कविता : घामको प्रतिविम्ब

~श्याम रेग्मी~

झुपडीको छिद्रबाट
पसेको घामले
मेरो घरको भित्तामा
जब
एउटा आँखा बनायो,
त्यही दिन देखेको हुँ-
दुनियाँ रंगीन छ ।
त्यही दिन बुझेको हुँ,
उकाली ओराली गर्दा
बाले
नाम्लो लगाएर पिठ्यूँमा
भारी होइन,
मलाई बोकेका रहेछन् ।
त्यही काँधमा हुर्केर
आज म
नाप्दै छु-
सगरमाथाको उचाइ ।
त्यही दिन जानेको हुँ,
पहाडहरु तराईका लागि
आमाहरु सन्तानका लागि
रसाउँछन् ।
निगरानीको उचाइ रहेछ
धरहरा
उद्बोधनका बिगुल रहेछन्
नदीका गीतहरु ।
त्यही दिन पढेको हुँ,
सेता परेवा उडाउन सके
आकाशमा,
उज्यालो हुन्छ
रात पनि ।
त्यही दिन सोचेको हुँ,
पृथ्वी घुम्ने भएरै
चल्दो हो- हावा,
धड्किँदो हो- मुुटु,
नाच्दा हुन्- रूखहरु,
बग्दो हो- पसिना ।
त्यसैले पो छातीमा,
एक जोडी उज्यालो फुलाएर
फरफराउँदो रहेछ झन्डा ।
त्यही दिन
निक्र्योल गरेको हुँ-
च्यात्तिसकेको ढाकाटोपी,
मेरा बाले
घाम छेक्न होइन,
घाम छिराउन लगाएका रहेछन् ।

प्रकाशित: कार्तिक २३, २०७१

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.