँदै छोराको चाहना गर्दा किन मैले उतिबेलै दृढ भएर आफ्नी श्रीमतिलाई हुन्न भन्न सकिनँ ? किन ? सबैका छोराहरु मेरैजस्तै कपुत हुन्छन् भन्ने होइन र सबैका छोरीहरु मेरैजस्तै असल हुन्छन् भन्ने पनि होइन । तैपनी छोरीहरुभन्दा छोराहरुलाई नै प्राथमिकता दिने मनोरोगको किन मैले त्यतिबेलै उपचार गर्न सकिन ? मेरा छोरीहरुको मनोविज्ञानमा हामी दम्पतीको छोराप्रतिको प्रेमले पटकपटक कति चोट पु¥यायो होला ? उनीहरुको चित्त कति हजार पटक दुख्यो होला ? तैपनि आज हाम्रो सुखदुखमा साथ दिने उनीहरुले आफ्नो जीवनभरमा आजसम्म मलाई एकपटक पनि यसो भनेर गुनासो गरेका छैनन् कि खासमा तपाईंहरुलाई छोरा नै किन चाहिएको थियो ड्याडी ? बस आज त यस्तो लाग्छ कि कमसेकम उनीहरुले मलाई एकपटक यस्तो प्रश्न गरिदिए हुन्थ्यो ता कि म आफ्ना आँखाभरी टिलपिल आँसु भरेर भन्न सकुँ र केही मात्रामा भए पनि प्रायश्चित्त गर्नसकुँ कि, ए मेरा महान् छोरीहरु, एकपटक मेरो आँखामा हेर अनि मलाई माफ गर, मबाट त्यतिबेला ठूलो गल्ती भएछ । समय बदलियो अनि यसबीचमा धेरैथोक बदलिए । तर यो मामिलामा हामी अझै बदलिन सकेका छैनौं । किन होला, अझै पनि हामीमध्ये धेरैलाई छोरा नै चाहिन्छ ।
(स्रोत : श्री रुपरेखा)