कविता : एकादेशमा…

~शिरिष लामिछाने~Shirish Lamichhane

बिहान उठ्ने बित्तिकै
पोखराका मान्छेले
कञ्चन माछापुछ्रेलाई हेरेझैँ
म झुलुक्क उसलाई एक नजर हेर्थेँ
माथीदेखी, तलसम्म
अनी फेरी तलदेखी माथीसम्म
केही नयाँ नदेखेपनि
उसको स्वाभाविक आक्रितीलाई
हृदयदेखी अँगाल्न पुग्थेँ
७ बर्ष लामो हाम्रो प्रेम
दिन-प्रतिदिन गाढिदैँ गएकोमा
मेरी प्रेमिका “फेसबुक”प्रति
म आभारी नै थिएँ |

अकस्मात,
गाउँमा एकदिन तहल्का मच्चियो
गाउँलेहरु बीच कानेखुसी चर्कियो
एउटी नव-सुन्दरी आएकी छ रे
भन्ने कुरा यत्र-तत्र सुनियो
मेरो पनि त मनै हो गाठेँ!
नव-सुन्दरीको एक झलक पाउन
यो आँखा निकै नै तर्सियो |

नभन्दै “गुगलप्लस” नामकी सुन्दरी
सजिएरै आएकी रैछे
भिन्न पहिरन, फरक चाल-ढाल
नक्कली मोरी अलि उत्तेजक नै रैछे!
सारा गाउँलेहरु क्षणभरमै
“गुगल्प्लस” लाई समात्न फाल हाले
म पनि भेँडा जो थिएँ
नव-सुन्दरीलाई आफ्नो बनाउने धुनमा
“फेसबुक”सँगको आफ्नो प्रेमलाई
निमेषभरमै दाउमा हालेँ |

त्यो कामवासना जो थियो
जुनमा म जालिएको थिएँ
“गुगल्प्लस”सँग बिताएका केही दिन
सुरुमा त रमाइलै थिए
उसँग हुँदा, एकान्त महसुस गर्थेँ
सायद,
मेरो पूर्व “फेसबुकप्रेम” को कोलाहलको हल
यही नव-सुन्दरीनै हो की भनेर सोच्दथेँ |

तर अपशोच,
बिस्तारै ज्ञान खुल्दै गयो
नवसुन्दरीको खोक्रोपन
उजागर हुँदै गयो
“फेसबुक”सँगको मेरो प्रेमलाई
भँग गर्न पठाइएकी
ल्यारी पेजकी अप्सरा
“गुगलप्लस” पो रैछे भन्ने थाहा भयो |

म लज्जित थिएँ
र फर्किन चाहन्थे
के “फेसबुक”ले मलाई फेरि स्विकार्छे?
यही आत्मप्रश्न गर्दै थिएँ
साहसको कमी थियो
तर आश जीवित नै थियो
घोसेमुन्टो लाएर म
“फेसबुक”कै दैलोमा फर्किएँ
त्यहाँ उ, त्यस्तै थी, जस्तो पहिले
त्यहि सङ्लो अनुहार,
त्यही आत्मविश्वाशी मुस्कान
उसले सहर्ष स्विकारी
र आफ्नो आँगनमा मलाई डोर्याई
म अचम्भित नै थिएँ
सारा गाउँले साथीभाई
जो नव-सुन्दरीकी पछि हाम्फालेका थिए
अहिले तिनै मेरी “फेसबुक”को आँगनमा
खुशीले लडी-बुडी गर्दै थिए|
एक-अर्काका पर्खालमा कुन्नी के-के लेख्दै पनि थिए ||

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.