~राजेश नेपाली~
वषौं भयो चुइने छानो यो साल पनि छा’को छैन
धेरै भयो विदेश पस्या छोरा अझै आको छैन
उमेर ढल्न आँटी सक्यो साहुकोबारी धाउँदा धाउँदै
आफ्नै पेट सधै भोको चुलो बोल्न पा’को छैन
महंगी झन चुलिएर आकास नै छोइसकेछ
सुखसँग कहिले पनि मिठो खाना खा’को छैन
बर्षाभरी हिउँदभरी हलो जुँवा काँधमा बोकी
कामै काममा फाट्यो चोली नयाँ चोली ला’को छैन
दिनरात पसिनाले यो धर्तीलाई सिंगारेर
खुशी ल्याउने आशा थियो दुःख अझै गा’को छैन।
खाँचीकोट–२, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १६ – २०६६ फागुन १९ गते बुधबार)