कथा : यसरी एउटा नाउँ काटिन्छ

~पारिजात~parijaat_3

सनक्याप र कालो चश्मा लगाएको इञ्जिनीयर ढलानको फरमामाथि उभिएर कराइरहेको छ, “भारतीय ठेकेदारको विश्वास नगर्नुस् है, ज्यामी भोजको ठेक्का कसलाई दिनुभयो?”

घरपति तलबाट मास्तिर हेरेर हाँस्दै भन्छ, “त्यति बुद्धि त मेरा पनि छ नि हौ, भोजको ठेक्का नेपाली नाइकेलाई दिएको छ। ”

“कति दिनुभो?” इञ्जिनीयर सोध्छ।

“मिल्काइदिएँ दशको हिसाबले महंगी हेरिकन साठीजना ल्याउँछु भन्थ्यो” घरपति एकातिर लाग्छ।

साबेल लिएर उभिएको एकजना लाठे ज्यामी आफ्नो साथीलाई भन्छ, “नेपाली नाइके पन कुन गतिलो छर आजभोलि। उहाँ पैंतालिस जना ज्यामी लिएर आयो। घरपतिले दशको हिसाबले दिएको भन्छ, कुरा उही हो। तै जाँड, रक्सी, मासु सबै ल्याएछ।”
ठीक त्यति नै खेर गोदामबाट एउटा बुढा सिमेन्टीको बोरा आङमा बोकेर निस्कन्छ र धीमागतिले बालुवा चालेको ठाउँसम्म आउँछ र बिसाउँछ। उसको कपाल, आँखी भौं, जुंघा तथा सबै अनुहारमा सिमेन्टको फाहा छरिएको छ, लगाएको लुगा झन्डै अर्धनग्न नै भनौं बोरा रंगकै छ। जम्मामा सिमेन्टको बोरा र उ एउटै देखिन्छ, ऊ चल्छ र बरा मान्छे हो भनी चिन्न सकिन्छ। हिंडाई लोसे छ त्यसैले बुढो रहेछ भनी अन्दाज गर्न सकिन्छ।

उसलाई देखेपछि लाठे ज्यामी भन्छ, “यी यस्ता बुढा त ल्याएको छु” आफै कमाएर खान पर्ने होला नि त बुढालाई त्यसैले त ल्याउनेले ल्याए आउने आए, धर्मरि्रदै भए पनि बोक्दै बुढा ” अर्को ज्यामी बिंडीको कस तान्दै भन्छ।

“यो सिमेन्टी ओसार्नेमा त लाठे बस्न पर्ने” पहिलो ज्यामी भन्छ। “यहाँ रोडा सिमन्टी फिट्नेमा नै लाठे पुगेको छैन, अहिले हेरन कराई ओसार्नेहरूमाथि हात बाँधेर बस्छ, कुन्नि के ताल हो यो ठकेदारको घ्” दोस्रो जवाफ दिन्छ।

बुढा मान्छे चार हात खुट्टा टेकेर, कन्दै बोरा बोकेर उठ्छ। अघिबाट तान्ने अथवा पछिल्तिरबाट घचेटिदिने कोही छैन उसको। एक्लै धान्दैछ। एकाग्र छ ऊ कसैलाई केही भन्नुछैन उसको, कसेबाट केही सुन्न पनि छैन। भीडमा एक्लो छ बुढो। भाषाहरूबीच लाटो। सामाजिक परिचयको त कुरै छोडिदिउँ अहिले त उसको मान्छे हुनुको परिचय पनि छैन मध्ये जेठको तन्नेरी घाम बादल छियोलेर देखापर्छ। शिरमा रूमाल बाँधेका ज्यामी महिलाहरू लस्करै उभिएका छन्। “ए पानी खाउँ पानी” कोही धोत्रो स्वरमा कराउँछे। पानी भरिएको तुमलेट आउँछ, रित्तिन्छ, पसिना बग्दै झर्छ प्राकृतिक अनुहारबाट इञ्जिनीयर चौतर्फी आँखा डुलाउँदै उभिएको छ। भारतीय ठेकेदार ओझेलमा बसी नोटबुकमा केही लेख्न लागेको छ, आँखाहरू धप्प बलेका छन्, ओंठमा रहस्यमयी हाँसो आउन खोज्छ फेरि हराउँछ, मानौं सतर्क हुन खोज्छ आफै।

गोदाम घरको एकापट्टि विशिष्ट पाहुनाहरूको निम्ति विभिन्न परिकार पाकिरहेका छन्। मासु त तीनथरी नै कुखुरा, बंगुर, खसी। मरमसालाको सुगन्ध छेउछाउमा पर्नेहरू भित्र थुक निल्दैछन् तर बुढाको घ्राणशक्ति, यी सबैसँग अपरिचित छ। यस्तो परिकार कहिल्यै खाएकै भए न थाहा हुन्छ। भोक लागेपछि ऊ त साँदेको गुन्द्रुक र मकैको ढिंडो कल्पना गर्छ पसिना उसको जीवनको साथी हो, पसिना र ऊ सँगसँगै भइरहन्छ, यो भन्दा फरक स्थिति हुँदैन उसको त्यसलै उसको मान्छे जीवन भयानक एकरसतामा डुबेको छ। यस्तो एकरता पशु जीवनमा पनि हुँदैन। ऊ त्यो सनक्याप लगाएर निरीक्षण गरी हिंड्ने इञ्जिनीयर र यो बुढाको पसिनामा निकै अन्तर छ। इञ्जिनीयरको पसिनाले त उसलाई शीतलता दिन्छ किनकि अकिकति पसिना बगाएर ऊ कमाउँछ तर बुढा… पसीना साथी भएको बुढा।

“ए छिट्टो गर छिट्टो माथि ज्यामीहरू हात बाँधेरे बसिरहेका छन्।” “ तीन बजेसम्म सिध्याउन पर्छ अनि चार बजे पछि भोज खाने।” भोजको विज्ञापन दिएर नाइके कराउँदै एकातिर लाग्छ।

“भुत्रो पनि सिद्धिंदैन तीन बजे।”

“लाठे नै नपुगेपछि जति सुकै छिट्टो हात चलाएर पनि के गर्ने र?”

“त्यही मधिस्या फस्छ नि।”

लाठेहरू आपसमा कुरा गर्छन् तर फस्ने कार्यक्रम छैन भारतीय ठेकेदारसँग ऊ कुटिल हाँसो हाँस्दै ओझेलमा बसिरहेको छ। राजधानीभरी यस्ता घरहरू असंख्य बन्दैछन्। भारतीय ठेकेदारहरू नोटबुकमा हिसाब लेख्दै होलान्। सबै नदी नालाको पानीसँगै पैसा पनि ओारलै बग्ने, त्यसै पनि मधिसे व्यापारीलाई नाली भनिन्छ। सोच्दा हुन् नेपाली घरपतिहरू तर आउँछन् त यही यही बिहारी ठेकेदार।

सिमेन्टी भरिएका कराइहरू चढ्दैछन् झर्दैछन् फेरि कस्ता ज्यामीहरू आफ्नो अस्तित्वलाई बिर्सेर काम गरिरहेका छन्। साबेल चल्दैछ, पाखुरीहरू बज्दैछन्, घाम तालुनेरै शासन गरिरहेको छ। बुढा मान्छे जनावर जस्तै चार हात खुट्टा टेक्दै उठ्दै जाँदै आउँदैछ। केही छिनपछि बुढा मान्छेले तुमलेटबाट पेटभरी पानी पिउँछ र गएर गोदाम घरको छहारीमा बस्छ। पोल्टोभित्रबाट एउटा बिंडी झक्छ र सल्काउन अघि फाटेको टोपीले अनुहार एकपल्ट सिनित्तै पुस्छ। यतिखेर पो चिनिन्छ ऊ त रगत सुकिसकेको ख्याउटे नेपाली बुढा रहेछ। अब उसको सही परिचय प्रष्टसँग पोतिन्छ।

पानी पिइसकेर अथवा एउटा बिंडी सिध्याएर पन बुढाको अनुहार एक रक्ति फरक देखिंदैन। बरा घ् ओठ त झन् खस्कँदै जान्छ। उसको हिंडाईप क्रमशः लोसे हुँदै जान्छ। लाग्छ सास ऊ त्यत्तिकै गह्रौं पाराले फेरिरहेको छ। जस्तो उसले बोकिरहेको सिमेन्टीको बोझ। उसको सुस्त सुस्त चलिरहेको पाइलामाथि अचानक नाइकेको आँखा पुग्छ। ऊ कराउँछ, “अलिक चाँडो आसार, बुढा अब सिद्धि नै त लाग्यो ! ”

यी शब्दहरू बुढाको कानमा पर्छ र कुन्नि के सम्झेर हो पश्चिमतिर करूण आँखाहरूले एकपल्ट हेर्छ र बोल्छ मान्छे जस्तै, “हो अब त सिद्धी नै लाग्यो।”

बुढालाई देखेपछि घरपतिलाई कताकता केही शंका लाग्छ ऊ सोझै नाइके कहाँ गएर कानेखुशी गर्छ, “धन्धा मान्नुपर्दैन हजुर, पानी पर्ला जस्तो छैन । चार बजे सिद्धिहाल्छ नि अनि ख्वाउँला नि एकैचोटि। यसरी चुबुर्को ख्वाएर बानी बिगार्नु हुँदैन यिनीहरूको” त्यसपछि ज्यामी भोज पकाइरहेको तिर हेरेर बेस्कन कराउँछ, “ए त्यो मासुमा ल्वांग सुकुमेल हाल्यौं? बिर्सेला है बिर्सेला , त्यही झ्यालनेर छ।”

इन्जिनीयर ज्इामीहरूबीच उभेर लेमुको चुस्की लगाउँदैछ। ऊ यस घरको विशिष्ट पाहुना हो त्यसैले चाहिनेभन्दा बढी मान मनितो पुग्दैछ। साँझको रमझमको ऊ एक झलक कल्पना गर्छ, स्वदेशी विदेशी जेहोस् स्तरीय हुन्छ, लोकल चाहिं पक्कै होइन।

बादल सब छाँटिएर गए, आकाश सफा छ। ज्यामीहरू कैयांपटक पसिनामा नुहाइसके। जेठको घाम अपरान्हमा पनि उस्तै हो। घरपति घडी हेर्छ चार बजेर नाघिसकेछ ज्यामीहरू कति त हात मुख धोएर पनि आइसकेछन्। भोज शुरू हुन्छ, ज्यामीहरू लस्करै बसेका छन्, जाँड पानी चल्न थाल्छ। सबै हाउभाउ छन्। आफ्नो–आफ्नो अघि ओछ्याइएको लेपसतिर सबै केन्द्रित हुँदैछन्। च्यूरा, मासु, केराऊ आलुको अचार झर्दैछ, सिद्धिँदैछ। ज्यामीहरू गानगुन गानगुन गर्न थाल्छन्। “नाइकेले राम्रै खुवायो।”

सम्झेकी छ्यौ? मधिशे नाइकेले कस्तरी फर्सीको झोल र च्यूरामा पारिदियो हगि? घरपतिले त सातको हिसाबले दिएका थिए रे नि घ्”

“गरिबमाराहरू नाफा खानु पनि अचाक्ली खानु, धत्”

“खायो खायो मधिस्याले, कोही बोल्नसकेको होइन क्यारे।”

खानेहरूमा बुढाको उपस्थिति छैन। बुढालाई कसैले देखेन कसैले खोजेन पनि। सबै आफ्नो आफ्नेा मस्तीमा। नाइके मातिसक्यो हल्लिन थालिसक्यो। घरपति भारतीय ठेकेदारलाई वियर खुवाउने कोशिस गर्छ तर ठेकेदार किन खान्थ्यो। उसलाई त होसमा रहनु छ, एक–एक क्षण बिरालो जस्तै चारैतिरबाट सतर्क।

विशिष्ट पाहुनाहरू एक दुई जना गर्दै आउन थालिसकेका छन्। नाइकेलाई जाँडरक्सीको भारी पुगिसकेको छ। ऊ हल्लिँदै, लर्खरिँदै बाहिर निस्कन्छ। यत्तिकैमा एउटी ज्यामी ठिटी खाइसकेको लपेस फालेर हात धुन धारा भएतिर जान्छे। उसलाई देख्नासाथ नाइकेको आँखाको मात अझ रसिलो भएर आउँछ र ऊ पनि एउटा हात कानमा राखी असारेको बेसुरा धुन झक्दै ठिटीको पछि पछि लाग्छ।

ठिटी फनक्क पछि फर्कन्छे र भन्छे, “मलाई हेरेर के गीत भन्छस् मोरा नाइके घ् पन्ध्र जनाको भाग खाइत हालिस्” यो भनाइले नाइकेलाई छुँदैन। कारण भनाइले चिमट्ने मनस्थितिदेखि ऊ अब पार भइसकेको छ। बरू यस भनाईले घरपतिको मनस्थितिलाई खल्बलाईदिन्छ, निमेषभरलाई ऊ अँध्यारो देखिन्छ तर सन्तुलित राख्छ मनलाई।

भोज सिद्धिइसक्यो, कसैले बुढाको खोजी गर्दैन। यत्तिकैमा पहेंलो मिडी र चुल्ठीमा सेतो रिवन बाँधेी घरपपतिको रंगीन पुतलीजस्ती बालिका छोरी गोदामबाट तिखारिएर कराउँदै निस्कन्छे, “ए बाबु… सिमेन्टी ओसार्ने बुढा मान्छे ऊ त्यहाँ गोदाम घरमा रगतै रगतमाथि घोप्टिएर सुतिराखेको छ, छिटो आउनु न छिटो आउनु” आत्तिएर ऊ त्यही ब्रुक बु्रक उफ्रन थाल्छे।

क्षणभरलाई सबै स्तब्ध हुन्छन्। इन्जिनीयर र घरपति हानिएर गोदाम घरभित्र पस्छन्, पछि पछि अरू पनि लाग्छन्, घरपतिले ढाडबाट घच्घच्याएर बोलाउँछ, “ए बुढा बा, के भो?” बुढा बोल्दैन चल्दैन पनि युवा इन्जिनीयरले उसलाई काखीमा समातेर उठाउँछ तर बुढाको शिर लत्रन्छ, हातहरू लत्रक्क खस्छन्, निस्प्राण शरीरको चिनारी दिंदै। इञ्जिनीयरले बुढाको निस्प्राण शरीरलाई रगतको आहालभन्दा बाहिर झकेर सुताइदिन्छ। सबै मौन छन्, कोही केही बोल्न सक्दैन। एकछिनपछि मौनतालाई चिरेर घरपति बोल्छ, “बुढा कहाँको रहेछ, नाइकेलाई सोध्नपर्ने।”

नाइके अलि पर आलीमा त्यहीं पिसाब फेरेर त्यहीं ढलिसकेको हुन्छ। खाना भ्याइसक्ने ज्यामीहरूबीचबाट एउटी ज्यामिनी हुललाई चिर्दै हस्याङफस्याङ गर्दै गोदाम घरमा पस्छे र मार्मिक स्वरमा चिच्याउँछ, “लौ न नि 164 मेरी आम्मै यिनी तर मेरै छिमेकी त्यही डुक्रेनी पानीको, सबैले गोले बा गोले बा भन्छन्। नाउँ त यिनको बलबहादुर गोले हो। घरमा छोरा बुहारी छ। विरामी त हुन यिनी। छनोरा बुहारीले खान दिंदैन, उनीहरूले पनि कहाँबाट दिउन? घरभरी लालाबाला छन्। हे दैव घ् मान्छेको काल कहाँ कहाँ लेखिएको हुँदोरहेछ। आफ्नो के गत हुने हो।” ऊ पछ्यौरीले आँशु पुछ्न थाल्छे।

घरपतिको पनि आँखा रसाएर आउँछ भर्खाको अतित सम्झेर, नाइकेलाई अलि खानपीन चलाऊ भनेको त हो नि। निकै सस्तो मृत्यु भयो यो त। त्यसपछि उसलाई लाग्छ, यी साराका सार विशिष्ट खानपीनहरूको स्वाद र सुगन्ध एकसाथ उडिसकेको छ। अब यी बोतलहरूमा कुनै नशा बाँकी छैन।

ओझेलभित्र रहस्यमयी आँखाले यताउता हेरेपछि भारतीय ठेकेदारले आफ्नो डायरीबाट एउटा नाउँ काट्छ, बलबहादुर गोले। यसरी विचरा नेपालीहरूको हाड करङले आलिशासन घरहरू बदैछन्, यहाँ नगरभरी नै। भातरीय ठेकेदारहरू यसरी ओझेल–ओझेलमा बसेर नाउँ काट्दै लेख्दै गर्दैछन्।

(स्रोत : पारिजात संकलित रचनाहरू, ग्रन्थ ३ बाट)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.