बाल कथा : सानीनानीको कथा

~यज्ञराज कार्की~Yagyaraj Karki

एकादेशमा- एउटी 7 बर्सिय सानी नानी रहिछन- बाबा आमाकी कान्छी छोरी । उनको एउटा दाजु र दिदी पनि रहिछन । दाजु दिदी र आमाबुवाले अतिनै माया गर्थे । जमिन मा खुट्टा पर्न दिदैनथे – भुइको चिसो लागेर बिरामी हुन्छिन भन्ने डर, काँडा बिज्ला भन्ने डर, लडेर चोट लाग्लाकी भन्ने डर त्यसैले त आलो पालो काँधमा बुइ गरिरहेन्थे । ति सानी नानीलाई भने जमिनमा दौडन मल लाग्थ्यो- बेफिक्री धुलोमा खेल्न मन लाग्थ्यो- बगैचाका फुलहरु चुम्दै हरिया दुबो र झारहरुमा लडीबुडी गर्न मन लाग्थ्यो । उनलाई बोकेको मन पर्दैनथ्यो ।

नानी पातलि थिन्- त्यसैले उनका बाबु आमा र दाजुदिदी उनी मोटाएको हेर्न चाहन्थे । बिहान उठे देखुन नसुतुन्जेल मिठा मिठा खानेकुराहरु पकाउने-ल्याउने र खुवाउने गर्थे । उनकी दिदी बाहिर कतै गयो कि त रित्तो हात कहिल्यै फर्कन्नथिन – बहिनी को लागि केही न केही मिठाइ लिएर आउथिन र फकाइ फकाइ खुवाउथिन । दाजुले पनि त्यस्तै गर्ने । मम्मी र बाबाले पनि केही न केही खानेकुरा कोसेली स्वरुप ल्याइदिने । तर ति सानी नानी भने केही खान रुचाउन्नथिन । एक दिन त केही खान नपाए हुन्थ्यो भन्ने उनको चाहना हुन्थ्यो । नर्सरीमा पढ्ने ति नानीको कोठा भरी अनेकन ज्ञानगुनका चित्र पुस्तकहरुले भरिएको थियो । ति सबै उनका परिवारले उनकै लागि ल्याइदिएका थिए ।

फुर्सदको समयमा उनका दाई दिदी र आमाबाबाहरु उनलाई कहिले बालकथाका पुस्तकहरु पढेर सुनाउथे त कहिले चित्र कथाहरु देखाउँथे । तर सानी नानीलाई भने ति पुस्तकहरु देखी वाक्क दिक्क लाग्ने गर्थ्यो । उनी त आकाशका ताराहरु गन्न रुचाउथिन, चराका चिरबिर अनी हावाको सरसर आवाज सुन्न रुचाउथिन । साँच्चै भन्नेहो भने उनलाई बाबुआमा र दिदीदाइ रे बोकेको मन पर्दैनथ्यो, घरीघरी अनेकन परिकार खुवाएको अनी कितावका कथाहरु सुनाएको मनै पर्दैनथ्यो । उनी घरभित्र दिक्दार मानिरहेकी थिन । पिजडामा बन्द भएको सुगा जस्तै ।

एक साँझ- बार्दलीमा बसेर सानीनानी आकाशमा आँखा दौडाइ रहेकी थिन । चम्किला ताराहरुको माझमा अर्धाकार चन्द्रमा खिसिका दांँत देखाएर मुस्कुराइ रहेकी । सिरसिरे हावा रुखका पातहरुमा ठोक्कीदै बहँदा एउटा भिन्नै संगितको उत्पत्ती भइरहेको थियो । सानीनानी आनन्दको अनुभुती गरिरहिकी थिन । आकाशतिर हेरेर मस्त टोलाई रहेकी थिन । त्यत्तिकैमा चम्किला तराहरु मध्ये एउटा ताराबाट एउटी सुन्दर केटी प्रकट भइन । ‘हे सानी साथी के गरेर बसिरहेकी ?’ सानीनानीलाई त्यो ताराले प्रश्न गरिन ।

बुवाआमाले कहिले काही आकाशकी परीको कथा भनेको सुनेकी थिन उनले । त्यही परिको चित्र देखिन उनले ति तारामा अनी खुशी हुँदै बोलिन् ‘ ए परी ! म त तिमीहरुलाईनै हेरिरहेको थिए नि , तिमीहरुलाई कत्ती मज्जा छ है आकाशमा !’

ताराले मुस्कुराउदै भनिन’ हो नि मज्जा छ, अनी तिमीलाई पनि त यहाँ मज्जा छ नि होइन र ?’

सानीनानीले निरासमुद्रा मा भनिन ‘ अह यहाँ त मज्जा छैन’

किन नि अचम्म हुँदै ताराले सोधिन ”तिम्रो मम्मी-बाबा अनी दाजु र दिदीले तिमीलाई धेरै माया गर्नु हुन्छ, भुइको धुलो लाग्न दिनुहुन्न संधै कांधमा बोक्नु हुन्छ मिठामिठा खानेकुरा ल्याउनु हुन्छ र लोभलाग्द कथाहरु सुनौनु हुन्छ । तिमीलाई सब्बैले धेरै माया गर्नु हुन्छ , हैन र ?’

सानीनानी ले उही निरास मुद्रामा भनिन ‘ मलाई त यो सब मन पर्दैन, मलाई आकाशमा उड्न मन पर्छ तिमीहरु जस्तै । ‘

के उसो भए तिमी यहाँ खुशी छैनौ ? ताराले सोधिन । सानीनानी उदास मुद्रामा बेजवाफ बसीरहिन ।

लौ उसो भए तिमी आकाशमा आउने त ? सोधिन ताराले । ताराको प्रश्न सुन्ने बित्तिकै सानीनानी फुरुङ्ग भईन् ‘ साँच्चै हो र ? म आकाशमा आउन मिल्छ ।

‘हो मिल्छ तर मैले भनेको एउटा कुरा मान्नु पर्छ ‘ ताराले भनिन ।

‘के कुरा ?’ झट्पट सोधिन सानीनानीले ‘ म मान्छु ‘

‘म तिम्रो घरमा तिमी बनेर बस्छु अनी तिमी म बनेर आकाशमा बस । हुन्छ ? ‘ताराले सानीको अनुहारमा घोत्लिदै शर्त राखिन

ताराको यो शर्तमाथी केहीबेर बिचार गरेजस्तो गर्दै झटपट स्विकारको शब्द ओकलिन सानीनानीले ‘हुन्छ ‘

अब सानीनानी तारा बनिन अनी तारा सानीनानी ——

तारा घरभित्र छिरिन- सानीनानी आकाशमाथी उडिन ——————-

तारा परिवारको माझमा पुगिन, सानीनानी ताराहरुको बिचमा —–

सेतो वादलले घेरेको सेफद संसार, अनेकन ताराहरुले छरेको उज्वल प्रकाश,कुनै चिच्याहट थिएन -चारैतिर सुनसान ।

सानीनानीलाई मज्जाले नाच्न मन लाग्यो । नाचिन । घरी बादलको घेरामा भित्र हराउथिन त कहिले ताराहरुको मधुर प्रकाशहरुमा रमाउथिन । बेग्लै आनन्दको अनुभुती भएको थियो उनलाई । यसरी केही घण्टा सम्म नाच्दै गाउदै रमाउदै -आफैमा हराइरहिन उनी । केही बेर पछी केही भोक लागे जस्तो भान भयो । नाच्दा नाच्दै टक्क अडिन र धर्तीतिर चिहाइन् । घरमा आँखा पर्‍यो – अनगिन्ती खेलौनाहरुम्याथएे लडीबुडी गर्दै तारानानी उफ्रीरहेकीथिन । आमाबुवा उनको पछाडि मिठामिठा चकलेट लिएर घुमिरहेका थिए । दाजु र दिदी गीत गुनगुनाउदै तारानानीसंगै झुमीरहेको द्रुश्य सानी नानीले देखिन । उनलाई यो द्रुश्यली हाँस उठायो ।’ कठै विचरा तारानानी ‘ भने झै घरको त्यो द्रुश्यलाई बेवास्ता गर्दै उनी पुन नाच्न थालिन, उफ्रन र दौडन थालिन ।

धेरैबेर सम्म उनी मस्त झुमी रहिन आफ्नै तालमा । यसरी झुम्दा झुम्दै अचानक उनको खुटा रोक्कियो- यताउती हेरिन । पेट छामिन । भोक लागेछ । खुटाहरु लुला भएछन । टाउको दुख्न थालेछ । उनले फेरी आफ्नो घरतिर चिहाइन । तारानानी आमाको काखमा ढल्केकी थिइन, दिदी र दाजु खुटा हात मोसार्दिदै थिए अनी बाबा भाखा हालेर गीत गुनगुनाउदै हुनुहुन्थ्यो ‘सानीसानी नानी तिमी चुलबुले परी- तिम्रो छाया आँखाभित्र मायाँ मुटुभरी ‘ । बाबाको मुखबाट निस्किएका यि शब्द अनी सुमधुर अवाजले सानीनानीलाई बिझाएझै भयो । मम्मी उनको मुख बाट अनयास निस्कियो । ताराको गालामा च्वाप्प म्वाइखाँदै बाबा गीत गुनगुनाइरहनु भएको, आमाले कपाल सुम्सुम्याइ रहनु भएको अनी दाजु र दिदीले हात-पाउ मालिस गरिरहेको द्रुश्यलाई नियाली रहँदा सानीनानीको आँखाबाट तुरुक्क आशु चुहियो । बाबा उनको मुखबाट अनायास अर्को पुकार निस्कियो । त्यहा उनको पुकार गुन्जीरह्ह्यो -धेरैबेर सम्म । तर कुनै प्रतिकृया आएन ।

‘दादा, दिज्यु ! ‘ उनी कराइरहिन । तर कसैले केही जवाफ दिएन । उही मधुर प्रकाश अनी वादलको श्वेत घेरा । कुनै आवाज छैन । कुनै चाहल्पहल छैन । उनलाई एकप्रकारको डर लाग्यो । ‘मम्मी ! मम्मी !’ उनी रुन थालिन –ओ तारारानी तिमी आकाशमा आउ- मलाई मेरै घरमा जान देउ — हे मम्मी,बाबा मलाई यहाँबाट निकाल्नुहोस्” उनी कराइरहिन .

‘छोरी के भयो ?’ आमाले उनको कपाल मुसार्दै सोध्नु भयो, सानीले आँखा खोलिन । आँखा अगाडि देखिन ,आतिरहेकी मम्मीको अनुहार-हतास बुवा अनी मायालु नजरले हेरिरहेका दाजु र दिदी । उनले सपना पो देखेकी रहिछन । जे भए पनि यसरी आफ्नो अगाडि सबै परिवारलाई देख्दा सानीनानीको आँखाबाट बलिद्र आशुका धारा बगीरहे ‘ मम्मी म घरमै बस्छु- आकासमा जान्न’ उनी घुक्क घुक्क रुदै आमालाई अङ्गालो हालिन । बाबाले कपाल मुसारी दिनु भयो – दाजु र दिदीले हातखुट्टा । उनी केही बेर आमाको अङ्गालोमा बाँधीरहिन ।

गीत गुनज थाल्यो :
‘सानीसानी नानी तिमी चुलबुले परी-
तिम्रो छाया आँखाभित्र मायाँ मुटुभरी ‘

सुत्नेबेलामा कथा सुन्नै पर्ने मेरी छोरीलाई बनावटी कथा बनाउने क्रममा बनेको यो कथा – (सुन्नेलाई सुनको माला – पढ्नेलाई फुलको माला –छोराछोरिलाई सुनाउने बेलामा मुखैमा आइजाला । )

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.