~सागर भाई~
निथ्रुकै भिजेकी उनी रन्थनिँदै घर पुगिन्। आफ्नो रुममा छिरिन्। ढोका ढ्याम्म लगाइन्। हेन्ड्ब्याग फ्यात्त भुँइमा पछारिन्। र ऐना अगाडि उभिएर सयौँ लोला बजि्रएको आफ्नो निरिह शरीर नियाल्दै फत्फताइन् ― ‘असत्तीहरुले मैलाई अचानो देखे। सुनिती, रमी, चन्द्रीलाई एउटै लोला लागेन।
सबैले मै एउटीलाई निशाना बनाउनुपर्ने! भाग्गेमानी मोरीहरु! साँच्चो होलि त पर्सि हो। उफ! भोलि पनि छ अफिस। एक दिनको होलिलाई ट्राफिक सप्ताहझैँ दशदिन अगाडिदेखि हातमा लोला बोकेर यी पिशाच बेगारीहरु दोबाटो ढुक्छन्। भोलि पनि बिजोग हुने भो। भोलिपल्ट उसैगरि उनको मित्रमन्डली असङ्ख्य लोलाको निशाना बन्यो। तर अचम्म के भयो भने उनको शरीरमा एउटै लोला बजि्रएन।
उनको शरीर ओभानो रह्यो। थकित उनी घर आइन्। रुममा पसिन्। हेन्ड्ब्याग खुत्रुक्क भुइँमा राखिन्। ऐना अगाडि आफूलाई उभ्याइन् र ऐनाकी केटीलाई राम्रोसँग नियालिन्। ‘लोलाहरु जम्मै रमी, चन्द्री, सुनितीमाथि बर्सिए। मलाई एउटै लागेन।’ फत्फताउँदै फेरि नियालिन् ― गाजल? लत्पतिएको छैन। रातो कुर्था? सुहाएकै छ। के कमी रह्यो आज ममा? भाग्गेमानी मोरीहरु !