~बिष्णु सुवेदी ‘दोलखे’~
बादल भुईंबाटै उडेर
आकाश जान्छ
आकाश जाँदा बादलले
सिङ्गो समुद्र पिएर जान्छ
सिङ्गो समुद्र लिएर जान्छ !
बादल पहाडसँग प्रीत लाउँछ
जब बादल
बिस्तारै झर्छ तल
पहाडमा ठोक्किएर समुद्र छाद्छ
बिस्तारै जान्छ समुद्र
बिस्तारै आउँछ समुद्र !
बादलका टुक्राहरू
खुल्ला आकाशको नीलो चौरमा
मूर्त÷अमूर्त चित्र कोर्छन्
बादलका टुक्राहरू
आगो बाल्छन्÷पानी ओकल्छन्
बादलका रङ्गहरू
यकिन हुँदैन
क्षणभरमै बदलिन्छन् !
भुईं छोडेर उठेको बादल
घामको अनुहार छेक्छ
जूनको उज्यालो छेक्छ !
बादल पहाड छेक्छ
समुद्र छेक्छ
तर स्थायी हुँदैन
बादलको आयतन÷बादलको आकार !
वर्षौंदेखि
बादल समुद्र पिइरहेछ
आकाश छोइरहेछ
र पनि समुद्र निख्रेको हुँदैन
समुद्र सुकेको हुँदैन ।
बादलको तागतलाई
घाम र समुद्रले हराइरहेछन्
बादल समुद्र पिइरहन्छ
बादल घाम छेकिरहन्छ
मान्छेको मृगतृष्णा जस्तै !
राम्पा, दोलखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)