~केशर थुलुङ~
यो माटो हाम्रो हो
पसिना बगाउनुपर्छ
यो ढुङ्गा हाम्रो हो
पौरखी बनेर फोड्नुपर्छ
मिलाएर राख्नुपर्छ
अनि मूल फुटाउनुपर्छ
उर्वरताको
यहाँ दुःख छ, पीडा छ
माया र सद्भाव फुलाउनुपर्छ
खुसी बाँड्नुपर्छ
संस्कृतिलाई इतिहासको
पानामा बन्दी होइन
आ-आफ्नो ठाउँबाट जागरित बनाउनुपर्छ
पहिचानको निम्ति
अन्याय/अत्याचारको
असीम चक्रव्यूहभित्र
तिमी फसेका छौ
म पनि फसेको छु
उठ्नुपर्छ/जुर्मुराउनुपर्छ
एक बनेर यसको विरुद्धमा
त्यसैले उठ अब
झुप्रो-झुप्रोबाट उठ
बस्ती-बस्तीबाट उठ
शहर-शहरबाट उठ
सबै जुटेर, सबै मिलेर
एउटा नयाँ अध्याय थाल्नुपर्छ
जहाँ हामी
हाँसी-हाँसी बाँच्न सकौँ
जहाँ हामी
हाँसी-हाँसी मर्न सकौँ ।
(स्रोत : कविता कुसुम)