~शिरिष लामिछाने~
घडीको टिकटिक
अनि रातको रमझम
विदेशको बसाइँ
अनि गाउँको घरजम
आफ्नो साइकल
घनश्यामको गाडी
बैकुन्ठेको रोलेक्स
आफ्नो खाली नाडी!
रामेकी बुढी
आफ्नो रित्तो भुँडी
छाम्दै भन्छ शैलेश
“के सत्य यही हो?”
रित्तो भुँडीमा जाँड खन्याउँदै
भित्तामा हान्दै, जुत्ता हुर्याउँदै
शैलेश भट्याउँदै छ,
“बरु गाउँ नै फर्किन्छु
केही गर्न नसकेनी
यौटा स्वतन्त्र राज्यको माग गर्छु
देश यसै नी टुक्रिदै छ
बरु आफ्नै राज्यको राजा हुन्छु
पृथ्वीनारनको सालिकलाई जरैदेखी उखेल्छु
आफ्नो प्रतिमा त्यहीँ ठड्याउँछु
अनि,
‘स्व-राज्य जिन्दबाद’ को नारा
चर्को स्वरमा लगाउँछु” ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)