~जनकराज सापकोटा~
स्कुलको उत्तरपश्चिम कुनामा माहुरीको गोलोझैं विद्यार्थीको झुन्ड थियो । आकाश ताकेर उडिरहेको हवाइजहाज हेर्न एक टकले आँखा सोझाएझंै सबैका आँखा स्कुलको भित्तामा सोहोरिएको थिए । हेडमास्टर र अरू शिक्षक पनि त्यही भीडमा मिसिएका थिए । सबैको अनुहारमा अनौठो कौतूहल थियो । शान्त भीडलाई हेडसरको बोलीले चिर्यो, ‘रातारात कसरी लेख्न सक्या ? जात त ज्याद्रा हुन् ।’ ‘हो, अचम्मकै हुन्,’ अरू सरहरूले सही थपे । त्यसपछि हेडसरले थपे, ‘अब नसकिने भो । खाने भए देश ।’ ‘हो, खाने भए’ धेरै सरहरूले एकै स्वरमा भने ।
हिउँजस्तो सेतो भित्तामा बडेमानका राता अक्षरले क्रान्तिकारी राष्ट्रिय गीत लेखिएको देखेर विद्यार्थीहरू अचम्मित नर्पने कुरै थिएन । पिटी खेलेपछि हामीले गाउने राष्ट्रिय गीत त श्रीमान् गम्भीर नेपाली… थियो । तर भित्तामा लेखिएको ‘राष्ट्रिय गीत’ मा त क्रान्तिकारी शब्द थिए र अन्तिममा लेखिएको थियो, लाल सलाम !स्कुलमा भएको यस्तो अनौठो घटनाबाट केही विद्यार्थी र शिक्षकहरू भयभीत देखिए । माओवादी द्वन्द्वको बाछिटा स्कुलभित्रै कसरी छिर्यो ? कसले छिरायो ? भन्ने प्रश्नहरूको उत्तर कसैसँग थिएन । सरहरूसँग मात्रै अनुमान थिए । विद्यार्थीहरू तिनै अनुमानका आधारित भएर अनेकन लख काटिरहेका थिए । मेरो छेवैमा उभिएको एउटाले सुनायो, ‘क्रान्तिकारीहरूसंँग मेसिन हुन्छ । हो त्यसैले लेख्या । नत्र हिजो बेलुकीसम्म यहाँ केही लेख्याथेन ।’अर्कोले सही थाप्यो, ‘तिनीहरू त गुरिल्ला तालिम ले’का हुन्छन् । जे पनि एकैछिनमा मेसिनले झैं गर्छन् ।’भीडको एक छेउमा बसेर सब दृश्य म टुलुटुलु हेरिएको थिएँ । अरूको जस्तै मेरो मनभित्र पनि अनिश्चय र आशंका गुदगुद छड्किरहेको थियो । तर त्यो फरक प्रकृतिको थियो ।
त्यो २०५९ साल थियो । गर्मी महिना सकिएको थियो तर जाडो सुरु भइसकेको थिएन । रात झमक्कै परिसकेको थियो । जूनकीरीको संगीतभन्दा लामखुट्टेको आवाज चर्को थियो । खल्च्याङ–ख्याच पारेर आमा धारा पेल्दै हुनुहुन्थ्यो । म आँटी चढ्ने तर्खरमा थिएँ । पर कतै सुनिएको मोटरसाइकलको मधुरो आवाज क्रमश: चर्को हुँदै आयो र मेरै आँगनमा आएर घ्याच्च बन्द भयो । ‘जनकजी हुनुहुन्छ ?’ कसैले चर्को स्वरमा आगनमा उभिएर बोलायो । यति राति मोटरसाइकलमा मलाई खोज्न आउने को होला ? भर्याङमा उक्लिसकेका मेरा पाइला टक्क अडिए । बिरालोको चालमा लुसुक्क पिंढीमा आए । आगनमा दुई हट्टाक्टटा तन्नेरी थिए । गोठ छेउमा उभिनुभएको बुवाले सोध्नुभयो, ‘के काम पर्यो होला बाबु ।’
मलाई पिंढीमा देखेपछि उनीहरूले बुबाको प्रश्नको उत्तर दिएनन । सरासर मेरो छेउमा आएर भने, ‘अब तपाईंले पनि क्रान्तिलाई योगदान गर्नुपर्यो ।’ मलाई बुझ्न गाह्रो परेन, उनीहरू माओवादी कामरेडहरू थिए । प्रश्न सुनेर मात्रै म शीताङ्ग भएँ । अर्को कामरेडले सुस्तरी भने, ‘हामीलाई थाहै छ, तपाईं राम्रो आर्ट गर्नुहुन्छ । अलिकति भित्ते लेखनमा सहयोग गर्नुपर्यो ।’म अनकनाएको देखेर एउटा कामरेडले भने, ‘धन्दा नमान्नुस् । धेरै टाढा पनि हैन । काम सकिएपछि तपाईंलाई घरै ल्याइदिन्छम् ।’ त्यतिबेलासम्म बुवा छेउमा आइसक्नुभएको थियो । मैले बुवाको अनुहार अपलक हेरें । अँध्यारोमा बुवाको अनुहार झनै धमिलो भयो । आग्रह अस्वीकार गर्न सकिने अवस्था थिएन । मैले भित्ते लेखन र तुल पेन्टिङ गर्न सक्छु भन्नेबारे दस गाउँ जानकार थियो । सानै उमेरदेखि पेन्टिङमा मेरो रुचि थियो । आठ कक्षा चढेपछि त मैले त्यसलाई पेसाझंै बनाइसकेका थिए । गाउँमा जसको बिहे भए पनि मलाई फाइदा हुन्थ्यो । किनकि शुभविवाहको तुल लेख्न मान्छे मैकहाँ आउँथे । गाउँमा कसैले मोटरसाइकल किने मैले थाहा पाइहाल्थें । किनकि नम्बर प्लेट लेख्न मैकहाँ आउँथे । कसैले नयाँ पसल खोले सटर वा भित्तामा पसलको नाम लेख्न मलाई नै लगाउँथे । यसरी म एउटा चल्तापुर्जा पेन्टर भइसकेको थिएँ ।
उनीहरूको अड्डीका सामु मेरो केही चलेन । बुवाले सुस्तरी भन्नुभयो, ‘जसरी लानुभाथ्यो, त्यसरी ल्याइदिन पर्च नि ।’ उनीहरू टाउको हल्लाएर सहमति जनाए । रातो रंग, दुईवटा ब्रस र थोरै मट्टीतेल बोकेर म सरासर मोटरसाइकलमा गएर थपक्क बसें । बुवाले सुस्तरी भन्नुभयो, ‘छिट्टै फर्केस् नि ।’ बुवाको स्वर मोटरसाइकलले छोडेको धूवाँमा मिसियो ।
मोटरसाइकलमा हुइँकिंदा चिसो हावा सरर आयो । तर मनभित्र चलेको हुन्डरीले मलाई उखुम बनायो । कहाँ लाने हुन् ? के लेख्न लगाउने हुन् ? पेट्रोलिङमा आएको प्रहरीले देख्यो भने ? चेक गर्यो भने ? छातीभरि पसिनाको बुँद उम्रियो । मनभरि डर भरियो । हेर्दाहेर्दै गीतानगरको बजार आयो । बजार मस्त निद्रामा थियो । बाटोमा एकाध कुकुर संसर्गमा मस्त थिए । मोटरसाइकलको आवाजले ती लाखापाखा लागे । हेर्दाहेर्दै मोटरसाइकल स्वाट्ट दायाँ मोडियो र मेरै स्कुलको चौरमा पुगेर टक्क अडियो । आफ्नै स्कुलमा आइपुगें भनेर म खुसी भएँ । टाढा लगेका भए मलाई फर्किन गाह्रो हुन्थ्यो । नचिनेको ठाममा अभर पर्न सक्थ्यो । तर स्कुल वरपर त मलाई चिन्ने धेरै छन् । केही पर्यो भने तिनलाई गुहार्न पाइनेछ ।
चौताराको छेउमा पुगेर मोटरसाइकल टक्क रोकियो । मैले बिहान कवाज खेलेको र श्रीमान् गम्भीर नेपाली भन्दै राष्ट्रिय गीत गाएको सम्झिएँ । हाफ छुट्टीमा चौतारामा बसेर साथीहरूसँग गफ गरेको, जिस्केको सप्पै एकैचोटि सम्झिएँ । तर दिउँसोको रमाइलो त्यहाँ केही थिएन । चौरमा अरू दुई चार कामरेड हातमा लाइट बोकेर उभिएका थिए । मेरो मन डरले उफ्रिरहेको थियो । भित्तामा नारा लेख्दै गर्दा प्रहरी आएर च्याप्प समात्यो भने स्कुले साथीहरूले के ठान्दा हुन् ? छिट्टै फर्केस् है भन्नुभएको बाबुलाई कस्तो चोट पर्ने हो ? मेरो ओठ थरथरी काप्यो । तर अँध्यारोमा कामरेडहरूले केही देखेनन् ।
यसरी मध्यरातमा म स्कुल कहिल्यै आएको थिइनँ । स्कुल शिक्षाको ज्योति हो भन्थें । तर मध्यरातमा त स्कुल पनि मसानघाटजस्तो हुँदो रैछ । मनमै सम्झें, शिक्षाको ज्योति कसले लुकायो होला ? कामरेडको हातमा बलेको टर्चलाइटले सोझाएको बाटो हुँदै स्कुलको झ्याल–ढोका नभएको उत्तर पश्चिम भित्तामा पुगें । कामरेडहरूले त्यहाँ बाँसको भर्याङ ठड्याइसकेका रहेछन् । भित्तातिर टर्चलाइट सोझाउँदै एक कामरेडले भने, ‘उ त्यो माथिदेखि यहाँ तलसम्म हाम्रो पार्टीको राष्ट्रिय गीत लेख्नुपर्ने भो कामरेड ।’ यति भनेर उनले गोजीबाट खजमजिएको कागज निकाले र भने, ‘यहाँ जे लेखेको छ, त्यही लेख्नुपर्यो अक्षरश: ।’
म चुपचाप भर्याङ उक्लिएँ । भर्याङको एक छेउमा रङको बट्टा झुन्डाएँ । भित्तामा धागोले तानेर मार्क गर्ने, स्केलले नापेर अक्षरको आकार तय गर्ने त्यहाँ केही सम्भव थिएन । भुईंमा उभिएको कामरेडले भित्तामा प्रकाश छ्यापे । मैले रङमा ब्रस चोपें र फटाफट लेख्न थालें । लेखेर आधा पनि सकिएको थिएन, एकजना कामरेड कराए, ‘लौ एकछिन तल झर्नुस् ।’ मेरो हंसले ठाउँ छोड्यो । कामै नसकीकन मलाई तल झर्न किन आदेश दिइँदैछ । सर्च एन्ड अप्रेसनमा प्रहरीको टोली आयो कि ? कामरेडहरू त बानी परेका हुन्छन् । तिनीहरू त भागेर ज्यान जोगाउलान् ? मलाई च्याप्प समात्यो भने ? म बेस्सरी डराएँ । कामरेडले टर्चलाइट निभाए । अँध्यारोमा मेरो डर छोपियो । प्लास्टिकको झोलामा कामरेडहरू धमाधम हात छिराउँदै, निकाल्दै गरिरहेका थिए । आदेशअनुसार मैले हात छिराएँ । गिलोगिलो, चिप्लोचिप्लो । अनेकथरी आकार र प्रकारको । हात बाहिर निकालेपछि पो थाहा भयो, त्यो जेरी रहेछ । मैले एकै सासमा जेरी मुखभित्र हुलें । डरले सुख्खा बनेको जिब्रो जेरीको स्वादमा रसिलो भयो । फेरि उसैगरी हात हालें, मेरो हातमा बुनिया पर्यो । स्वादिलो खानेकुरा पाएर मेरो पेट पनि रमायो । अँध्यारोमै एकजना कामरेडले मेरो हातमा चिसो बोतल थमाइदिए । खानुस्, खानुस् भनेर कर गरेपछि मैले डराई डराई स्वाट्ट पारें । जिव्रोले थाह पायो त्यो कोकाकोला थियो । चिसो भनेकै कोकाकोला । भर्याङ चढेर बाँकी अक्षर धमाधम लेखें । अन्तिममा लालसलाम लेखेपछि भित्तेलेखन टुंगियो । पेन्टिङको पुछारमा म जहिल्यै सानो अक्षरमा लेख्थें, आर्ट जनक । लाग्यो, त्यतिका धेरै मिहिनेत गरेको कामको जश किन नलिऊँ । लेखिदिऊँ, सानो अक्षरमा, आर्ट जनक । तर त्यसो गर्दा क्रान्तिकारी नारा लेखेको आरोपमा मलाई पुलिसले पक्रिने पक्का थियो । मन अमिलो बनाएर म भर्याङबाट झरें । वाचाअनुसार उनीहरूले मलाई घरमै पुर्याइदिए । ढ्याकढ्याक, ढोका ढकढकाउनेबित्तिकै बुवा उठ्नुभयो । उहाँको आँखामा निद्रा थिएन । म कतिखेर आउँला भन्ने छटपटीमा उहाँ सुत्नुभएको रहेछ । बत्ती वालेपछि पो देखें मेरो टिसर्टभरि रातो रंग लतपतिएको रहेछ । त्यो लगाउनै नहुने त थिएन । तर मलाई डर लाग्यो, प्रहरीले खोज्दै आउँदा यो टिसर्ट फेला पार्यो भने मेरो पोल खुल्नेछ । मैले प्लास्टिकमा बेरेर त्यसलाई भकारीको पिंधमा लगेर लुकाएँ ।
भित्तामा क्रान्तिकारी नारा मैले नै लेखेको हुँ । सबै विद्यार्थी र शिक्षकका अघि चिच्याएर भन्ने मन थियो । सत्य थाहा पाए भने कति साथी मसँग डराउँदा हुन् । हेडसरले के भन्नुहोला ? मैले मनमनै गम खाएँ । म औधि छटपटीमा थिएँ । मैले मेरै कक्षाको एक साथीलाई भीडबाट लुसुक्क तानें । अलिक पर लगें र भनें, ‘एउटा कुरा भन्छु, कसैलाई भन्दिन भनेर कसम खान्छस् ।’ ‘के कुरा भन न कसैलाई भन्दिनँ’ यति भनेर उसले कसम खायो ।
सामान्य कसमले मेरो चित्त बुझेन । ल त्यसो भए आमाको कसम खा । विद्याको कसम खा । उसले मैले भनेको मान्यो र भन्यो विद्या कसम्, आमा कसम † मलाई अझै चित्त बुझेन । मैले सटको टाँक खोलें र काखीको छेउमा अड्किएको जनै निकाल्दै भनें, ‘ल यसलाई छोएर नि कसम खा ।’ उसले झिंजो मान्दै जनै छोयो र भन्यो, ‘ल जनै कसम । कसैलाई भन्दिनँ ।’ अनि मैले उसको कानमा खुसुक्क भनें, त्यो भित्तामा लेखेको छ नि, त्यो मैले नै लेख्या हुँ । विद्या कस्सम । आमा कस्सम ।
प्रकाशित: मंसिर १२, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)