~मुक्तान थेबा~
तिमी लक्ष्मी मानेर दौलतको भिख माग या
माता मानेर ढोग
त्यो तिम्रो मनुले अह्राएको गरे हुन्छ
म मेरो आख्खेले सुम्पेको रिति समात्छु
आख्खेले त लुकिलुकि ढाल्नु भो
म ढाल्छु- खुल्ला चौरिमा
तिमी मलाई पापी भन्छौ होला भन
राक्षस भन्छौ होला, भन
अधर्मी भन्छौ होला, भन
सहन्छु, तर…..
खबरदार!
अपराधी हो भनेर मुलिकी ऐन लगाउने
दुस्साहास नगरेस
हामीलाई अपराधी करार गर्ने हैसियत तिमीसङ्ग छैन
तिमी आउनु पहिल्यै यो माटोमा
मेरो आख्खेले ढालेको हो-त्यसलाई
तिमी दुध चढाउ निर्जिव ढुङ्गोमा
र खुशी पार तिम्रो भगवानलाई
गहुतले नुहाउ
र शुद्ध बनेर हिँड
म रोक्दिनँ तिमीलाई
म त्यसको तिहुन पकाउँछु
र खुवाउँछु मेरो डोल्मो र पाल्तेनलाई कोदोको छ्याम्बासँग
सुकुटी भुट्छु
र पिउँछु जिरमाको पानी
बजाउँछु डम्फु चिमाल जात्थरमा
अनि नाच्छु डम्फुको चरीसङ्गै फुर्फुरी
खबरदार!
मेरो डोल्मो र पाल्तेनको गाँस रोक्न खोज्यो भने……..
मेरो डम्फुको शेलो खोस्न खोज्यो भने
आख्खेको भुत्ते तिखार्ने छु म
याबेङखोलामा कुट्किएको उर्गेन परेन म
म्हाबरको कार्साङले धोका खाँदैन ।।
· मुक्तान थेबा
२०७१-४-१७ (याम्बु)
शब्दार्थ (तमाङ-नेपाली):
म्हाबर: महाभारत पहाड
आख्खे: बाजे-बराजु, पुर्खा
छ्याम्बा: ढिँडो
जिरमा: तोङ्बा
चिमाल जात्थर: चैत्र पुर्णिमाको दिन बौध स्तुपा र स्वयम्भुमा लाग्ने तमाङ जात्रा
याबेङखोला: तमाङ इतिहाँस अनुसार तमाङ जातिका राजा उर्गेनलाई षड्यन्त्रमुलक ढंगले फसाएर बध गरेर फालेको खोला जुन रसुवा जिल्लामा पर्दछ । र यो खोलाको पानी आजसम्म पनि तमाङहरुले पिउँदैनन् ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)