~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
शहरमा, चेतना बन्धकी छ
तिमीले देखिनौ ?
आर्यघाटमा मात्र
खरानी हुँदो रहेनछ जीवन ।
शहरमा, अनौठो छटपटी छ
म संसारको
सबैभन्दा धेरै पर्यटक हुँ
त्यहीं त हो नि -लण्डन
हिजै त हो गाडी चढेर गएको
सपनाको
विश्वास,भ्रम र त्रास हुँदै
आज समर्पण सम्म आइपुग्दा
सम्झना-बादल चुहिएको
यो मन-पहाडको
भर्खरै ज्ञात भएको
अज्ञात देउरालीको
छेउमै भेटेको छु, आत्मविश्वास-दर्शनढुंगा
र त्यहीँ आफ्ना आँखाहरुलाई
भावनाले खलबल पारेर
श्रद्दाको छिनोले तिम्रो नाम खोपिरहेछु
ट्वाक्, ट्वाक्, ट्वाक्, ट्वाक्……
यो संगीत हो- हृदयको
जानोस यो पहाडले पनि;
तिम्रो नाम
कती प्यारो छ, मेरा लागि
अन्जुलीभरी पारीजात थापेर
मध्यरातमा
बगाएदिएको छु खोलामा
समुद्रबाट टिपेर
कपालमा सिउरिनू
यो हृदयले लेखेको प्रान्जल भावलाई
स्वार्थी बजारको बकवास नसम्झनू
हो !, सपनामै त हो नि
स्वतन्त्र भएर घुम्ने
विपना त यथार्थको अटुट जन्जिरले
बाँधिएको छ ;
अपार समयको झ्यालखानामा
म, बन्धी छु बाध्यताको
म खोलाको किनारमा ।
तिमी समुद्रको किनारमा ।
२०६७-०४-०१, किर्तिपुर, काठमाडौं
(स्रोत : कविता कुसुम)