~अजित बराल~
दसैं भर्खरै सुरु हुँदै थियो । बिहान चिसो हावाको सिरेटो चल्न थालेको थियो । आकाश फोक्सुन्डो तालजस्तै कञ्चन नीलो हुन थालेका थियो । एक किलोमिटर जति टाढाको बिन्ध्यबासिनी मन्दिरका घन्टीहरू बजिरहेका थिए । र, मानिसहरू बिहानको मन्दिर दर्शन गरेर आ–आफ्ना घर फर्कंदै थिए ।जताततै चाडपर्वको रौनक थियो । तर, घरमा– साकारको घरमा– भने ताण्डव सुरु हुन थालेको थियो । साकार कोठामा लुकेर नीलो ग्यालिसवाला पाइन्ट लगाउँदै थियो, उसका बाले देखिहाले । ‘कहाँबाट आयो यो ?’ पाइन्टतर्फ इसारा गर्दै बा च्याँठ्ठिए । त्यो पाइन्ट पल्लो घरको केटाको थियो, जसको ओंठ काट्टिएको थियो । साकार चुप लागिरह्यो । ‘कहाँबाट पाइस् यो,’ बाले अझ चर्को स्वरमा भने । साकार खङ्ग्रङ्ग भयो ।‘तैंंले चोरेको हो ?’ उसका बाले सोध्न छोडेनन् । ऊ फेरि चुप लागेर बसिरह्यो । उसको अनुहारमा डरको कालो बादल मडारिन थाल्यो ।
साकार जाती नै थियो । आफ्ना बाआमालाई यो चाहियो, त्यो चाहियो भनेर ऊ कहिल्यै माग गर्दैनथ्यो । उनीहरूले जे किनिदिन्थे, ल्याइदिन्थे त्यसैमा ऊ खुसी हुन्थ्यो ।
तर केही दिनअगाडि खै उसलाई के भयो, पल्लोघरको ओंठ काट्टिएको केटाको जस्तो ग्यालिसवाला पाइन्ट दसैंमा चाहिन्छ भनेर मरिहत्ते गरेको थियो ।हुक्का खान र कुराकानी गर्न आफ्नो आँगनमा भेला भएका छिमेकीहरूको अगाडि त्यो छिमेकी केटोका बाले छोरालाई त्यो पाइन्ट लगाइदिँदै भनेका थिए, ‘अस्ति काठमाडौंंबाट ल्याइदिएको । अलि महँगो पर्यो तर राम्रो छ, छैन त ?’छिमेकीहरूले मुन्टा हल्लाएका थिए ।पाइन्ट अलिकति ठूलो भएको थियो केटोलाई । मोहोतोले भुइँ बढाथ्र्यो । कम्मर पनि ठूलो थियो तर काँधमा अड्काइएको फिताले पाइन्टलाई खस्न नदिने हुनाले केही हुँदैन थियो ।
‘अलिकति ठूलो भएछ,’ केटोका बाले पाइन्टको मोहोतो पट्याउँदै भनेका थिए, ‘तर केही हुँदैन । कट्राइज हो एक दुईपटक धोएर सुकाएपछि सानो भइहाल्छ ।’त्यसपछि उनले आफ्नी श्रीमतीलाई पाइन्ट धुन दिएका थिए । त्यही पाइन्ट धोएर सुकाउँदा साकारले चोरेछ कि ? उसको बालाई शङ्का लाग्यो ।
‘सुनिनस् ? तैंले चोरेको हो भन्या ?’ बा झन् पड्किए । साकारको अनुहारको कालो बादल फाट्न लाग्यो । ऊ लुते–लुते भएर कोठा बाहिर आँगनमा आयो ।
उसको मौनताले उसलाई दोषी ठहराइरहेको थियो । उसका बाले उसको अनुहारमा थप्पड हाने । यति जोडले थप्पड हानेछन् कि ऊ पछारियो भुइँमा, डङ्ग्रङ्ग । ऊ रुन थाल्यो । ठूल्ठूलो स्वरमा । उसको आँसु झरे आँखाबाट, तरर्र । उसको रुवाइले पल्लो घरका सबै बाहिर निक्ले । आफ्नो ग्यालिसवाला पाइन्ट साकारले लगाएको देखेर छिमेकको त्यो केटो चिच्यायो, ‘मेरो पाइन्ट !त्यो केटोकी आमाले पनि देखिन् छोराको पाइन्ट साकारले लगाएको । उनी पनि कराइन्, ‘हिजो धोएर बाहिर सुकाएको थिएँ, यसले पो चोरेछ ।’
उनी साकार नजिक आइन् र भनिन्, ‘ओइ चोर केटा, फुकाल् पाइन्ट ।’साकारका बा सोझा थिए । गाउँमा सबैले मन पराउँथे, नैतिकवान छ भन्थे । उनी आफैं पनि आफ्नो इमानदारीमा गर्व गर्थे । छोराले अर्काको पाइन्ट चोरेछ, उनलाई असह्य भयो । उनले साकारलाई नाङ्गो बनाइदिए, गोठबाट गाई बान्ने दाम्लो लिएर आए र अनि दाम्लोले उसको खुट्टा बाँधेर आँगनछेउको आँपको रूखको हाँगोबाट उसलाई झुन्डाइदिए । साकार झन् कराउन थाल्यो ‘आमाऽऽ’ भन्दै । उसको बालाई झन् रिस उठ्यो । उसको नाङ्गो पुट्ठामा आगँनमा माझेर राखेको दाबिलोले सुम्ल्याइदिए । साकार कहालिँदै करायो ।
छोरा रोएको सुनेर बारीमा काम गरिरहेकी साकारकी आमा आइन् र रमिते बनेर बसेको पल्लाघरका बाआमाका सहयोगमा छोराको बाँधिएको खुट्टा खोलिदिइन् । र, आफ्नो बूढासँग रिसाउँदै भनिन्, ‘धन्न मारेका थियौं ।’ ‘राम्रो हुन्थ्यो, चोर त मरेकै जाती ।’ साकारका बा फन्किँदै हिँडे । फर्के पल्लो घरका पनि, ग्यालिसवाला पाइन्ट लिएर ।
साकार आँगनमा बसेर रोइरह्यो धेरै बेरसम्म । उसले खाना पनि खान मानेन । अनि दिनभरि भुइँ कोट्याउँदै बसिरह्यो । ‘बिहानदेखि केही खाको छैन, गएर फकाउनुस् के !’ साँझ साकारकी आमाले बूढालाई भनिन् ।‘साँझ परिसक्यो आउन्नस् भित्र ?’ बाले भने । साकार चुपचाप बसिरह्यो ।
‘ल आइज भित्र । हेर्, मैले के ल्याइदिएको छु ।’ उनका हातमा चारवटा सुन्तला मिठाई थिए । साकारले बाको हातमा हेर्यो एकैछिन र तुरुन्तै मुन्टो बटार्यो । ‘खान्नस् ?’
उसले मुन्टो बटारिराख्यो । ‘तँलाईं त्यस्तै पाइन्ट चाहिएको होइन ?’बल्ल उसले मुन्टो सोझ्यायो । ‘ल भोलि किन्दिम्ला, आइज अब ।’ उसले बालाई हेरिरह्यो तर भित्र जाने केही संकेत दिएन ।
‘ढाँटेको होइन । पक्का किनिदिन्छु, आइज अब ।’उसको अनुहार उज्यालियो । ऊ उठ्यो । र, घरभित्र पस्यो । बिहानको त्यो कुटाइ, दिउँसोको त्यो आफ्नो घुर्की सबै बाहिरै छोडेर । राति ऊ बासँगै सुत्यो । र, निद्रामा बालाई सोध्यो, ‘त्यो ग्यालिसवाला पाइन्ट किन्दिनुहुन्छ नि, बा ?’ ऊ बोलेको सुनेर उसको बा ब्युँझे र उसलाई हल्का धक्का दिए । ऊ बोल्न छोड्यो । तर फेरि एकछिनपछि उसले त्यही प्रश्न गर्यो ।
भोलि बिहान उठ्नेबित्तिकै पनि साकारले बालाई पाइन्टकै कुरा गर्यो । ‘ल्याइदिन्छु भनेसी नि कति किचकिच गर्या,’ बा रन्के । ऊ चुप लाग्यो । तर, ऊ धेरै समय चुप लागेर बस्नेवाला थिएन, उनलाई थाहा थियो । त्यसैले उनले दिउँसो महेन्द्रपुलका कपडा पसलहरू सबै चहारे । तर, ग्लालिसवाला पाइन्ट उनले कतै फेला पारेनन् । र, ‘किन किन्दिन्छु भन्नुपथ्र्यो’ भन्दै आफैंलाई सराप्दै घर फर्के ।
तगारोमा उनलाई देख्नेबित्तिकै साकार हुत्तिँदै आयो उनीसामु र सोध्यो, ‘ल्याइदिनुभयो, बा ?’
‘कति खोजेंं तर पाइनँ, बाबु ?’
‘ढँटुवा ।’ ऊ रिसाउँदै हिँड्यो । र, रात पर्दासम्म घर देखा परेन । चिन्तित हुँदै उसका बाले उसलाई जताततै खोजे तर ऊ कतै भेटिएन । ऊ गोठमा राखिएको नलमाथि सुतिरहेको रहेछ । उसकी आमाले राति गाईभैंसीलाई नल दिन जाँदा पो उसलाई देखिन् र घर ल्याएर खाना खुवाउन खोजिन् । तर, उसले खानै मानेन । उसका बाले ग्यालिसवाला पाइन्ट जसरी पनि ल्याइदिन्छु भन्ने वाचा फेरि गरेपछि मात्र उसले भात खान मान्यो । छोरालाई खुवाउन वाचा त गरे तर पाइन्ट कहाँबाट, कसरी पो ल्याउने ? काठमाडौंमा पाइएला कि ? पल्लोघरेले नि त्यहींबाट ल्याएको त हो, उनले मनमनैं भने । सोचे, शिक्षा मन्त्रालयमा जानु छ, अहिलै गए एक पन्थ दुई काज हुन्छ । उनी भोलि बिहानै काठमाडौं हानिए । शिक्षा मन्त्रालयको काम सक्दा ४ बजिसकेको थियो । त्यसपछि उनी न्युरोड आए पाइन्ट खोज्न । जताततै खोजे, पाएनन् । उनले सोचे, एकपटक विशाल बजारमा गएर हेरम् कि ? सौभाग्यवश, त्यहाँको एउटा पसलमा छोरोले खोजेको जस्तो पाइन्ट रहेछ, कट्राइजले बनेको । त्यसलाई ओल्टाईपल्टाई हेरे । ‘साहुजी,’ उनले सोधे, ‘बाह्र वर्षको बच्चालाई यो ठीक होला ?’
‘हुन्छ, हुन्छ, दाइ,’ साहुजीले भन्यो, ‘मेरो बाह्र वर्षको छोरोले त यही लगाइराखेको छ ।’ त्यसो भने ठीकै होला, उनले सोचे । र, किनें । राति सुन्धाराको होटलमा बास बसेर उनी बिहान पोखरा फर्के । घर आइपुग्दा छोरो घरमा थिएन । उनले छोरीलाई भाइलाई लिएर आइजा भने । भाइलाई बोलाउन ऊ दौडी । साकार आफ्ना साथीहरूसँग चौवाटोमा गुच्चा खेलेर बसिरहेको थियो । दिदीले उसलाई ‘घर जा रे’ भनी ।
‘तँ जा, म पछि आउँछु,’ उसले भन्यो । तर दिदीले जब बा फर्कनु भएको र उसलाई पाइन्ट ल्याइदिनुभएको कुरा सुनाई ऊ गुच्चा छोडेर घरतिर हस्याँङ–फस्याँङ गर्दै दौडियो । घर पुग्नेबित्तिकै साकारले पाइन्ट लगायो । बाले उसलाई भने, ‘ठ्याक्क मिलेछ त । मिल्दैन कि भन्ने डर थियो ।’उसकी आमाले भनिन्, ‘कति राम्रो देखिएको हो मेरो छोरालाई ।’साकार प्रफुल्ल भयो । र, साथीहरूलाई नयाँ पाइन्ट देखाउन दौड्यो ।
उसकी आमा कराइन्, ‘ए बाबु, पाइन्ट फेरेर जा । दसैंमा लगाउने, मैलिन्छ ।’उसले आमाको कुरा सुनेको नसुनै गर्यो ।
ऊ सासै नफेरीकन साथीहरू भएका ठाउँमा गएको थियो । अनि स्वाँस्वाँ गर्दै उनीहरू अगाडि अभिरह्यो । उसका साथीहरूले उसलाई दङ्ग परेर हेरिरहे । ‘मेरो ग्यालिसवाला पाइन्ट,’ साकारले भन्यो आफ्नो बुढीऔंलाले पाइन्टका लचकदार फिता तान्दै, ‘यो खु…को भन्दा राम्रो छ ।’
‘मलाई जे पनि नभन् है,’ केटोले भन्यो । ‘ल, ल भन्दिनँ । तर मेरो पाइन्ट तेरोभन्दा राम्रो छ के रे ।’
‘खुब छ ।’
‘छ,’ साकारले भन्यो ।
उसका साथीहरू विश्वस्त भएनन् । ‘छ है ?’ उसले आफ्नो दाहिनेपट्टि बसेको साथीको आश्वासन खोज्यो ।
‘खै उसको कस्तो छ, मैले देखेको छैन,’ त्यो साथीले भन्यो ।
‘तैंले देखेको छस्,’ साकारले अर्को साथीलाई सोध्यो ।
‘छु,’ त्यो साथीले भन्यो । अनि एकछिन साकारको पाइन्ट नजिकबाट नियाल्यो । ‘खै मलाई त दुवै उस्तै–उस्तै लाग्यो । खालि तेरो पाइन्टको कम्मरमाथिको भागमा केटा र केटीले हातसमातेको चित्र र लभसाइन बुनिएको छ, त्यसकोमा छैन ।’‘त्यही चित्रले गर्दा त मेरा पाइन्ट राम्रो छ नि,’ साकारले भन्यो र घरतिर दौड्यो ।
घर पुगेर उसले पाइन्ट फुकाल्यो र त्यसलाई राम्ररी पट्याएर आमाको बाकसमा मिलाएर राख्यो । टीकाको दिन नआउन्जेलसम्म उसले प्रत्येक दिन बाकस खोल्दै हेथ्र्यो आफ्नो पाइन्ट । टीकाको दिन उसले ग्यालिसवाला पाइन्ट झिकेर लगायो तर आफ्नो घरको टीका सकिएपछि फुकालेर बाकसमै थन्कायो । छिमेकी, नातेदार कहाँ टीका लगाउनै बाँकी थियो, किन उसले नयाँ पाइन्ट खोलेर अर्को लगायो ? आमा छक्क परिन् ।‘स्कुलमा लगाएर जाँदा नयैँ देखियोस् भनेर हो,’ उसले आमालाई भन्यो । टीकापछि स्कुल खुलेको दिनको बिहान त्यही ग्यालिसवाला पाइन्ट र टिसर्ट लगाएर ऊ ऐनाअघि उभियो र आफैंलाई नियाल्यो । ‘राम्रो देखिएको छ,’ उसले आफैंलाई भन्यो । खुसी हुँदै स्कुल जान खाटमाथि राखिएको झोला लिन मात्र के आँटेको थियो उसले सोच्यो, केटाकेटी र लभ साइन भएको यो पाइन्ट लगाएर गयो भने त गणित सरले झन् गिज्याउँछन् । केही कारण नपाउँदा त कहिले कक्षाकै अगाडि, कहिले एकान्तमा लगेर ‘तेरो आमाको लभ परेछ फलानोसँग’ भनेका भन्यै गर्थे । यो पाइन्ट देखे भने त फेरि आमाबारे के–के भनेर उसलाई उल्याउने हुन् । ऊ तर्सियो । र, मन नलागी–नलागी पुरानो पाइन्ट लगायो । त्यो देखेर उसकी आमाले सोधिन्, ‘नयाँ पाइन्ट लगाएर स्कुल जाने होइन ?’
‘अरु कुनै दिन लगाउँछु,’ उसले भन्यो । र, गह्रुङ्गा पाइला लिएर स्कुल गयो । स्कुल पुग्नेबित्तिकै उसले देख्यो त्यो छिमेकी केटोले त्यही ग्यालिसवाला पाइन्ट लगाएर आएको छ । उसले सोच्यो, मैले पनि मेरो पाइन्ट लगाएर आउन पाएको भए सबैलाई देखाइदिन्थें कसको राम्रो छ भनेर । उसको मन खिन्न भयो । दिनभरि स्कुलमा उसले खालि आफ्नो पाइन्टबारे सोचिराख्यो ।
भोलि पनि स्कुल जानुभन्दा अगाडि साकारले आफ्नो नयाँ पाइन्ट लगायो र फेरि गणित सरको उल्याईं सम्झ्यो अनि त्यो फुकालेर अर्को लगाएर गयो । धेरै दिनसम्म उसले यसरी नै नयाँ पाइन्ट लगाउने–फुकाल्ने अनि अर्को पाइन्ट लगाएर स्कुल जान थाल्यो । धेरै दिनसम्म पनि साकारले ग्यालिसवाला पाइन्ट लगाएर स्कुल नआएपछि उसका साथीहरूले पनि उसलाई उडाउन थाले, ‘तैंले नयाँ पाइन्ट पूजा गरेर राखेछस् कि क्या हो । लगा, नत्र नलगाईकन थोत्रो होला ।’ऊ झन् चिन्तिन हुन थाल्यो । उसले सोच्यो, ‘हात समातेका केटाकेटी र लभ साइन केही चीजले छोपिदिने कि ?’ अनि एकछिन गम खाएपछि तर्क गर्यो, ‘हुन्न । यसो गर्दा झन् सबैका आँखा त्यसमा पर्छन् ।’ उसले केही उपाय सोच्न सकेन ।
साकारकी आमाले सोच्न थालिन्, ‘छोराले किन नयाँ पाइन्ट लगाएर स्कुल गइराको छैन ।’
उसका बाले पनि सोचे, ‘त्यत्रो मरिहत्ते गरी किनाइछाडको पाइन्ट छोरोले किन लगाइराको छैन ?’बाआमाले छोरालाई सोध्ने सल्लाह गरे । राति बा चुलोअगाडि बसेर कटहर ताछ्दै थिए, आमा भात पकाउँदै थिइन् । साकार ‘भोक लाग्यो, आमा’ भन्दै भान्छामा आइपुग्यो । आमाले उसलाई केही छिन् कुर्न लगाइन् । उसले बाले कटहर ताछेको हेर्दै बस्यो । उसलाई बाले सोधे, ‘तैंले नयाँ पाइन्ट लगाएर किन स्कुल गको छैनस् ।’उसले भन्यो, ‘भोलिदेखि लगाएर जान्छु ।’‘त्यो त धेरै दिनदेखि भन्दै आएको छस्,’ आमाले भनिन् । ‘भोलि त साँच्चै लगाएर जान्छु, आमा,’ उसले फुरुङ्ग हुँदै भन्यो ।
उसलाई एउटा आइडिया फुरेको रहेछ, केटाकेटी र लभ साइन ताछेर फाल्ने । ऊ जुरुक्क उठेर बाले दारी काट्ने पत्ती लिएर कोठामा गयो अनि बाकसबाट आफ्नो नयाँ पाइन्ट झिकेर केटाकेटीको आकृति र लभ साइनलाई पत्तीले बिस्तारै ताछ्न थाल्यो । बुट्टा भरिएको केटाकेटी र लभ साइन ताछिँदै गए । ताछिएको ठाउँ अलि टाटेपाटे त देखिन्थ्यो, तर परिणामबाट ऊ खुसी नै भयो । ‘भोलिबाट बल्ल नयाँ पाइन्ट लगाएर स्कुल जान पाइने भो’ भनेर उसले लामो सास फेर्यो । भोलिपल्ट उठेर उसले नुहाईधुवाई गर्यो । कपाल कोर्यो । जुत्तामा पालिस लगायो । र, खाना खाएर धेरै दिनदेखि लगाउन नपाएको नयाँ पाइन्ट लगाएर स्कुल गयो ।
नयाँ पाइन्टमा सजिएको उसलाई साथीहरूले तलदेखि माथि हेरे । उसको पाइन्टको टाटेपाटे भाग नदखिने कुरै थिएन । त्यो देखेर एउटा साथीले भन्यो, ‘पूजा गर्दागर्दै मुसाले खाइदियो कि क्या हो ?’
सबै साथी गलल्ल हाँसें । ऊ मुस्कुराइरह्यो, तिमीहरूलाई के थाहा भनेर । अनि टिमिक–टिमिक पर्दै कक्षा कोठामा गएर अघिल्लो बेन्चमा बस्यो ।पहिलो कक्षा गणितको थियो । गणित सर आएर नाम बोलाउन थाले । उसको नाम आयो । ऊ ‘एस सर’ भन्दै उठ्यो । सरले चस्मा उठाएर उसलाई नियालें । ग्लालिसवाला पाइन्ट । साकारकै छिमेकीको भन्दा अरू कसैले लगाएको देखिएको थिएन । सरको नजरमा पर्ने भइहाल्यो । सरले भने, ‘ग्यालिसवाला पाइन्ट । त्यो पनि कटराइजको !’
‘अँ, सर,’ उसले गमक्क पर्दै भन्यो ।
‘त्यही देखाउन आज फस्र्ट बेन्चमा बसिस् ?’ कड्किए सर ।
‘होइन, सर,’ उसले दबेको स्वरमा भन्यो ।
‘सेकेन्डह्यान्ड हो ?’
‘होइन, सर । नयाँ हो, आज पहिलोपल्ट लगाएको ।’
‘नयाँ पाइन्ट पनि टाटेपाटे हुन्छ त ? ढाँट्चस् ? कि त्यो स्टाइल हो ?’सबै विद्यार्थी हाँसे ।
‘होइन, सर ।’
‘के हो त ?’
‘कसैले आँखा नलगाओस् भनेर पत्तीले ताछिदिएको, सर,’ उसले भन्यो, हाँसो रोक्न नसकी–नसकी ।
प्रकाशित: मंसिर १२, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)