~अरुण खत्री~
राजु र भरत एउटै गाउँमा बस्थे । उनीहरू सानैदेखि मिल्थे । राजु धनी परिवारमा जन्मेको थियो । भरत गरिब परिवारमा जन्मेको थियो । उनीहरू एउटै स्कुलमा पढ्थे । दवैजना कक्षामा एउटै बेन्चमा बस्थे । राजुकी आमालाई छोरा गरिब परिवारमा जन्मेको भरतसँग मिलेको मन पर्दैनथ्यो । राजुलाई भने भरतसँग मिलेर खेल्न, घुम्न र सँगै स्कुल जाने इच्छा हुन्थ्यो ।
शनिबार भरत राजुलाई भेट्न घरमा पुग्यो । राजुको आमासँग भन्यो, ‘आमा १ राजुलाई बोलाइदिनोस् न ।
‘तिम्रो राजुसँग के सम्बन्ध छ ?’ राजुकी आमाले रिसाउँदै भनिन् ।
‘म उसको मिल्ने साथी हुँ । म स्कुलमा पनि सँगै पढ्न जान्छौं । एउटै बेन्चमा बसेर पढ्छौं आमा,’ भरतले भन्यो ।
‘आजदेखि तिमी मेरो छोरा राजुको साथी होइनौ । अब तिमी राजुसँग मिल्नु पर्दैन । ऊसँग स्कुल जानु पनि पर्दैन । ऊसँग मिलेको र पढ्न गएको देखें भने तिमीलाई के गर्छु, तिमी आफैं विचार गर । ऊसँग सम्बन्ध गाँस्न आजैदेखि छाडिदेउ,’ राजुकी आमाले रिसाउँदै भनिन् ।
भरत अँध्यारो अनुहार लगाउँदै घरतर्फ गयो । राजुलाई पनि आमाले ‘तँ आजदेखि त्यो भरतसँग मिलेको, खेलेको र सँगै स्कुल गएको देखें भने, म तँलाई कत्ति पनि बाँकी राख्दिनँ’ गाली गर्दै भनिन् ।
‘किन आमा म मनपर्ने साथी भरतसँग खेल्न, मिल्न र सँगै पढ्न जान नपाइने ?’ राजुले सोध्यो ।
‘त्यो गरिब परिवारमा जन्मेकोलाई तैंले साथी बनाइस् भने हाम्रो इज्जतै मासिन्छ नि छोरा,’ आमाले भनिन् ।
‘अबदेखि मैले कस्तो व्यक्तिलाई साथी बनाउँदा ठीक हुन्छ त आमा ? मैले आजदेखि कसलाई साथी बनाऊँ त ?’ राजुले आमासँग प्रश्न गर्यो ।
‘तँ हाम्रो गाविस अध्यक्ष रत्नबहादुरको छोरा माधवसँग साथी बन्नू । धेरै राम्रो हुन्छ । उसलाई तैंले साथी बनाइस् भने हाम्रो इज्जत पनि बढ्दै जान्छ,’ राजुकी आमाले भनिन् ।
आमाले त्यसो भनेपछि राजुले वचन नकार्न सकेन । त्यस दिनदेखि राजुले माधवलाई साथी बनाउन थाल्यो । माधव पढेकै स्कुलमा भर्ना भयो । माधवले अब राजुलाई ठग्ने योजना बनायो । बेला बेलामा ठग्न थालिहाल्यो । खानेकुरा खान मन लाग्यो कि राजुसँग पैसा मागिहाल्थ्यो । स्कुल लगेको राजुको खाजा पनि माधवले खाइदिन थाल्यो । आफूले लगेको खाजा माधवलाई खुवाउनु पर्दा राजुलाई साह्रै नै नमज्जा लाग्न थाल्यो । बेकारमा भरतलाई साथी त्यागेको भनेर दिक्क लाग्न थाल्यो । माधवलाई साथी बनाएकोमा पछुतो हुन थाल्यो । आमाले भनेको बेकार मानेछु जस्तो लाग्न थाल्यो ।
राजुले घरमा आमालाई माधवको कुरा लगाइदियो । ‘राम्रो भनेको होइन ?’ राजुले भन्यो, ‘खाजा ल्याउँदैन । मेरो खाजा खाइदिन्छ । पैसा माग्छ । ठग पो रहेछ ।’ छोराको भनाइ सुनेपछि आमालाई भुल गरेछु भन्ने लाग्यो । आमाले आफ्नो उन्मादमा त्यस्तो निर्णय गरेकोमा पछुतो भयो । ‘अबदेखि माधवलाई साथी नबना,’ आमाले भन्नुभयो, ‘आजैदेखि माधवको संगत छाडि दे । अब राजुसँगै संगत गर ।’
प्रकाशित: माघ ३, २०७२
(स्रोत : कान्तिपुर – कोपिला)