~विपुल सिजापति~
लगभग चार वर्षको अन्तरालपछि फेरि अध्यात्माको फोन आयो । एक मनले त नउठाउँ जस्तो पनि लाग्यो, फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त ? उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन्, “सरोज के छ हालखबर, मलाई बिर्सियौ हगि ?”
“मैले के सम्झनु के बिर्सनु ?”
“अनि के गर्दै छौ ?”
“यत्तिकै छु ।”
“तिमीलाई भेट्ने साह्रै इच्छा छ, त्यसैले त्यहाँ आउँदै छु ।”
“ए, अनि त्यस्तो के पर्यो र मलाई भेट्नुपर्ने ?”
“किन तिमी मलाई भेट्न चाहँदैनौ ?”
……………………
“तिमीलाई भेटेर धेरै कुराहरू गर्नु छ, प्लीज सरोज ।”
“कैले आउँदै छौ ?”
“चार–पाँच दिनभित्र त्यहाँ आइपुग्छु, म एक्लै आउन लागेको । एक–डेढ महिना बस्छु । सानो काम छ । होटलमा रिजर्भेसन पनि गरिसकेँ । मात्र तिमीलाई भेट्ने इच्छा छ, यदि तिमी अनुमति दिन्छौ भने ।”
“ठीकै छ, तर तिम्रो माइती हुँदाहुँदै किन होटलमा बस्ने नि ?”
“तिमीसँग राख न त… (हाँसो), होइन त्यहाँ अलि अप्ठेरो छ । वास्तवमा म आउने कुरा कसैलाई भनेकी छैनँ ।”
“ल ल, आऊ अनि कुरा गरौँला यस बारेमा ।”
अध्यात्मालाई म कलेज पढ्दा ताका प्रेम गर्दथेँ । मैले एकदुई पटक यस बारेमा उनीसँग कुरा राखेको पनि थिएँ तर उनले हाँसेर मात्र ल ल भई हाल्छ नि,” भनेर टारिदिएकी थिइन् । उनी मसँग हरेक विषयमा खुलेर कुरा गर्दथिन् । पढाइदेखि लिएर उनका हरेक व्यक्तिगत तथा घरायसी समस्याहरूको बारेमा समेत मसँग सल्लाह लिन्थिन् । म उनको जीवनको एक खास व्यक्ति भएको थिएँ र हामीलाई चिनेका साथीहरूले हाम्रो विवाह पनि हुनेछ भन्ने अडकल लगाउँथे ।
म अलि निम्न परिवारको तर अति जेहेन्दार विद्यार्थी थिएँ । अध्यात्मा खानदानिया घरानकी भए तापनि उनी निस्फिक्री मसँग हिँड्न–डुल्न रुचाउथिन् । परिआएको बखतमा मलाई निकै सहयोग पनि गर्थिन् । धेरैपटक म उनको घरमा गएको थिएँ । उनका बुबामुमाले पनि मलाई रुचाउथे, आदर गर्थे । परिवारको सदस्यझैँ म उनको घरमा हुने कुनै पनि कार्यक्रममा छुटदिनथेँ ।
एम.बी.ए. को सुरुवात हामी दुवैले सँगै गर्यौ तर पढाइ सुरु भएको पाँच महिनापछि उनी एक्कासि चौध–पन्ध्र दिन कलेज आइनन् । परीक्षाको तयारी गर्नुपर्ने भएकोले म उनको घरमा खोज्दै गएँ तर उनी त्यहाँ पनि थिइनन् । उनकी मुमाले “बाहिर गएकी छे” मात्र भन्नुभयो । गायब भएको बीसौँ दिनमा उनी मेरो डेरामा आइन् । उनको हालत देख्दा उनी निकै गहिरो सोचमा भएजस्तो लाग्दथ्यो । “के भयो महारानी ?” मैले अवस्थालाई साधारण बनाउने कोशिश गर्दै सोधेँ । उनले एक छिन मलाई ट्वालट्वालल्ती हेरिन् र दौडेर आई मलाई अङ्गालो हाल्दै भक्कानेर रोइन् । मैले केही बुझ्न सकिन ।
“के भयो ?” “सरोज, मैले विवाह गर्ने निश्चय गरेँ ।” मलाई अप्ठेरो भयो । म विवाह गर्ने अवस्थामा थिइनँ । म उनलाई प्रेम गर्थेँ तर पनि उनी अकस्मात् यो कुरा भन्न आउलिन् भनेर मैले सोचेको पनि थिइनँ, म बोल्न सकिनँ । एकछिनको शान्तिपछि उनी आफै बोल्न लागिन् । “सरोज, यु.एस. बाट ऋषभ आएको छ, म उसैसँग बिहे गर्दैछु ।” मलाई एकै घुट्कामा हजारौँ लिटर तेजाब पिए जस्तो भयो । मैले मेरो बारेमा सोचेको थिएँ तर त्यहाँ कुरा बेग्लै थियो ।
ऋषभसँग अध्यात्माको मावलीतिरबाट नाता पर्थ्यो । उसको बारेमा उनले कहिलेकाहीँ मलाई भनेकी पनि थिइन् । ऊ अध्यात्मासँग सात कक्षासम्म एउटै स्कुलमा पढेपछि बाबुआमासँग अमेरिका गएको थियो ।
“मलाई नेपाल छाडेर जाने इच्छा छैनँ, पढाइ पनि पूरा भएको छैन तर पनि ऋषभ जिद्दी गर्दैछ, अहिले नै विवाह गरेर जानलाई । भन त, म के गरुँ ?” म के जवाफ दिन सक्थेँ । सोधेँ, “अनि तिम्रो के विचार छ त ?”
“ऊ यहाँ आएको दिनदेखि नै म ऊसँगै थिएँ, त्यसैले कलेज पनि आइनँ, ऊ मलाई औधी माया गर्छ, म पनि मन पराउँछु, परिवारका सबैजना विवाहको लागि तयार छन्, भन न म के गरुँ ?”
“तिम्रो आत्मालाई जे ठीक लाग्छ त्यही गर ।”
“सरोज, तिमी पनि मलाई माया गर्छौ हगि ? मैले धोका दिएको त ठानेका छैनौ ? मैले कहिल्यै त्यो रूपमा तिमीलाई लिइन ।”
“तिमी आफ्नो बारेमा सोच । यहाँ के छ र ? त्यहाँ जिन्दगी छ, र आफ्नो इच्छा नै त्यही भएपछि तिमीले विवाह गर्नु नै बेस होला । आखिर परिवारको इज्जत र आकाङ्क्षा पनि त केही हो नि ।” मैले मुटु निचर्दै भने ।
“तिमीलाई मेरो बारेमा सबै थाहा छ । मलाई राम्ररी बुझ्दछौ पनि, के मैले यही गर्नु ठीक होला त ?”
“हो, त्यसै गर ।” मैले मृतप्रायः भएर जवाफ दिएँ । जाने बेलामा ढोकाबाट बाहिरिइसकेकी अध्यात्मा फर्केर आइन् र मेरा दुवै हात आफ्नो हातमा लिएर भनिन्, “सरोज, म तिमीलाई कहिल्यै बिर्सन्न ।” उनको विवाहको केही दिनअघि मेरो बुवा बित्नुभएकोले म जान सकिन । त्यस पछिका वर्षहरू मैले आफ्नो पढाइ र क्यारियरतिर लगाएँ । बेला बेलामा मलाई उनको अभाव निकै खट्किन्थ्यो ।
एयरपोर्टमा उनी एक्लै आएकी थिइन् । उनको अनुहारमा केही उदासी भए पनि आँखामा चमक थियो । नजिकै आएर धेरै बेर उनले मलाई हेरिरहिन् । सार्वजनिक स्थानमा भएको हुँदा मलाई अप्ठेरो भयो र भनेँ, “जाऊ, गाडीमा कुरा गरौँला ।” “मलाई होटलमा छोडिद्यौ ।”
“हैन, मैले त तिमीलाई आफ्नै फ्ल्याटमा बस्ने व्यवस्था मिलाएको छु ।”
“अनि मेरो बुकिङ्ग ?”
“मैले क्यान्सल गर्दिसकेँ ।”
“घरमा जहिले पनि फोन गर्दा म तिम्रो बारेमा सोधिरहन्थेँ ।”
…………………………………………
“तिमीले अहिलेसम्म बिहे किन नगरेको ?” तिमीबाहेक अरूलाई मन नपराएकोले भन्न मन लागे पनि मुखबाट निस्कियो, “फुर्सद नभएर नि ।” उनी धीत मारेर हाँसिन् । उनमा पहिलेकै स्वच्छन्दता कायमै थियो । खालि देश अनुसारको पहिरन मात्र फरक थियो । “अनि के काम हो त त्यस्तो ? माइतमा पनि खबर नगरेर सुटुक्क आएकी ?”
उनको अनुहार गम्भीर भयो । भनिन्, “एउटा ठूलै समस्या छ, तिमीबाहेक अरूसँग त्यो भन्न पनि सक्दिन ।” फ्ल्याटमा आएपछि उनी दङ्ग परिन् । चारैतिर नियालेर कुहिनाले हान्दै भनिन्, “तिमीले त निकै प्रगति गरेछौ, फ्ल्याट, गाडी, के हो.. हुँ…. ?” “यो फ्ल्याट मैले किनेको हो अनि गाडी अफिसले दिएको । म बैङ्कमा काम गर्छु ।” “तिमी त अझै पनि पहिले जस्तै ह्यान्डसम् रहेछौ ।”
“मेन्टेन गरेको छु ।”
“सरोज, मेरो खानाको लागि तिमीले केही गर्नु पर्दैन । म धेरैजसो बाहिरै हुन्छु ।”
“किन नि ?” “भनिहाले नि, मेरो अलिकति काम छ भनेर । तर कसैलाई नभन्नु म यहाँ आएको छु भनेर ।”
“हस् ।”
भोलिपल्ट निस्केकी अध्यात्मा पाचौँ दिन साँझ मेरोमा आइन् । म अफिसबाट भर्खर फर्केको थिएँ । उनले मलाई साँझ कुनै होटलमा डिनर खान जाने प्रस्ताव गरिन् । डिनरसँगै हामीले वाइन पियौँ र फर्कदा उनले अर्को दुई बोतल वाइन लिइन् । मैले अरू वाइन लिनुको कारण सोध्दा भनिन्, “सरोज, आज तिमीसँग धेरै कुरा गर्नु छ ।” हामी फ्ल्याटमा आयौँ । उनी फेरि पिउन थालिन् ।
“बुझ्यौ सरोज, उनी अलि धेरै मातमा पुगिसकेकी थिइन्, “मेरो जिन्दगी पनि कस्तो अभिशाप, कस्तो बन्जर………”
“के भयो त्यस्तो ?” “तिमी केही बुझ्दैनौ सरोज……केही बुझ्दैनौ, आज बिहे गरेको चार वर्ष भयो, मैले कहिल्यै शान्ति अनुभव गरेकी छैन, कहिल्यै राम्ररी हाँसेकी छैन, कहिल्यै निदाउन सकेकी छैन ।”
“भन न त, के भयो त्यस्तो ?” “तिमीलाई भन्न नै त म यहाँ आएकी छु । तिमी मलाई माया गथ्र्यौ र पनि मैले तिमीलाई अँगाल्न सकिन । ऋषभ पनि मलाई औधि माया गर्छ तर ऊ आफ्नो परिवारको अगाडि केही बोल्दैन, मेरो पक्ष लिन सक्दैन, नो वडी केयर माइ विसेज्……स्याडिस्ट लोज्…..”
“सरोज, म कसरी आफ्नै आत्मासँग सम्झौता गरूँ ? उनीहरू किन बुझ्दैनन् मेरो भावना ?” मैले उनको कुरा केही बुझिरहेको थिइन । सायद धेरै नै लागेछ क्यारे, अङ्ग्रेजीमा नानाथरी बर्बराउन लागिन् ।
“ल भो, अब प्युँन पर्दैन ।”
“म ठीक छु सरोज, तिमीलाई थाहा छ, तिम्रो प्रेम लत्याएको पाप लागेको हो मलाई । मैले तिमीलाई धोका दिएको पाप हो यो । म आज प्रायश्चित गर्न चाहन्छु । सरोज, म पानीभित्र भएर पनि प्यासी नै छु, आज म मन खोलेर तिमीलाई माया गर्न चाहन्छु । आज तिमीलाई म आफूलाई सुम्पन चाहन्छु ।” “तिमीलाई धेरै नशा चढेछ ।”
“होइन सरोज…, मेरो आखाँमा हेर त…, म कति दिनदेखि अनिदो छु, मेरो ओठमा हेर त…, म कति दिनदेखि प्यासी छु, म बञ्जर छु, जिन्दगी मरुभूमि भएको छ, आज मलाई सिँच, मलाई जन्मजन्मान्तरका लागि तृप्त पारिदेऊ, प्लीज सरोज….., यस बाहेक अरू मलाई केही चाहिन्न, आज मलाई माया गर………..माया गर……..” त्यस रात जे नहुनु थियोे, भयो, पटक पटक भयो । मैले नचाहँदा नचाहँदै पनि मेरो गल्ती भयो या मैले भिखारीलाई भिक्षा दिएँ, खुट््याउन सकिन ।
भोलिपल्ट बिहान म अफिस जान लागेको बेलासम्म उनी सुतिरहेकी थिइन् । साँझ फर्कदा उनी कोठामा थिइनन्, मैले खोज्दा पनि खोजिन । पाँच दिनपछि उनी फेरि मेरो कोठामा आइन् । मैले उनीसित आँखा जुधाउन सकिन तर उनी हाँस्दै मेरो नजिक आइन् र सोधिन्, “किन लाज मानेको ?”
म केही बोल्न सकिनँ ।
“जे भयो भयो, त्यसमा कुनै पश्चाताप गर्नु छैन, मलाई कुनै अफसोच छैन भने तिमीले पनि त्यो मनमा लिनु जरुरी छैन ।”
“तर…….”
“भो अब, केही भन्नु पर्दैन । म एक हप्तापछि अमेरिका फर्केर जाँदैछु । त्यसैले बाँकीका दिन अब म तिमीसँगै बिताउँछु ।”
“अनि तिम्रो काम, सबै भयो त ?”
“सबै भयो, अब कुर्नु मात्र छ ।” उनले केही लाज मानेझैँ गरेर भनिन् । मैले केही बुझिन ।
त्यो एक हप्ता उनी मसँगै बसिन् । त्यो बसाइमा उनले मलाई कहिल्यै खल्लो महसुस हुन दिइनन् । हामीसँगै खाना बनाउँथ्यौं, गफ गर्थ्यौँ । हाम्रो भेट भएदेखिका, साथीहरूका, कलेजका रमाइला कुराहरू सबै समेटिए हाम्रो गफमा । उनले मेरो बारेमा पनि सोधिन् । मैले बुवा बितिसक्नुभएकोले आमा एक्लै गाउँमा बसिरहनुभएको बताएँ । महिनैपिच्छे म घर जाने, आमाको देखभाल गर्ने र त्यसको लागि एउटी गाउँकै आइमाईलाई जिम्मा लगाएको कुरा बताएँ । आमा यहाँ एक्लै बस्न नरुचाउने भएकोले आउँदो साल बिहे गरी आमालाई पनि सँगै राख्ने विचार गरेको बताएँ ।
एयरपोर्टमा उनलाई छोड्न जाँदा उनी मसित धेरैबेर अँगालिएर बसिन्, बडो कठिनाइका साथ उनी मसँग बिदा भइन् । फर्किएपछि मलाई पनि कोठा तर्साउने भूतजस्तै लाग्यो । दुई दिनको उनको साथले बानी पो भएछ कि !
करिब एक महिनापछिको शनिवार, म कोठा सफा गर्दै थिएँ । अध्यात्मा सुतेकी कोठाको बेड मिलाउँदा सिरानीमुनि उनको सानो पर्स भेटाएँ । खोलेर हेर्दा केही डलर, नेपाली रुपियाँ र सहरको ख्यातिप्राप्त गाइनोकोलोजिस्ट डा. करुणाको बिजनेस कार्ड भेटेँ । डा. करुणा हामी दुवैको अति मिल्ने साथी भएकी हुँदा मैले उनलाई भेट्न फोन गरेँ । उनले भोलिपल्ट क्लिनिकमा आउन भनिन् ।
म भोलिपल्ट डा. करुणाको क्लिनिकमा गएँ । सामान्य भलाकुसारीपछि उनले म आउनुको कारण सोधिन् । मैले उनलाई उनको बिजनेस कार्ड देखाएँ । त्यो कार्ड देखेर करुणाले भनिन्, “सरोज, अध्यात्मा यहाँ मलाई भेट्न आएकी थिइन् । उनको एउटा समस्या थियो तर उनले कसैलाई पनि उनी आएको कुरा नभन्नु भनेकी थिइन्, तिमीलाई पनि ।”
“मलाई पनि !” मलाई आश्चर्य लागेर आयो तापनि उनी मकहाँ बसेको कुरा भनिनँ, सोधेँ, “ठीकै छ, किन आएकी थिइन् त ?”
“आउनुअघि उनले मलाई अमेरिकाबाट फोन गरेकी थिइन् । विवाहको चार वर्षसम्म पनि ऋषभबाट सन्तान भएको थिएन ।
उनका सासू ससुरा कृत्रिम गर्भाधानबाट भए पनि बच्चा चाहन्थे, उनी मान्दिन थिइन्, यो कुरामा ऋषभ केही बोल्न सक्दैनथ्यो । आखिर परिवारको कचकचको अगाडि उनले हार खाइन् । उनले त्यतै कृत्रिम गर्भाधान गर्नेबारे सोचेकी थिइन् तर त्यता कृत्रिम गर्भाधान गर्दा सन्तान नेपालीजस्तो नदेखिए अप्ठेरो पर्ने भएकोले उनी यहाँ आएकी थिइन् ।”
“अनि तिमीले कृत्रिम गर्भाधान गरिदियौ त ?”
“अहँ, यहाँ कृत्रिम गर्भाधान गर्दाखेरि बाबुको बारेमा केही थाहा हुँदैनथ्यो, अध्यात्मा भने सबैतिरबाट स्वस्थ्य, जेहेन्दार र आकर्षक पुरुष चाहन्थिन्, जुन सम्भव थिएन । तर अमेरिका जानुभन्दा अगाडि उनी यहाँ चेकअप गराउन आएकी थिइन्, त्यसवेला मैले उनलाई गर्भवती भएको पाएँ, म पनि छक्कै परेँ भन्या ।”
“हँ …!”
“सरोज, प्लीज, यो कुरा कसैलाई नभन है ।”
मैले केही बोल्न सकिनँ, भित्र कतै आफू नराम्ररी ठगिएको महसुस गरेँ ।
(स्रोत : कथा-सङ्ग्रह “कास्कोल”बाट )