~जोतारे धाइबा~
मनतातो हाउभाउसहित
एकैफेरा जाग्नु छ अकस्मात् सुर्योदयसँग
र निभ्नु छ कुनै साँझ जस्तो चिसो एस्ट्रेमा,
ताप्नु छ आफैँलाई भरदिन
हाल्नु छ आकाङ्क्षाको तरल-तरल बग्दैजाने तेलधारा
थप्नु छ खिइँदै गएको ठूटे उत्साहमा नयाँ सलेदो
यसरी नै त जिउनु छ,
यसरी नै त घर्कदै जानु छ-
समयको सेतो जुल्फीको टुप्पाबाट फेदीतिर
आँखाको पर्खाल फोरेका थियौ-
जब आएका थियौ प्रथम आरोही बन्छु झैँ भाकामा,
सायद त्यस्तै आवेग निचोर्दै फेरि पग्लिनेछौ
बिदाइको पिरो रापमा उम्लिएर
नरोऊ ओ जिन्दगी !
यो ध्वाँसोले अँगालोमा बेरेको कुमारी आकाश
तिम्रो होइन
हरबरी खेलिरहने यो गोधूलिको नरम वायु
बस्दैन तिम्रो साँगुरो खल्तीमा
आउँछौ तिमी हावा बहने रीत जस्तै
सजिलै आउँछौ
जान्छौ सजिलै
एउटा चक्रभन्दा बढी तिमीले कतै घुम्नुछैन
सुर्तीको पातमा च्यापिएको कोक्याउने स्वादले
निम्तो दिन्छ चोखा ओठहरूलाई
आँधीबाट जेनतेन बचेको बचेरी ढेपिँदैढेपिँदै
पुग्छे सर्पको टोड्काछेउ
यस्तै त हो-
निस्किएपछि सडकको उन्मुक्त उल्लासमा
फेरि घुम्दैफिर्दै पस्नुपर्छ उही अँध्यारो गल्ली
वा, खचाखच झुप्पादार बस्तीको उकुसमुकुसमा
तिम्रै बुइ चढेर युगौँयुगदेखि
समय गइरहेछ घामको पहेंलपुर तमसुक फट्टा गर्दै
जिन्दगी, तिमी त सधैँ छौ
यतै कतै
धूवाँदार आकाशमुन्तिर
देहको शालिग्राम घोट्दै
तिमी बाँचिरहेछौ
आगो बाँचेर
आगो ओकलेर
आगो पचाएर
बढिरहने तिम्रो अग्नियात्रा…,
प्रकृतिको पूजामा तिम्रो यो आराधन
कति प्यारो
कति मुलायम !
April 19th, 2009
(स्रोत : Mysansar.com)