~राजेश नेपाली~
एक्काइसौं शताब्दीमा पनि पछि पर्यौं दलित
शोषकको चेपटामा सधै तिमी मर्यौ दलित
यिनले पुज्ने मन्दिरमा तिम्रो नाता गहिरो छ
आज तिमी पस्न हुन्न हिजो बुट्टा भर्यौ दलित
शोषकको चेपटामा सधै तिमी मर्यौ दलित
ओइलाएर खडेरीले सारा बोट मर्दा पनि
फुल बनेर सबैलाई मिठो सुवास छर्यौ दलित
शोषकको चेपटामा सधै तिमी मर्यौ दलित
वर्षाझरी हिउँदभरी मरीमरी काम गरी
माथि ल्यायौ अरुलाई आफूलाई के गर्यौ दलित
शोषकको चेपटामा सधै तिमी मर्यौ दलित
यो धर्ती सिंगार्नेलाई माटो मुछ्दै रगतले
आफ्नो वली चढाउन तिमी अघि सर्यौ दलित
शोषकको चेपटामा सधै तिमी मर्यौ दलित
खाँचीकोट–२, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २९ – २०६७ जेष्ठ २६ गते, बुधबार )