~गोविन्द प्रसाद आचार्य~
जो यो देशको पानी खान्न देशभक्त बनिरहेछ
जसलाई हैरानीको छिटो पर्दैन हैरानी हटाउने प्रतिज्ञा गरिरहेछ
छि किन सुसेल्छन् नक्कली सुस्केराहरू !
नजोडिने हृदय साइनो बिनाको नाता जोडेर गाँस्न खोजिरहेछ
न तडि्पएकाहरूबाट तड्पाएका ढ्वाङ् फुकिरहेछ
माटोमा एक थोपा पसिना नचुहाउनेहरू श्रमिक बनिरहेछन्
जसलाई कहिल्यै रूनु पर्दैन तिनैले आँसुको भाका
बुझ्ने नाटक गर्छन्
जो एक पाइलो हिंड्दैन
उसैका यहाँ खुट्टा दुख्छन्
जसले कहिल्यै धुलो छुन्न उसका हात मैला हुन्छन्
सुकिला वस्त्र टक्टक्याएर कसैलाई मैलो
फाल्ने वहाना गर्ने मन छ मात्र आदेश दिएर
कसैलाई ठूलो पाको किसान बन्ने रहर छ
हातमा हिलो लाग्यो छि जुत्तामा हिलो लाग्यो छि
टाउकोमा आकाशबाट एक थोपा पानी झर्यो छि
नाकमा पेट्रोलको गन्ध आयो छि
आक्कल झुक्कल यो देशका झरनाको मीठो
सितल पानी पिउनु पर्यो छि
कुनै बखत प्लाष्टिक बटुल्ने साना नानी
देख्नु पर्यो अलच्छिन लाग्यो छि
तिमी देशभक्त हैनौ किसान किनकि तिम्रा हातहरू मैला छन्
तिमी यो देशका हैनौं हे साना नानीहरू किनकि
तिम्रा लुगा फाटेका मैला छन्
हे अंग गुमाएकाहरू यो देश तिम्रो होइन किनकि
तिमी सडकमा मागेर खाने गर्छौ
हे सुकुम्बासी
तिमी कतै बास बसाएका छैनौं यहाँ अनौठा मान्छेको
जमघट छ तिनीहरू भोकभोकै बाँच्न सक्छन् रे
साना नानी भो अब प्लाष्टिक नबटुल
खाँचो पुरा भैसक्यो तिम्रो पेट छैन कोही किन्दैछन् रे
देश एउटा चुरोट मजाले तानेर धुवा उडाउँदा हुन्छ
देश एउटा एक्ट्रेमा फ्याँकिएको चुरोटको खरानी
ठुटो फोहोर मैलासँगै फ्याँकिए हुन्छ
एकसर्को चुरोटको धुवामा देशको दर्शन उडिरहेछ
एक खिली चुरोट पिउँदै जाँदा ब्रह्मान्ड उल्टाउने दर्शन निस्किन्छ
यहाँ विदेशको पानीले ठूलो फुर्ती झकिरहेछ
देशभक्त दार्शनिकको चुरोट विदेशीले सल्काएर तान्न सिकाउनुपर्छ
देशभक्त उठन सक्दैन एक्ट्रेमा चुरोटको ठूटो खरानी विदेशीले फ्याँकिदिनुपर्छ
देशभक्तको अनुहार मैलो भयो विदेशी पानीले धोएर अन्तर घसीदिनुपर्छ
देशभक्तलाई यो देशको माटोमा फलेका स्याउको
रस भन्दा विदेशी रक्सी मन पर्छ
देशभक्तलाई आफ्नो गृहणीले छोएको खाना मन पर्दैन
विदेशी होटेलको प्याकिङ खाना अति मन पर्छ
नबजाउ गाइनेदाई तिम्रो सारंगी देशभक्त रिसाइरहेछन्
नसुनाउ तिम्रा पीडा भरिएका गीतहरू
देशभक्त रिसाएर सारंगी भाँचिदिनेछन्
देशभक्तले दान गर्छन् रे कसैलाई कर्णाली चाहिएको भए
आउ देशभक्तको घर खुल्ला छ कुन कला कुन मुर्ती लैजाने मन छ लैजाउ
यो देशले पालेका देशभक्तहरू लात्ती हान्न जान्दैनन्
सोझा गाई जस्ता जति दूध दुहे पनि हुन्छ
देशभक्तलाई फकाउनु पर्दैन सजिला छन् जे लगेपनि हुन्छ
हे सिमाना पारी गाइ चराउने गोठालाहरू
यो देशमा आउ न कुनै बार बन्देज छैन
तिम्रा गाई ल्याएर मन परेको जुनसुकै ठाउँमा चराउन सक्छौं
देशभक्तले खबरदारी गर्ने छैनन् पाकिरहेको बालीमा हुल्न सक्छौ
देशभक्त सारै नरम आँखामा नबिजाउने भएर होला
गन्डकी कोशी सजिलै दिए नडराउनु कोही खोज्न आउने छैनन्
सोच सधैंका लागि दिए पेट पाल्न पेटी कुर्नेहरू देशभक्तलाई बाटो साँगुरो भयो
आनन्दले हिंड्न देउ कहाँ नाच्न मन लाग्छ देशभक्तलाई नाच्न देउ
देशभक्त बास बस्न आएका छन् तिम्रा घरको केही खानें छैनन्
किनकि मकै खाँदा घाटीमा अड्किन्छ
देशभक्त आउँदा साथमा विदेशी पानी लिएर आउनेछन्
किनकि झरनाको चिसो पानीले दाँत सिरिंङ पार्छ
तिम्रो झ्याउरे भाका सुन्दा देशभक्तले कान थुन्छन्
तिम्रो पिडाको चित्कार सुन्नु पर्दा
देशभक्त झ्याल, ढोका थुनेर कोठाभित्र बस्छन्
देशभक्त विदेशीले मिचेको सुर्ती खाने गर्छन्
देशभक्त कुनै तुकविनाका योजना बनाउने गर्छन्
योजनाको दस्तावेजको कागजपत्र फाइल मुखबाट निस्किएका शब्दलाई मान्नुपर्छ
जे जस्तो बोल्छन् मान्नेहरू राम्रो मान्नु पर्छ
देश तिनैको हुन्छ जसले विदेशी पानी पिउने गर्छ
हेराइ तिनैको राम्रो हुन्छ जसले आफ्नो आँखा टालेर विदेशी आँखा राख्छ
देशभक्त भनिरहेछन् जो आफ्नै आँखाले हेर्न खोज्छ यहाँ बस्ने अधिकार छैन
जो आफ्नै शब्द बोल्न खोज्छ बोल्ने अधिकार छैन
देशभक्त भनिरहेछन् खरानी पार तिम्रा के के छन्
तिम्रा मौलिकताहरू धुजा धुजा पारेर च्यात
जे जस्ता छन् तिम्रा इतिहासका पानाहरू
घरभित्र विषालु सर्प पस्यो
निकाल्न खोज्दा देशभक्त गाली गर्छन्
एउटा गरीब लुगा नपाएर नाङ्गै हिंड्यो
देशभक्त हाँसिरहेछन्
पाकेर खाउँला भनि साँचेको फल चिचिलैमा झारि दिन्छन्
देशभक्त चुप
कुनै कसुरविना घरबारी लिलाम हुन्छ देशभक्त चुप
देशभक्तका धेरै मुख छन् एउटा चुप लागेर के भो
अर्कोले चिच्याउछन् दुःख यसमा छ देशभक्त
तिमीले गाउने गीतको ताल बिर्सिएछौं
साँच्चै दुःख लाग्छ देशभक्त आफ्नी आमा बुढी भएर होला
मेरी आमा होइनन् भन्दै हिंडेछौ
हुनसक्छ तिम्री आमाले जिब्रो तन्काउने छोट्याउने कला नजानेर
प्राचीन भाषा बोल्दै गइन्
तिमीलाई आमाले लगाएको फरिया देख्दा लाज लाग्यो फाल भन्दा मानिनन्
देशभक्त तिम्रा हात खुट्टा भन्दा मुखमा कुरा धेरै चल्छन्
चटचट कुरा काटिरहेछन् देशभक्तलाई कला मौलिकता बाधा भइरहेछन्
देशभक्त तिमी विदेशीले टाउको साट्न खोजे साटन सक्छौ
देशभक्त टाउकोमा कसैले हाँडी राखिदेला तिमी सजिलै मान्छौं
देशभक्त हलो देखेका छैनौ जोत्ने कला सिकिरहे छौ
यहाँ विदेशी हावा चल्दा तिमी हास्दै माथि माथि उडिरहेछौं !!
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४० – २०६७ भाद्र ०९ गते, बुधबार)