~प्रकाश थाम्सुहाङ~
टङ टङ टङ टङ
सखारै कारखानाबाट बज्छ घण्टी
आओ आओ तिमीहरु
एउटा सायरन सूचना
सँधै हतारमा हुन्छिन् उनी
टायममै पुग्नु छ कमान ।
कम्मरमुनी बेरेर प्लाष्टिक
ओढेर बर्षादी
पिठ्यूँमा बोकेर टोकरी
टिप्दै साथीहरुको पछि–पछि
जस्तो लस्करै हिंडदैछ कमिलाको ताँती ।
बर्खा हो या हिउँद
झरी होस् या घाम
सधैं एउटै काम
कहिले होला यसको अन्त्य
कहाँ होला विसौंनी ।
यतिबेला चारखोलाबाट उड्दै आएको
भुई कुहिरोले छोपीदिन्छ उनको सपना
कुहिरोभित्रै बिलाउँछ उनको रहर
अहो ! अर्को निष्ठुरी विहान
निमोठ्दै टोकरी मिल्काउँछिन
ढल्किन्दो उनको बैंश ।
उनको सिउँदो जस्तो
चियाबारीको गोरेटो
टेक्दै–टेक्दै
आजसम्म आएन कुनै सोल्टी राजा
भगाई लगेन दूरदेश
फगत सपनामा आउँछ चौकीदार
र पटक–पटक ऐठन लगाएर जान्छ ।
हिजै जस्तो लाग्छ
आमाको फेर समाएर गएको कमान
र मेनेजर सामु डराउँदै लेखाएको नाम
त्यो पहिलो दिन
पहिलो स्पर्श
चियाको मुनाहरुमा
निचोरिन्थ्यो कलिलो रहर ।
माईखोलामा पानी बगेझैं
समय बग्यो–बगिरह्यो
यसबीच आयो नयाँ मालिक
र नबुझिने भाषामा आदेश दियो
उनको ज्याला घटायो ।
उनलाई केही थाहा छैन
कहाँ बेचिन्छ उनको श्रम
केही थाहा छैन
उनको श्रमजीवि हातले टिपेको
कल्कलाउँदो अर्गानिक मुनामाथि
कुन देशको ट्याग लाग्छ
र बेचिन्छ विश्व बजारमा ।
टङ टङ टङ टङ
हतारमा छिन् उनी
सदाझैं हरियो मरुभूमिमा
पहिल्याउनु छ जीवनको गोरेटो ।
–प्रकाश थाम्सुहाङ, इलाम–
(स्रोत : इलाम पोस्ट अन्लाइन)