~गोविन्दप्रसाद आचार्य~
सलहका हुलले माटो पनि राख्दैनन्।
सिर्जनाका बोट बिऊ पनि जाग्दैनन्।।
सलहको सम्मेलनमा राम्रा कुरा हुँदैनन्।
माटो खाने सलहले काम गर्र्दैनन्।।
सलहका हुलले फुलका पात खाइसके।
फूल फुल्ने बसन्तमा आगो लाइसके।।
सलहका हुलले हरियो त हरियो।
भोकाएका सलहका फेला परियो।।
सलहले पाएका हेर बाली खाएको।
माटो खाने सलहका दिन आएको।।
सलहको झगडा खान पाए मिलेको।
नपाउँदा कलहको आगो बलेको।।
भन्ने गर्थे पुर्खाले सलहले सताउँछ।
खेतबारीमा पस्यो भने माटो कोपर्छ।।
सलहको सभामा काटमारका कुरा छन्।
भन देश सलहले क्यारी बनाउँछन्।।
सलहको शासनमा साँचो बोल्न डर लाग्छ।
खेतीबाली खानु खाए मान्छे चपाउँछ।।
अन्नपानी, हिमाल जंगल सलहले खाइसके।
नपुगेर विजुलीको तार खाइसके।।
रातमा बत्ति बल्दैन सलहले तार खाए।
सलहको शासनमा मान्छे हार खाए।।
सलहको चर्तिकला देख्नुसम्म देखियो।
ज्यान मार्ने सलहको फेला परियो।।
सलहले देश पाए खाइ शेष नराख्लान्।
खाइ फालेको ढुंगामाटो अन्तै बुझाउलान्।।
सलहको शास्तीमा हाम्रा बस्ती रूँदै छन्।
खाइ फालेको जुठो टपरी देश पार्दैछन्।।
सलहको सभामा केटाकेटी खेल जस्तो।
खान पाए रमाउने बनको बाठो स्याल जस्तो।।
सलहले बाँडेका यो जात र त्यो जात।
मिलेकालाई फुटाउने सलहका कु–जात।।
सलहको सभामा लोभि पापी कमाउने।
सलहले संसारलाई उल्टो घुमाउने।।
तछाडमछाड स्वार्थमा देश चौटा टुकुरा।
आफै गर्छन् लुछाचुंडी बार्छन् बुकुरा।।
सलहको सभामा मेरै धुर्की ठूला छन्।
देश जता जान्छ जा सत्ता खोस्ने कुरा छन्।।
सलहको सभामा कलहको विऊ छ।
सलहको शासनमा निर्धा मान्छे मारिन्छ।।
कस्तो नियम बनाउला सलहको सभाले।
देश कता लाने हो कलहको विउले।।
ठीक ढंगले चल्दैन सलहको शासन।
सलहलाई तह लगाउन लौन जागन।।
गर्नुपरे अत्याचार बस्न खान पाइएन।
सबै बोल सलहको शासन चाहिएन।।
घमन्डीका घैंटालाई सत्ताबाट झार्ने हो।
काँचो माटो सलहको घैंटो फोर्न हो।।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १८ – २०६६ चैत्र ४ गते बुधबार)