~तीर्थ संगम राई~
अरव महासागरको बिचमा
रेगिस्थानको यो धरातलमा
घामको तातो राप खपेर
शिशिरको चिसो सिरेटो सहेर
कयौंको सपनाहरु पुरा गर्दै
समुन्द्रि छालसँग बयेली खेल्छ
मान्छे नै मान्छेको यो शहर
टाउकै टाउकाले भरिएको भीडहरु
तरवार गेट को वारी पारी
जेद्धा टावरको वरीपरी
नेशनलको चौक र गल्लि भरी
छरपस्ट छताछुल्ल देख्छु
अलदिया र अलखोरको पाखा भरी
मान्छे नै मान्छेको यो शहर
कतै बिरह बोकेका आँखाहरु
कतै हाँसो भरेका ओठहरु
शहरको भीडमा सल्बलाएको
श्रमजिवी हातखुट्टाहरु
साता भरीका थकान बिर्षेर
आफन्तहरुको गफमा मख्ख देख्छु
मान्छे नै मान्छेको यो शहर
आफुले आफैलाई बेचेर
बिदेसीनुको सत्यतालाई
कहिले मेनपावरको नाममा
कहिले आफन्तको टाउकोमा
एकमुष्ट दोष थुपारेर
आफुहरु दोष मुक्त हुन खोज्छन
मान्छे नै मान्छेको यो शहर
थोरै मान्छेहरुको महत्वाकाक्षाहरु
भताभुङ्ग र लथालिङ्ग भएपिन
धेरै मानिसहरुको सपनाहरु
यहि शहरले पुरा गरेको छ
कोहि दुत्कारछन्/कोहि सत्कारछन
मानौ यो कुनै आर्यघाट वा देवालय हो
मान्छे नै मान्छेको यो शहर
यो शहर हो तिम्रो सपनाको
यो शहर हो तिम्रो यथार्थको
जहा तिमी आउन लालायीत थियौ
र जहा बसेर तिमीले आफ्नो
जहान परिवारलाई पालि रहेकाछौ
जुन शहरको अग्ला होचा फराकिला
भवन प्लान्ट र सडकहरु बनायौ
कयौं गौरवशालि चमत्कारहरु
तिमीले नदेखेका नभोगेका दृश्यहरु
यो शहरमा देख्न भोग्न पाएकाछौ
यहि शहरले तिमीलाई श्रम दिएकोछ
तिमीलाई सवल मानव बनाएको छ
म त भन्छु यो हो सुनै सुनको शहर
परिश्रमी मान्छे नै मान्छेको शहर
रेगिस्थानमा पसिना बगाउने ती श्रमजीबिहरु – बालुवामा गुराँस फूलाउने ती कलमजीविहरु – मा यो कविता समर्पित गर्दछु ……………
~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार
(स्रोत : रचनाकारको ब्लगबाट सभार)