~सन्दिप बडाल~
सजिएको मुलढोका नाघी, ऊ भित्र आउँदा
सजाएर राखेको कोक्रोमा सुस्तरी सुस्ताउँदा
बिस्तारै आँखा खोली, मलाई हेर्दै मुस्काउँदा,
मैले थाहा पाएँ, घरमा एउटी परी आएकी छ
उसले आफुसँगै मेरा, खुशी बोकी ल्याएकी छ
ऊसँगै हर समय बिताउन पाउँदा
उसका आँखामा हेर्दै संसार भुलाउँदा
बिर्सी कुरा सबै, उसलाई मात्र खेलाउँदा
मैले थाहा पाएँ, घरमा एउटी परी आएकी छ
उसले मेरा लागि, समय रोकी ल्याएकी छ
मेरो अज्ञानतामा उसले आँसु खसाउँदा
उसको वर्णनमा मैले सुस्तरी लोरी सुनाउँदा
सबै बिर्सी ऊ मेरो हत्केलामै निदाउँदा
मैले थाहा पाएँ, घरमा एउटी परी आएकी छ
मेरो जीन्दगीमा उसले, सार्थकता बोकी ल्याएकी छ
-अप्रिल १०, २००९
(स्रोत : रचनाकारको ब्लगबाट सभार)