~कुमार आले~
हाम्रो बसोबास आठराई माझकिराँत लिम्बूहरुको बस्तिबीच थियो। र, यही वस्तीको एक रैथाने थियो ― खरदारे।
उसको हुलिया अचम्मको थियो।
आधा आकास देखिने टिलिक्क टल्केको खुल्ला तालु। उ कसैको ससुरा, कसैको काका, कसैको वडौ, जेठौ, कसैको निन्बाबाट सम्बोधन गरिन्थ्यो। हामी खरदारे बुढा भन्थिम। बाआमा र काकाले निन्बा भन्नुहुन्थ्यो।
होचो कद। रातोपिरो लाम्चो अनुहारमा गन्न मिल्ने जुँगा र दाह्री । खालिखुट्टा लामो फड्का भुइँमा बजार्दै हिँड्ने। हेर्दै हिम–मानव यतिका जस्ता ढ्याब्रे गोडा । फरल्याक! फरल्याक! कम्बरमा भिरेको सिरुपाते खुकुरीबाट निस्कने आवाज। उ हिँडने बाटाहरु, बेखबर बनेर बसेका ढुङ्गा र माटाका ढिस्काहरु, कोकले र लामपुछ्रे चराहरुलाई पनि थाहा हुन्थ्यो ― यो आउदै गरेको खरदारे नै हो। जोगी मरेको जोगीखोला। चिहान डाँडा। ओडारे भीर ― दिन, रात या मध्यरात, केहीले ऊ तर्सेन। ऊ वेपरवाह हिँड्दथ्यो। तर्साउनेहरु आफै तर्सन्थे ।
गोडाभन्दा मुनिसम्म आउने लामो खाँडीको दौरा उसको हरदिनको पोशाक थियो। यसमाथि खाकिको छोटो जुवारिकोट पनि लगाएकै हुन्थ्यो। गुजुमुज्ज भैलत्रिएको सुरुवाल अनि अगाडि पटि्ट तुर्लुङ्ग झुण्डिएको सुरुवालको इँजार। दौरालाई दश फन्का बेरेको हुन्थ्यो पटुकाले। र यस पटुका चेपमा हुन्थे उसका सम्पूर्ण जिनिस― मकैको खोसेला, लामपाते सुर्ति, खरुवा सुर्तिका लाम्टा अनि धारिलो दर्शिनढुङ्गा।
यी बाहेक छातिका दौराका तुनामा फलामको चकमक झुण्डिएको हुन्थ्यो। नेपाली कागजलाई खरानीमा माडेर नरम बनाइएको झुलो पनि साथैमा हुन्थ्यो।
त्यस झुलोलाई दर्शिनढुङ्गोमाथि राखेर चकमकले चस्स हिर्काएपछी धुँवा पुत्पुताउन थाल्थ्यो र एकैछिनमा आगोको रुप लिन्थ्यो। त्यो लाइटर र सलाइको जमाना थिएन। धेरैकम मात्र देख्न पाइन्थ्यो। गोठाला जाँदा वनमा डढेलो लाग्न त्यही एक झल्को काफी थियो।
उसको बोली गरुङ्गो थियो। पिठयुँमा दुइँओटा काठका लठ्ठी सिउरेको हुन्थ्यो। ब्रृसलिले खेल्ने नाइनचाकु जस्तो। उसलाई देखेर दशहात पर भुक्थे कुकुरहरु। तर टोक्न पनि सक्दैनथे। गोरु, बोका, सुँगुर, पाडा– समस्त भाले जातिको घोर बैरी थियो ऊ। ऊ थियो एक पशुडाक्टर। पिठ्युँमा सिउरेको त्यही नाइनचाकुजस्तो यन्त्र र बसिलाका सहाराले बहर जातिलाई सुमर्ने काम गर्थे ।
७ सालमा राजा भारत जाँदा, देशमा राजा नभएको मौकामा तैँ राजा मैँ राजाको स्थिति आइपरेको थियो रे। मपाइँ हुँदै आफुखुसी राजा बनेर किराँतहरुले उत्पात मचाएका थिए रे त्यस भेगमा। त्यसताका यी खरदारे महामन्त्री थिए रे। महामन्त्री भएका बेला यिनले गरेको उपद्रोको पनि ठूलो किस्सा छ―
धेरैको घरबार उठिबास गराए । कुमाईहरु डाँडा कटाए। लखेटिएकाहरु प्राय: झापा आइ बस्नथाले रे। गाउँका छोरीबुहारी, चेलीबेटी कति लुटिए कति । लोग्ने मानिस त देखिनै हुन्नथ्यो रे। टाट्नोमा बाँधेको भेडा बाख्रा र दुहुना गाईभैँसीको कम्ता बिजोग भएन। घाँस न पानी। गाईवस्तुले दाम्ला चुँडाएर भएभरका वाली सखाप पारे। गरगहना र महँगा भाडावर्तन लुटिए। उपद्रो पनि कहाँसम्मको भने समातेर टाउकोमा दिसा पिसाब गर्न समेत बाँकी राखेनन्। नुन, भुटुन सिकुवामा छरिदिए। कोक्रामा हल्लिरहेको दुधे नानीलाई छोडेर दिनदहाडै लुक्न जङ्गल र ओडार पस्नुपर्ने स्थिति थियो रे।
हाम्लाई भने हुनसम्मको गुन गरेका थिए रे यिनले। हामीलाई चाहिँ धेरै अप्ठ्यारो परिस्थितिमा समेत भगाउँदै र लुकाउँदै बचाउने काम गरेका थिएछन्।
त्यतिखेर राजा भनाउँदा थिए― मुक्त बहादुर। यिनीहरुको ज्यादति सहन सक्ने सीमाभन्दा बाहिर गयो। हद भएपछि नन्दप्रसाद नामका हवल्दार ताते। यी कम थिएनन्। ब्रिटिस लाहुरमा छँदा दोस्रो विश्वयुद्धताका शरीरमा बन्दुकका गोली छिचोलेर बचेका न परे। हो यिनै लाहुरेले इलामबाट दुईनाले बन्दुक दुईवटा ल्याएछन। ती बन्दुक बोकेर पाँचथरमा केहिदिन बस्दा नबस्दै देशमा प्रजातन्त्र आएको खबर आइहाल्यो। अनि एउटा बन्दुक चाहीँ पोखरिको हिलोमा गाडेर लुक्दै घर आएछन्।
तिनलाई खरदारे किन भनियो होला? अझै रहस्यको विषय छ। नन्दप्रसाद लाहुरमा हल्दार थिए, त्यसैले यि हल्दार नामले त्यो भेगमा प्रख्यात भए। गाउँघरमा यस्ता उपनाम चल्तीका नाम हुन्। लाहुरेहरु उनीहरुको न्वारनको नामले भन्दा बढी लाहुरे पदले चिनिन्छन्। रिकुटे, जम्दार, हल्दार, सुब्बा, मुखिया आदि।
तर यि खरदारेलाई चै किन खरदारे भनियो थाहा भएन। पशुविज्ञ भएकाले पशुको ओखतीमुलो त मज्जाले गर्ने नै भए। यो बाहेक मान्छेका हातगोडा मर्किदा वा भाँचिदा बाँसका भाटाको काम्रो बनाएर बाँधिदिन पनि यी सिपालु थिए। पहाडमा जता फर्केपनि जडिबुट्टी भेटिन्थ्यो। चिन्नचाहिँ सक्नुपर्यो। काम गरेवापत केही दिनुनपर्ने। मात्र एक डबका छिप्पेको जाँड भए यिनलाई पुग्थ्यो। जाँड तनतन तानेर डबकाबाट मुख छुट्याउँदा उस्को त्यो गन्न मिल्ने सिरुपाते जुँगाका टुप्पामा जाँडका थोपा टाँसिएर झुन्डेका हुन्थे। बिहानिपख शितको थोपा टप्पबसे जस्तो देखिन्थ्यो त्यो जाँडको थोपो। केको न्यापकिन् कहाँको टावेल हातैले सुर्केर मुखैमा मैजारु हुन्थ्यो ।
खरदारे भनेपछि हामी केटाकेटीहरु औधी डराउँथ्यौँ। खरदारेको अनुहारको सम्झनामात्र पनि काफी थियो हाम्रो मुटु काम्नलाई। ऊ आउँदाजाँदा गाउँघरका केटाकेटीहरु एक कोस परैबाट भाग्थे।
कुनै बच्चो रोयो भने बाबुआमा भन्थे ― चुप लाग्छस् कि खरदारे बोलाइदिउँ? बच्चो चुप्पलाग्थ्यो। खरदारेका डरले मनखोलेर रुन समेत पाइन्नथ्यो। खरदारे भनेपछि मेरो त बोल्ती नै बन्द हुन्थ्यो।
आज गाउँघरका धेरै कुराहरु त बिर्सिसकेँ। तर, ती खरदारेको अनुहार आज पनि उस्तै सजिव बनेर आँखामा झल्झली आउँछ।